fbpx
Nepal Mediciti

गृहपृष्ठ धितोपत्र बजारको विकासका लागि मैले जे गरेँ

धितोपत्र बजारको विकासका लागि मैले जे गरेँ

rebat-bahadur-karki-newskarobar

नेपाल सरकारको निर्णयानुसार वर्तमान अध्यक्षको रुपमा २०७२ कात्तिकदेखि चार वर्षका लागि नियुक्त भएकोमा यही असोज मसान्तमा कार्यकाल समाप्त हुँदै छ । बोर्डको अध्यक्षमा नियुक्त भई बहाली भएको दिन नै बोर्डको तर्फबाट यो यो कार्य गर्ने भनी कार्ययोजना प्रस्तुत गरेको साथै सरकारको नीति निर्देशअनुसार के के कार्य भए त्यसको समीक्षा गर्ने प्रयास गरेको छु ।

म आउनुअघि धितोपत्र बजारमा लगानीकर्ताले कस्ता समस्या व्यहोरिरहेका थिए ? यहाँहरुलाई थाहा नै छ । प्राथमिक बजारमा सेयर आवेदन दिन लाम लाग्नुपर्ने, बोराका बोरा आवेदन पर्ने, आफ्नो पैसा तथा बोनस एवं हकप्रद लिन पनि लाम लाग्नुपर्ने साथै दोस्रो बजारमा पनि नामसारीलाई तीन-चार महिनासम्म लाग्ने, क्लियरिङ गर्न धेरै दिन लाग्ने इत्यादि समस्या थिए, जसले गर्दा नियामक निकायको हैसियतले आत्मग्लानी हुन्थ्यो । त्यस्तो समस्या अहिले देख्नुहुन्छ ? धेरैले त बिर्सिसके ।

२०६३-६५ मा म नेप्सेको प्रमुख हुँदा प्रथम चरणको सुधारअन्तर्गत गैरनाफाकारी नेप्सेलाई नाफाकारी संस्था बनाई सञ्चालक समितिमा ब्रोकरको सट्टा विज्ञ राख्ने, कारोबार अटोमेसन, पहिलो पटक ब्रोकर शुल्कमा ५० प्रतिशत कटौती, नेप्सेसँग ब्रोकर अफिसबाट कारोबारको सुरुवात, २३ ब्रोकरबाट २७ थप गरी ५० पुर्‍याउने, सेन्सेटिभ र फ्लोट इन्डेक्सको साथै सर्किट ब्रेकरको सुरुवात इत्यादि महत्वपूर्ण सुधारका कार्य भएका थिए ।

बोर्डमा पद वहालीसँगै पुँजीबजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरेअनुसार अधिकांश कार्यान्वयन भएका छन् । मेरो नेतृत्वमा बोर्डले धेरै किसिमका सुधारका काम गरेको छ । मेरो कार्यकालमा पाँच सरकार र पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार सञ्चालन साथै नियमन दुबैको अनुभव, कानुनको ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिबद्धता, लगनशीलता र इमानदारीका साथै बोर्ड टिमको कारणले सफल भएको भन्ने लाग्छ । मैले वहाली गर्दाको अवस्था र अहिलेको उपलब्धि हेर्दा गर्व पनि लाग्छ ।

बोर्डले यो अवधिमा एक कोणबाटभन्दा पनि विभिन्न कोणबाट उल्लेख्य र संरचनात्मक सुधारका काम गरेको छ । डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणाली र अटोमेसनले गर्दा धितोपत्र बजार पारदर्शी र आधुनिक भई नेपाल दक्षिण एसियामा अग्रपंक्तिमा आएको, आइपिओदेखि लिस्टिङ ट्रेडिङसम्म ६ महिनाबाट एक महिनामा हुने र आइपिओ बाँडफाँड तीन महिनाबाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी लागत उल्लेख्य घटेको छ ।

आफ्नै डिम्याट खाता र बैंक खातामा सेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्था, आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुँच, दोस्रो बजार सबै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशी रुपमा वृद्धि, धितोपत्र नियामक निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससिओको सदस्यतामार्फत अन्तर्राष्ट्रिय मान्यता प्राप्तसहित बोर्डको संस्थागत क्षमता अभिवृद्धि इत्यादि उपलब्धि भएका छन् । मेरो नेतृत्वमा बोर्डले गरेका मुख्य सुधारका केही अन्य कार्य निम्न छन् :

 

१. प्राथमिक बजार सुधार तथा विकास

(क) डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाम बस्नुपर्ने, सीमित स्थानबाट मात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा ब्याज नपाउने जस्ता समस्याको समाधान,

(ख) एक नेपाली एक डिम्याट खाताको साथै ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम् १० कित्ता पाउने व्यवस्थामार्फत बजार समावेशी भएको,

(ग) एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निष्कासन गरेपछि पाँच वर्षसम्म निष्कासन गर्न नपाउने व्यवस्था,

(घ) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने इत्यादि ।

 

२. दोस्रो बजार सुधार तथा विकास

(क) २०६४ सालको कारोबार अटोमेसनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेसनको सुरुवात गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको साथै हालै अनलाइन कारोबारको सुरुवात,

(ख) धितोपत्र कारोबारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक बनाई ४० प्रतिशतसम्म कम गरिएको,

(ग) लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था,

(घ) एक मात्र क्लियरिङ बैंकको सट्टा तीन क्लियरिङ बैंक थप गर्ने व्यवस्था,

(ङ) दोस्रो बजार विस्तार र

(च) बिक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकाबाहिरका प्रमुख केन्द्रहरुबाट पनि आवेदन दिनसक्ने व्यवस्था इत्यादि ।

 

३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधान

सूचीकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस सेयर तथा नगद लाभांशसहितको रकम लगानीकर्ताका आफ्नै डिम्याट खाता र बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था इत्यादि ।

 

४. ब्रोकर र मर्चेन्ट बैंकिङ सेवा÷क्षेत्र विस्तार सुदृढीकरण

(क) मर्चेन्ट बैंकरको पुँजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवा सुदृढसहित काडमाडौंबाहिर शाखा विस्तार र

(ख) धितोपत्र व्यवसायीको पुँजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोबार) वृद्धि, सेवा र शाखा पूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था ।

 

५. बोर्डको संस्थागत क्षमता वृद्धि

बोर्ड अध्यक्ष एवं कर्मचारी र सञ्चालकमा आचारसंहिता लागू, बोर्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका साथै संस्थागत, नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको ।

 

६. नयाँ वित्तीय उपकरण÷सेवाको व्यवस्था

(क) खुलामुखी सामूहिक लगानी योजना सञचालन गर्ने व्यवस्था,

(ख) भेन्चर क्यापिटल, प्राइभेट इक्युटी र हेज फन्डको सञ्चालन गर्न विशिष्टीकृत लगानी कोषको व्यवस्था र

(ग) ब्रोकरबाट मार्जिन कारोबार हुने व्यवस्था ।

 

७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणका साथै आर्थिक जरिवानासहितको कानुनी कारबाही

(क) धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, विशिष्टीकृत लगानी कोष नियमावली, वस्तु विनिमय बजार ऐन र नियमावली बनाई लागू गरिएको ।

(ख) साथै १० लाख रुपैयाँसम्मको विभिन्न किसिमको आर्थिक जरिवानासहितको धितोपत्र ब्रोकर व्यवसायी, कोष व्यवस्थापक र डिपीहरुलाई कानुनी कारबाही गरिएको ।

 

८. वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहनमूलक प्याकेज र सूचीकृत कम्पनीमा सुशासन निर्देशिका लागू

(क) धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेशमा प्रोत्साहन गर्न न्यूनतम् १० प्रतिशतसम्म सार्वजनिक निष्कासन गर्न पाउने, प्रिमियममा निष्कासन गर्न पाउने साथै सरकारबाट १५–२५ प्रतिशतसम्म आयकर छुटसहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको र

(ख) सूचीकृत कम्पनीमा सुशासन निर्देशिका बनाई आर्थिक वर्ष २०७५÷७६ देखि लागू ।

 

९. बोर्डलाई अन्तर्राष्ट्रिय मान्यता

बोर्ड सन् २०१७ मा धितोपत्र नियामक निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससिओको सदस्यका साथै सन् २०१९ मा ओईसिडी आईएनएफईको नेपालको तर्फबाट पूर्ण सदस्यसमेत भएको छ । साथै, वित्तीय साक्षरतासम्बन्धी पहिलो ओइसिडी सेबोन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

 

१०. अन्य सुधार र विकास

(क) ओटिसी बजार कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाई सक्रिय÷प्रभावकारी बनाइएको,

(ख) धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्बन्धित निक्षेप सदस्य (डिपी) बाट हुने व्यवस्था,

(ग) वित्तीय साक्षरता अभिवृद्धि गर्न धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसँग पाक्षिक कार्यक्रम र लगानीकर्तासँग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसँग हुने व्यवस्थाका साथै बोर्डमा पाक्षिक निःशुल्क लगानीकर्ता प्रशिक्षणसमेत सञ्चालनसहितका विभिन्न कार्यक्रमका व्यवस्था,

(घ) आव २०७४÷७५ देखि बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था,

(ङ) बोर्डको सिफारिसमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था र

(च) बोर्डले विभिन्न प्रकाशनसमेत गरी सूचना प्रवाहलाई सुदृढ र व्यापक गरिएको साथै धितोपत्र व्यवसायीको काम कारबाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएको इत्यादि ।

 

कार्यान्वयनको चरणमा रहेका कार्यहरु

(क) अन्तिम चरणमा रहेको बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई प्रतिस्पधात्मक सेवा प्रदान गर्ने,

(ख) प्रशिक्षण प्रतिष्ठान  र प्रादेशिक कार्यालयको स्थापना,

(ग) अर्थतन्त्रको आकार र वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तो बजार सञ्चालन गराउने,

(घ) बोर्डको संस्थागत सुधारका लागि धितोपत्रसम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थ मन्त्रालयमार्पmत संसदमा प्रस्तुत र

(ङ) यसका अलवा धितोपत्र व्यवसायी (ब्रोकर र मर्चेन्ट बैंकिङ) नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ नियमावली, धितोपत्र दर्ता तथा निष्कासन नियमावली आदिमा महत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल सरकार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिएको । मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाइजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यवसायी गाभिने÷प्राप्ति हुने, सबै नियामक संस्थामा स्वार्थ बाझिन नहुने, राइट सेयर दोब्बर भर्न पाउने, सार्वजनिक निष्कासनमा बुक विल्डङ विधि अपनाउने, स्थानीयले पाउने सेयरको लक इन पिरियड घटाउने, लाइफ इन्स्योरेन्स कम्पनीले म्युचुअल फन्ड सञ्चालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थ मन्त्रालय स्वीकृतिका लागि पठाइसकिएको छ ।

 

चुनौतीहरु

(क) अर्थतन्त्र र पुँजीबजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेन्ज प्रवेश गराउने नीतिगत निर्णय भइसकेको परिपे्रक्ष्यमा नेप्सेको कर्पोरेट निजीकरण सुरुवातका साथै आधुनिक अर्को स्टक एक्सचेन्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक बजारको विकास र विस्तार गर्ने, जसबाट आधुनिक सुविधा उपलब्ध भई दैनिक ५ अर्बको कारोवार हुनसक्ने,

(ख) ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने,

(ग) अन्तर्राष्ट्रिय स्तरको धितोपत्र कारोबारको टेस्टेड सफ्टवेयर प्रणाली अपनाई गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई बजारमा प्रवेश गराउने र

(घ) नियामक निकायसहित बजार सहभागीहरुको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती छ ।

म यहाँबाट सेवानिवृत्त भए पनि पुँजीबजारसहित अर्थतन्त्र, बैंकिङ, लघुवित्त र सामाजिक कार्यमा मेरो विज्ञता र सेवा समर्पित गर्ने प्रण गर्छु ।

अन्त्यमा, नेपाल सरकारले मलाई काम गर्ने अवसर दिई पुँजीबजारको विकास र सुधारका लागि विशेष योगदान गर्न प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्छु । सहयोगका लागि बोर्ड परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

प्रकाशित समय ११:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु