fbpx
Nepal Mediciti

गृहपृष्ठ दसैंलाई मितव्ययी बनाऔं

दसैंलाई मितव्ययी बनाऔं

devi-prasad-acharya-newskarobar

वडादसैं नेपालीको महान चाड हो । यो चाडलाई आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मान्ने गरिन्छ । यो पर्व परम्परा कालदेखि सामाजिक, धार्मिक तथा सांस्कृतिक चाडको रुपमा मनाइँदै आएको छ । दसैं आयो खाउँला पिउँला भन्ने जनजिब्रोमा झुन्डिएको लोकउक्तिले यो पर्वलाई मिठो, मसिनो खाने, राम्रो लगाउने पर्वका रुपमा पनि लिने गरिन्छ । दसैंमा टाढाटाढा गएर बसेका परिवारजन बुवा, आमा, दाजु, भाइ, आफन्त, इष्टमित्र र मान्यजनसँग टीका लगाई आशीर्वाद ग्रहण गर्नका लागि घर फर्किएर आउने र रमाइलोसँग दसैं मान्ने चलन छ ।

वडादसैंका पौराणिक कथन छन् । देवताहरुको समयमा शुम्भ, निशुम्भ, रक्तवीज र महिषासुर जस्ता असुरहरुले देव मानवलाई दुःख दिएपछि उनीहरुले शक्तिरुपिणी दुर्गाभवानीको पूजा आराधाना गरे । उनीहरुको पूजा आराधनाबाट प्रसन्न भई दुर्गा भवानी प्रकट भएर ती असुरहरुको बध गरी देवताहरुलाई असत्य र अत्याचारबाट संरक्षण गरेकाले दुर्गा भवानीको पूजाआराधना गरी खुसियाली मनाउने संस्कृतिको विकाससँगै वडादसैं मनाउने चलन छ ।

यसैगरी भगवान रामचन्द्रले रावणमाथि विजय गरेको पौराणिक कथासँग पनि दसैं जोडिएको छ । भगवान रामचन्द्रले रावणको अत्याचारलाई पराजय गर्नको लागि शक्तिरुपिणी दुर्गामाताकोे पूजा आराधना गरेकाले दुर्गा भवानीको कृपाले दशमी तिथीमा रावणमाथि विजय प्राप्त गरेकाले धुमधामसँग खुसियाली मनाएको घटनासँग पनि वडादसैंको कथन जोडिएको छ । दसैं असत्य, अत्याचार र कुकर्मविरुद्घ सत्यको जितसँग जोडिएको महत्वपूर्ण पर्व हो ।

बडादसैंको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक पाटाहरुले आ-आफ्नै अर्थ राख्छन् । यस पर्वमा दुर्गा भवानीकोे विशेष रुपमा पूजाआजा, प्रार्थना, आराधना तथा उपसना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म प्रत्येक दिन दुर्गा भवानीका नौ रुपहरु शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्घिदातृको पूजा आराधना गरिन्छ । दशमीका दिन मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद थाप्ने चलन छ ।

दसैं पर्वलाई अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, विभाजनमाथि एकताको, शत्रुतामाथि मित्रताको, निराशामाथि आशाको र विछोडपछि मिलनको पर्वको रुपमा मानिँदै आएको छ । बडादसैंका यति सुन्दर पक्ष हुँदाहुँदै पनि यो चाड अत्यन्तै भड्किलो, खर्चिलो र महँगो बन्दै गएको छ । विशेष गरी दसैंको बेलामा हरेक सामानहरुमा महँगी बढाउने काम गरिन्छ । दसैंको अवसरलाई आयआर्जनको माध्यम बनाउने देशका व्यापारी, साहु, महाजनले कालाबजारी, तस्करी गर्ने गरेको जनगुनासो आउने गरेको छ । एकातिर चाडपर्वमा महँगीले आकाश छोएको हुन्छ भने अर्कोतिर दसैंमा मिठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने पर्व भएकाले यो पर्व अत्यन्तै महँगो बन्दै गएको छ ।

‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने लोकउक्तिले दसैं खर्चिलो भएको कुरा पुष्टि गर्छ । राम्रो लगाउने, मीठो खाने रहर सबैलाई हुनु स्वाभाविक हो । तथापि, दसैंलाई आफ्नो गच्छेअनुसार मनाउनुपर्छ । अरुको देखासिखी गर्ने संस्कृति मौलाएको पाइन्छ । ऋण खोजेर भए पनि खसी किन्नुपर्ने, राम्रो लगाउनुपर्ने, मीठो मसिनो खानुपर्ने सामाजिक मनोविज्ञानले जरा गाडेको छ । यसर्थ दसैं खर्चिलो बन्दै गएको अवस्था हो । दसैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव र दुर्गा भवानीको पूजाआराधना गरी मनाउने सरल पर्वको रुपमा मान्नु पर्छ । घाँटी हेरी हाड निल्नुपर्छ । मितव्ययी बनाउनुपर्छ ।

मुलुक गरिबी, अभाव, पछौटेपन, बेरोजगारी, महँगी जस्ता समस्याबाट गुज्रिरहेको अवस्था छ । आर्थिक अभावकै कारण लाखौं युवा विदेशी बजारमा न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य छन् । मुलुकमा सामान्य जीवन बिताउन आवश्यक पर्ने खाद्यान्न, कपडा, औषधीमूलो अत्यन्त महँगो छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्र महँगा छन् । यस्तो सामाजिक तथा आर्थिक अवस्थाबाट गुज्रिरहेको हाम्रो जस्तो समाजमा दसैंतिहार जस्ता महान चाडहरुमा अनावश्यक खर्च गर्ने बानीको अन्त्य गर्न उपयुक्त हुन्छ । धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेका पर्वलाई खर्चिलो, भड्किलो तथा देखासिखीको आधारमा मनाउनु हुँदैन । दसैं आफू सक्दो खर्चगरी सामान्य तरिकाले मनाऔं । पर्वहरुलाई तडकभडकको पर्व नबनाऔं । आफ्नो औकातले भ्याउने गरी मनाऔं । मितव्ययी बनौं ।

पर्व मनाउने आधुनिक तरिकाको नाममा आएका यस्ता विकृति बढ्नु सांस्कृतिक विचलन हो ।

दसैं पर्वको अर्को महत्वपूर्ण धार्मिक पक्ष पशुबली प्रथा हो । देशका हिन्दू शक्तिपीठहरुमा हजारौंको संख्यामा पशुपन्छीहरुलाई बली दिने प्रथा परम्परादेखि चल्दै आएको पाइन्छ । त्यसो त अहिले पशुबली दिने चलनका बारेमा आलोचनात्मक टीका–टिप्पणी पनि हुने गरेका छन् । पशुबलीको अन्त्य गर्नुपर्ने कुरा पशु अधिकारकर्मीलगायत शाकाहारी अभियन्ताको रहेको पाइन्छ ।

प्रायजसो घरहरुमा खसीबध गरी मासु खाने चलन दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । पशुबलीको आवस्यकता वा रहर यो विषय धार्मिक तथा सामाजिक बहस बनेको छ । वास्तवमा पशुबलीभन्दा पनि समाजमा रहेको भड्किलोपन, आडम्बर, लोभ, लालच, ईर्ष्या, भ्रष्टाचार, अहंता, दुर्भावना, हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक चिन्तनहरुको बली दिनु आजको आवश्यकता हो ।

हाम्रो देश बहु भाषाभाषी, धर्म, संस्कार, संस्कृति तथा चाडवाडहरुको धनी मुलुक हो । समाजमा रहेका हरेक जातजाति, धर्म तथा सम्प्रदायका आ–आफ्नै पर्वहरु छन् । परन्तु वडा दसैं हरेक सम्प्रदायका मानिसले मनाउने राष्ट्रिय पर्व हो । त्यसो त दसैंलाई मनाउने आ–आफ्नै तरिका छन् । तथापि वडादसैंले राष्ट्रव्यापी रुपमा खुसियालीको वातावरण छाएको पाइन्छ । समाज परिवर्तनशील हुने भएकाले समाजमा स्थापित मूल्य र मान्यतामा पनि परिवर्तन आउँछ । यही परिवर्तनको छालले दसैं मनाउने प्रकृति र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आएको छ । दसैं भड्किलो, महङ्गो, असुरक्षित, पेयपदार्थमय हुँदै गएको छ । यस सन्दर्भमा दसैंको सांस्कृतिक तथा धार्मिक मूल्य र मान्यताभन्दा बाहिरबाट आधुनिकताका नाममा आउने चलन विकृति हुन् ।

देश अहिले दसैंमय भएको छ । टाढाटाढाबाट आफ्ना आफन्तजन दसैं मनाउनका लागि घरघरमा फर्कने क्रम जारी छ । दसैंमा सबै परिवार सँगै बस्ने र खुसियालीका साथ मान्यजनसँग टीका जमरा लगाई आशीर्वाद लिने चलन छ । यसरी हेर्दा दसैं एउटा पारिवारिक मिलन, सामाजिक सद्भाव र साथीभाइको पुनर्मिलनको पर्वको रुपमा पनि लिइन्छ ।

दसैं पर्वले परिवारजन, साथीभाइ, इष्टमित्र, आफन्तजनलाई भेटघाट गराउने अवसर प्रदान गरेको छ । हिजोआज दसैंमा खुसियाली मनाउने नाममा मादकपदार्थ सेवन गर्ने, अनावश्यक खर्च गर्ने र आवेशमा मारपिट गर्नेजस्ता घटना पनि आउने गर्छन् । मेला पर्वको नाममा अत्यधिक मादक पदार्थ सेवन गर्ने, जुवातास खेल्ने तथा झैझगडा गर्नेे जस्ता विकृति बढ्दै गएको पाइन्छ । पर्व मनाउने आधुनिक तरिकाको नाममा आएका यस्ता विकृति बढ्नु सांस्कृतिक विचलन हो ।

अन्त्यमा दसैं असत्य र कुकृत्यमाथि सत्य र सत्कर्मको विजयका रुपमा मनाउने पर्व हो । यसर्थ, विजयादशमीलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने पे्ररणाको रुपमा लिन सक्नुपर्छ । देवताको युगमा देवताहरुले र त्रेता युगमा भगवान रामचन्द्रले शक्ति रुपिणी दुर्गा भवानीको पूजा, आराधना तथा उपसना गरी उनको कृपाले असत्य माथि सत्यको विजय प्राप्त गरेजस्तै नवदुर्गा भावानीको पूजा आराधना गरी व्यक्ति, व्यक्तित्व तथा समाजमा रहेका विकृति तथा दुष्कर्महरुको अन्त्य गर्न आशीर्वाद लिनुपर्छ ।

(लेखक शिक्षक हुन् ।)

यो पनि पढ्नुहोस्

आर्थिक समृद्धिको आधार शिक्षा

प्रकाशित समय ११:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु