fbpx
Rashifal Ad

गृहपृष्ठ क्यानडा र लगानीको आम्दानीमा कर

क्यानडा र लगानीको आम्दानीमा कर

rabindra-bhattarai-newskarobar

रोजगारी, व्यवसाय र लगानी मानिसका आम्दानीका तीन वटा महत्वपूर्ण स्रोत हुन् । हामीले रोजगारीमा गएर कमाएको आम्दानीलाई रोजगारी आयका रुपमा लिइन्छ भने व्यापार व्यवसाय गरेर कमाएको नाफा व्यवसायिक आम्दानीमा पर्छ । त्यस्तै अर्को महत्वपूर्ण आम्दानी भनेको लगानीबाट प्राप्त आम्दानी हो । लगानी भन्नाले कम्पनीका धितोपत्रमा गरिएको लगानी प्राप्त आम्दानी जस्तो सेयर तथा म्युचुअल फन्डबाट प्राप्त लाभांश, ऋणपत्रमा प्राप्त ब्याज, बैंक निक्षेपमा राखिएको पैसामा प्राप्त ब्याज हुन् । यस्तै लगानीको आम्दानीको अर्को महत्वपूर्ण आम्दानी भनेको यस्ता धितोपत्र किनबेचबाट प्राप्त नाफा वा नोक्सान हो, जसलाई पुँजीगत लाभ वा नोक्सान पनि भनिन्छ ।

यी विभिन्न स्रोतबाट प्राप्त आयमा लगाइने कर हरेक देशमा फरक हुने गर्छ । नेपालमा प्रायः आम्दानीमा स्रोतमै कर कट्टा गर्ने गरिन्छ । जस्तो बैंकको निक्षेपमा प्राप्त ब्याजमा बैंकले अग्रिम रुपमा कर कट्टा गर्छ । कम्पनीले वितरण गर्ने लाभांशमा पनि अग्रिम कर कट्टा गरेर मात्र सेयरधनीलाई लाभांश वितरण गरिन्छ भने सेयर बिक्री गर्दा प्राप्त नाफामा पनि कर कट्टा गरेर मात्र बाँकी पैसा ब्रोकरले विक्रेतालाई दिने गर्छ । तर, क्यानडामा लगानीबाट प्राप्त आयमा स्रोतमा कर कट्टा गरिँदैन । तर, रोजगारीबाट प्राप्त आयमा भने स्रोतमा कर कट्टा गरिन्छ ।

प्रगतिशील कर (यसको अर्थ, कम आय हुनेले कम र बढी आय हुनेले बढी दरमा कर तिर्नुपर्ने) प्रणाली अवलम्बन गरिएको क्यानडामा केन्द्रीय सरकार र प्रदेश सरकार दुवैले कर संकलन गर्छन् । यसको अर्थ, व्यक्ति तथा संस्थाले प्राप्त गरेको आम्दानीमा केन्द्र र प्रदेश सरकार दुवैलाई कर बुझाउनुपर्छ । तर, हरेक वर्ष व्यक्तिले कर कार्यालयलाई कर विवरण बुझाँउदा अलग अलग विवरण नबुझाई एउटै विवरण बुझाइन्छ, जसमा केही फारम प्रदेश सरकारसँग सम्बन्धित छन् ।

कर कार्यालय यो ठाउँमा छ भन्ने ठेगाना थाहा भए पनि मानिसले कहिल्यै कर कार्यालय टेक्नु वा धाउनु पर्दैन । यस्तै यहाँ कर कार्यलयले कहिले पनि कर वा अन्य विषयमा व्यक्तिलाई फोन गर्दैन । बुझाएको कर विवरण वा अन्य कुनै विषयमा सूचना चाहिएमा कर कार्यलयले सम्बन्धित व्यक्तिलाई चिठीमार्फत जानकारी लिने र दिने गर्छ । आफूले बुझाएको विवरणका बारेमा वा अन्य कुनै जानकारी लिनुपरे मानिसले कर कार्यालयमा फोन गर्न सक्छन् वा चिठीमार्फत सोध्न सक्ने व्यवस्था छ ।

हरेक बासिन्दाले कर विवरण बुझाउनु अनिवार्य भएको क्यानडामा कर विवरण नबुझाए सरकारबाट प्राप्त हुने सबै आर्थिक सुविधा बन्द गरिन्छ । जस्तो वृद्ध भत्ता, बच्चाहरुलाई सरकारले दिने पैसा, जलवायु परिवर्तनसम्बन्धी सुविधा आदि । हरेक व्यक्तिले आफ्नो आय आफैं मूल्यांकन गरी कर विवरण पेस गरिने क्यानडामा व्यक्तिका हरेक आम्दानी तथा गतिविधिलाई सामाजिक सुरक्षा नम्बर (सोसल सेक्युरिटी नम्बर) ले एकीकृत गर्ने गरिन्छ । जसले गर्दा सरकारलाई व्यक्तिका गतिविधि तथा आर्थिक क्रियाकलापको निगरानी गर्न सजिलो भएको हुन्छ । जस्तो सेयर किन्नका लागि कारोबार खाता खोल्दा सामाजिक सुरक्षा नम्बर अनिवार्य बुझाउनुपर्छ । त्यस्तै रोजगारीमा जाँदा रोजगारदातालाई, घर किन्दा, जग्गा किन्दा, बिमा गर्दा बैंक खाता खोल्दा आदि ।

प्रगतिशील कर भएको र व्यक्तिको सम्पूर्ण गतिविधिलाई सामाजिक सुरक्षा नम्बरले यसरी बाँधेको क्यानडामा लगानीसम्बन्धी आयमा कसरी कर लगाइन्छ ?

१. क्यानडामा उपहार र प्राप्त पैत्रिक सम्पतिमा कर लाग्दैन । जस्तो बाबु आमा वा अन्य कसैबाट प्राप्त नगद, घर, सेयर आदिमा कर लाग्दैन । तर, प्राप्त सम्पत्तिले गरेको आम्दानीमा भने कर लाग्छ । जस्तो कसैले बाबु आमाबाट एक लाख डलर प्राप्त गरेमा त्यसमा कर तिर्नु पर्दैन । तर, यो पैसा बैंकमा राखेर पाएको ब्याज वा सेयर किनेर पाएको लाभांशमा भने पैत्रिक सम्पति पाउनेले कर तिर्नुपर्छ ।

२. यस्तै अर्को रोचक प्रसंग लोटरीको आयमा जति पैसा कमाए पनि कर लाग्दैन । लोटरी किन्नु वा लोटरी खेलाउनु यहाँ वैधानिक हो । जति पनि लोटरी कम्पनी छन्, ती सरकारले चलाएको पाइन्छ । लोटरी, रक्सी पसल, सार्वजनिक यातायात प्रादेशिक वा स्थानीय सरकारअन्तर्गत छन् । लोटरीमा जति पैसा जिते पनि कर लाग्दैन । जस्तो कसैले ६० मिलियन डलर जिते उक्त पैसामा कुनै कर लाग्दैन र यो कर विवरणमा उल्लेख गरेर सरकारलाई बुझाउनु पर्दैन । तर, यसरी जितेको पैसा लगानी गरेर प्राप्त आयमा भने कर लाग्छ ।

३. एउटा व्यक्तिको मृत्युपश्चात जीवन बिमाबाट पाउने रकममा पनि कर लाग्दैन ।

४. कसैले घर किनेर बिक्री गरेमा त्यसबाट प्राप्त नाफामा के हुन्छ भन्ने अर्को महत्वपूर्ण प्रश्न हुनसक्छ । यहाँ कसैले घर किनेको छ र उक्त घरमा ऊ र उसको परिवार बसिरहेको छ भने उक्त व्यक्तिले उक्त घर आफ्नो बसोबास गर्ने प्रमुख घर हो भनी सरकारसमक्ष घोषणा गर्नुपर्छ । प्रमुख बसोबासका रुपमा घोषणा गरेको घर बिक्री गर्दा यसमा कमाएको नाफामा कर लाग्दैन । तर, एउटै व्यक्तिका धेरै घर रहेछन् भने उसले बसोबासका लागि घोषणा गरेको प्रमुख घरबाहेक अन्य घर बिक्री गर्दा भने नाफामा कर तिर्नुपर्छ । विवाहित व्यक्तिमा श्रीमान र श्रीमतिले अलग अलग घर बसोबासका लागि प्रमुख घर हो भनी घोषणा गर्न पाउँदैनन् । कसैले बसोबास गर्ने प्रमुख घर हो भनी घोषणा गरेन र घर बिक्री गर्‍यो, जुन उसले पहिलो पटक किनेर बिक्री गरेको घर थियो भने पनि त्यसको नाफामा कर तिर्नुपर्ने हुन्छ ।

५. कोही व्यक्ति जस्तो श्रीमानले श्रीमतीलाई पैसा दिएर लगानीबाट प्राप्त आय जस्तो ब्याज, लाभांश, पुँजीगत लाभ आदिमा पैसा पाउनेले नभई दिनेले कर तिर्नुपर्छ । यसको अर्थ, यी आम्दानी पैसा दिने व्यक्तिको आयमा गएर जोडिन्छ, पाउने व्यक्तिको आयमा जोडिँदैन । तर, यसरी प्राप्त आय लगानी गरेर पुनः कमाएको आम्दानीमा भने पैसा पाउने व्यक्तिले कर तिर्नुपर्छ । यस्तै १८ वर्षभन्दा कम उमेरको छोराछोरी, नातिनातिनालाई पैसा दिएर लगानी गरी प्राप्त आयमा पुँजीगत लाभबाहेक अन्य आयमा पैसा दिनेले कर तिर्नुपर्ने हुन्छ । मानिसले उच्च करको दरबाट बच्न कम आय भएका श्रीमती वा श्रीमान वा छोराछोरीका नाममा लगानी गरेर कर बचाउन थालेपछि कर नगुमाउनका लागि सरकारले परिवारका अन्य सदस्यका नाममा लगानी गरे पनि आम्दानी भने पैसा दिनेकै नाममा जोडिने व्यवस्था गरेको हो ।

६. कम्पनीको सेयरमा प्राप्त लाभांश विवाहित भएमा श्रीमानले पाएको लाभांश श्रीमतीमा वा श्रीमतीले पाएको लाभांश श्रीमानको आम्दानीमा सारेर आफ्नो अनुकूलताअनुसार कर बचाउने उद्देश्यले कर तिर्न मिल्छ । तर, यसरी सार्दा लाभांशको सम्पूर्ण रकम सार्नुपर्ने हुन्छ ।

७. सेयर, ऋणपत्र, म्युचुअल फन्ड आदि बिक्रीबाट प्राप्त नाफामा आधा रकममा मात्र कर लाग्छ । यसको अर्थ, कसैले सेयर बेचेर एक हजार डलर नाफा कमाए यसको आधा पाँच सय डलर मात्र करयोग्य आय हुन्छ, बाँकी पाँच सय डलरमा कर लाग्दैन । नोक्सान भए पुँजीगत लाभमा नोक्सान समायोजन गर्न सकिन्छ । तर, पुँजीगत नोक्सान अन्य आम्दानीमा लगेर करयोग्य आय घटाउन पाइँदैन । यस्तै पुँजीगत नाफामा स्रोतमा कर कट्टा गरिँदैन ।

८. ऋणपत्रमा पाउने ब्याज वा बैंकमा पैसा राखेर पाउने ब्याज पुरै रकममा कर तिर्नुपर्ने हुन्छ । जस्तो कसैको आम्दानीअनुसार करको दर २० प्रतिशत भए २० प्रतिशतका दरले कर तिर्नुपर्छ । ३० प्रतिशत भए, ३० प्रतिशतका दरले कर तिर्नुपर्छ ।

९. आम्दानी गर्ने उद्देश्य जस्तो लाभांश पाउनका लागि सेयर किन्न, ब्याज पाउने उद्देश्यले ऋणपत्र किन्न लिएको ऋणको ब्याज आम्दानीबाट घटाउन पाइन्छ । तर, उपभोगको उद्येश्यले लिएको ऋणको ब्याज आम्दानीमा घटाउन पाइँदैन ।

१०. सेयर किनेर प्राप्त लाभांशमा स्रोतमा कर कट्टा गरिँदैन । तर, यसरी प्राप्त लाभांशलाई ३८ प्रतिशतले बढाइन्छ र करयोग्य लाभांश बनाइन्छ । यो रकममा १५ प्रतिशत कर छुट दिइन्छ । जस्तो सय डलर लाभांश पाए  करयोग्य लाभांश १३८ डलर बनाइन्छ र यसको १५ प्रतिशतले आउने रकम तिर्नुपर्ने करबाट घटाइन्छ, जसलाई डिभिडेन्ड ट्याक्स क्रेडिट पनि भनिन्छ । तर, विदेशी कम्पनीबाट प्राप्त लाभांशमा भने पुरै रकममा कर तिर्नुपर्ने हुन्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयर बजार अब के हुन्छ ?

प्रकाशित समय १२:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु