fbpx
Rashifal Ad

गृहपृष्ठ धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति र अर्थमन्त्रीको विवेक

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति र अर्थमन्त्रीको विवेक

rabindra-bhattarai-newskarobar

रेवतबहादुर कार्कीभन्दा अघिल्लो कार्यकालका लागि मैले पनि धितोपत्र बोर्डको अध्यक्षका लागि निवेदन दिएको थिएँ । मेरा प्रतिस्पर्धी निवर्तमान अध्यक्षसहित हाल बोर्डमा कार्यरत कर्मचारी र केही अन्य थिए । यी प्रायः अनुहार बजारमा देखिएका नै थिए । तर, अध्यक्षको दाबेदारमा एकाएक नयाँ अनुहार देखा पर्‍यो । ती थिए- बाबुराम श्रेष्ठ । सबैलाइ उछिनेर उनले अध्यक्षमा बाजी मारे । त्यसबेला कृष्णहरि बाँस्कोटा अर्थ सचिव थिए भने हालका ऊर्जामन्त्री वर्षमान पुन अर्थमन्त्री थिए ।

त्यसबेला म अध्यक्षमा नचुनिनु सेयर बजारका लागि राम्रो भयो होला । किनकि नचुनिएकै कारण मैले स्वतन्त्र रुपमा बजारका बारेमा निरन्तर कलम चलाउन पाइँरहे, अन्यथा मेरो कलम रोकिन पनि सक्थ्यो । मैले आफ्नो काम छाडिनँ । बजारका लागि प्रतिस्पर्धी मध्येबाट रेवतबहादुर कार्की त्यसबेला बोर्डको अध्यक्षमा नचुनिनु र बाबुराम श्रेष्ठ चुनिनु दुवै सेयर बजारको विकासका लागि दुर्भाग्य नै भयो ।

कार्की नेपाल स्टक एक्सचेन्जमा कार्यरत हुँदा गरेका सकारात्मक काम र परिवर्तनप्रतिको इच्छाशक्तिका कारण बोर्डमा उनको उपस्थिति सेयर बजारको विकासका लागि निकै फलदायी हुने अपेक्षा गर्न सकिन्थ्यो । उनी गएका भए पुँजीबजारमा थप आधुनिकता धेरै पहिला नै देख्न पाइन्थ्यो । तर, उनी छानिन सकेनन् । पुँजीबजारको विकासको गतिका लागि एक किसिमले दुर्भाग्य नै भयो ।कार्कीले केही गर्न सक्थे भन्ने कुरा उनको भर्खरै सकिएको कार्यकालबाट प्रस्ट पनि भयो ।

सबै राम्रा काम गरेनन् होला तर केही कामका कारण उनी सफल भएरै बिदा भए । विशेष गरी केन्द्रीय निक्षेप प्रणाली (सिडिएस)को कार्यान्वयनका साथै कागजी कामको अन्त्य, आस्वामार्फत सेयर भर्नसक्ने व्यवस्था र खातामा लाभांश जम्मा गर्ने व्यवस्था । यी तीन वटा कुरा, जो लगानीकर्ताका प्रमुख समस्या थिए, जसको समाधान नै उनलाई सम्झने माध्यम बने । यी समस्याको विषय उठानका लागि मिडियाले पनि निकै समय, मसी र कागज खर्च गरेका थिए । अन्ततः कार्कीमात्र नभई मिडिया पनि सफल भए ।

रुपैयाँ वा पैसा जे होस्, बैंक खातामा लाभांश जम्मा भएर मोबाइलमा घन्टी बज्दा, देशविदेश वा देशको जुनसुकै कुनामा बसेर सेयर भर्न पाउँदा र किनेको केही दिनमै खातामा सेयर आएर बेच्न पाउँदा निकै आनन्दको अनुभूति हुन्छ । समस्या धेरै छन्, अवसर खुम्चिएर बसेका छन् । तर विगतका समस्या सम्झँदा र बोर्डको अध्यक्षको पद ओगटेर बस्नेको कार्यशैली मूल्यांकन गर्दा यो परिवर्तन ठुलै हो भन्ने लाग्छ ।

बाबुराम श्रेष्ठ बोर्डको अध्यक्षमा नियुक्ति भए । उनको नाम बजारले सुनेको थियो वा थिएन तर मैले कहिले पनि सुनेको थिइनँ । उनी मेरो प्रतिस्पर्धी थिए । उनी नियुक्त भइसकेपछि भेट्ने चाहना भयो । उनको इमेल पत्ता लगाएर इमेल गरेँ । उनले जावलाखेलको कुनै रेष्टुरेन्टको नाम दिए । चिया खानका लागि कार्यालय समयपछि भेट्ने कुरा भयो । मेरो उद्येश्य उनीसँग परिचय गर्ने तथा सेयर बजार र सेयर बजारका समस्याका बारेमा उनको ज्ञानका बारेमा बुझ्ने मात्र थियो । उनले दिएको समयअनुसार म र अर्को एक जना साथी उनलाई भेट्न पुग्यौं । मैले मेरा सबै किताब उपहारस्वरुप उनलाई दिएँ । चिया खाजा खाँदै सेयर बजारका बारेमा कुरा निकाल्न खोज्थ्यौं, उनी भारतको विभिन्न ठाउँमा भ्रमण गरेको कुरा सुनाउँथे । ती ठाउँको वर्णन गर्न थाल्थे । उनी सेयर बजारको कुरा सुन्न नै खोज्दैन थिए ।

रेवतबहादुर कार्की त्यसबेला बोर्डको अध्यक्षमा नचुनिनु र बाबुराम श्रेष्ठ चुनिनु दुवै सेयर बजारको विकासका लागि दुर्भाग्य नै भयो ।

त्यस्ता व्यक्ति, जसले विकासको मेरुदण्डका रुपमा हेरिने पुँजीबजारको २०६८ देखि २०७२ सम्म चार वर्ष नेतृत्व गरे । त्यो समयमा बजारले के पायो, के गुमायो, त्यो लगानीकर्ता र बजारसँग सम्बन्ध राख्नेहरुले महसुस गरेकै हुनुपर्छ । मेरो बुझाइमा उनी अध्यक्ष हुन्जेल समय अघि बढिरह्यो तर पुँजीबजारको विकास पछि धकेलिरह्यो । पदमा बसेर यिनले नराम्रो गरेनन् होला तर यिनले समयको भने ठूलो भ्रष्टाचार गरे । पदमा बस्नु तर काम नगर्नु र समय व्यतित गर्नु समयको भ्रष्टाचार गर्नु हो । पैसा कमाउन सकिएला तर समय कहिल्यै फर्काउन सकिँदैन ।

राजनीति कति अन्धो हुँदोरहेछ भन्ने त्यसबेला धितोपत्र बोर्डमा बाबुराम श्रेष्ठ र हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रबन्ध निर्देशकमा चन्द्रसिंह साउदको नियुक्तिबाट प्रस्ट हुन्छ । मन्त्री र अर्थ सचिव केवल पद होइन, विवेकसहितको पद पनि हो । अहिले धितोपत्र बोर्डको अध्यक्षको पद खाली छ । अर्थ मन्त्रालयबाट छिट्टै पदपूर्ति पनि होला । तर, समय धेरै गइसकेको छ । पुँजीबजारको विकास र विस्तारका लागि गर्न धेरै बाँकी छ । लगानीकर्ता र बजारको अपेक्षा ठूलो छ । यस्तो अवस्थामा यो क्षेत्रको नेतृत्व चयनका लागि अर्थ मन्त्रालयले निकै विवेक पुर्‍याउनुपर्ने देखिन्छ । निकै गम्भीर बन्नुपर्ने देखिन्छ ।

जागिरे मानसिकता बोकेका बाबुराम श्रेष्ठ र हालका नेप्सेका प्रबन्ध निर्देशक जस्ता व्यक्तिको बजारमा कमी छैन । अर्कोतर्फ बजारमा जागिरलाई गौण बनाएर काम र नामका भोका पनि छन् । धितोपत्र बोर्डमा जागिरेभन्दा पनि काम र नामका भोकाहरुको आवश्यकता छ । अर्थ मन्त्रालयले अध्यक्षका प्रत्यासीमध्येबाट यी दुई प्रवृत्तिलाई छुट्याउन सक्नुपर्छ । यस्तै अर्को पैसा प्रवृत्ति छ । जसलाई सरकारी भाषामा ‘मिखा’ भनिँदो रहेछ । मिखाको पुरा रुप ‘मिलाएर खाने ।’

केही समय अघिसम्म धितोपत्र बोर्ड निकै गरिब संस्था थियो । जब उसले सेयरको हरेक कारोबारबाट कमिसन उठाउन थाल्यो, यो व्यवसाय सँगै अब बोर्ड धनी संस्थामा परिणत भएको छ । नेप्सेको रेखा माथि चढ्दै जाँदा धितोपत्र बोर्डको कोष पनि सोही गतिमा अकासिँदै जान्छ । कर्मचारीका नाममा मात्रै दुई दुई वटा कोष बनिसकेका छन् । विदेश भ्रमण पानी पँधेरो बनेको छ । सुविधा बढेका छन् । धनी र आर्थिक रुपमा सम्पन्न बन्दै गएको धितोपत्र बोर्डको व्यापार र कोषमा आँखा लगाई ‘मिखा’ उद्देश्य लिएर जागिर खान चाहने पैसे प्रवृत्तिको आकांक्षा पनि ठुलै हुनसक्छ । अर्थ मन्त्रालय यसमा विशेष चनाखो हुनुपर्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

क्यानडा र लगानीको आम्दानीमा कर

प्रकाशित समय ०९:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु