fbpx

गृहपृष्ठ सेयरमा पोर्टफोलियो बनाउने सजिलो तरिका

सेयरमा पोर्टफोलियो बनाउने सजिलो तरिका

rabindra-bhattarai-newskarobar

एक मित्रले म्यासेन्जरमा प्रश्न गर्नु भो ‘सेयरमा पोर्टफोलियो कसरी बनाउने ? कुनै सजिलो तरिका छ भने बताइदिनुहुन्छ कि ?’

यस्ता जिज्ञासाको मेरो फेसबुकको म्यासेन्जर र युट्युब भिडियोको कमेन्टमा कमी हुँदैन ।

सेयर बजारमा हुने जोखिम न्यूनीकरणको महत्वपूर्ण औजारका रुपमा लिइने पोर्टफोलियो यसरी बनाउनुहोस् भनिहाल्न अलि गाह्रो छ किनकि हरेक व्यक्तिको आम्दानी, सम्पत्ति, वित्तीय अवस्था, आवश्यकता, जोखिम लिन सक्ने क्षमता, सेयर बजारसम्बन्धी ज्ञान र अनुभव फरक-फरक हुने गर्छन् र यिनै कुराले नै लगानीका विकल्पको छनौट निर्धारण गर्ने गर्छन् ।

पछिल्लो जिज्ञासामा भने एउटा शब्दले मलाई उत्तर लेख्न बाध्य बनायो । यो प्रश्नमा उनले भनेका छन् ‘सजिलो तरिका‘ । हुन त वारेन वफेटले भनेका छन्- सेयरमा लगानी गर्नु सामान्य छ तर सजिलो भने छैन ।

यद्यपि सेयरको पोर्टफोलियो निर्माणमा प्रयोग गरिने सामान्य सिद्धान्त र तरिकाका बारेमा प्रश्नको उत्तर दिने प्रयास गरेको छु । जसलाई म सजिलो तरिकाका रुपमा लिने गर्छु । प्रश्नकर्ता मात्र नभई सेयर जिज्ञासुहरु सबैका लागि यो उपयोगी बन्न सक्ला ।

पोर्टफोलियो बनाउनुको अर्थ भएको लगानीयोग्य पुँजी, पैसा वा बचतलाई लगानीका विभिन्न विकल्पमा बाँड्नु भन्ने हुन्छ । पोर्टफोलियो बनाउनुको उद्येश्यचाहिँ सम्भावित नोक्सानी वा जोखिम कम गर्नु भन्ने हो ।

जस्तो तपाईसँग ५ लाख रुपैयाँ छ । यो पैसालाई तपाईं लगानीयोग्य पैसाका रुपमा लिनुहुन्छ । लगानीयोग्य पैसा त्यस्तो पैसा हो जुन तपाईंलाई तत्काल आवश्यक छैन वा दैनिक उपभोग्य सामग्री खरिदका लागि प्रयोग गरिँदैन । यस्तो पैसालाई लगानीका विभिन्न विकल्प जस्तो सेयर, ऋणपत्र र निक्षेपमा बाँडेर लगाउनुहुन्छ भने त्यो नै एउटा पोर्टफोलियो निर्माणको प्रक्रिया हो ।

विश्वमा सेयर बजारभित्र पनि लगानीका धेरै विकल्प छन् । संसारका सेयर बजार लगानीका विकल्पहरुमा धनी भए पनि हामी गरिव नै छौं । हामी गरिब आफैं बनेका भन्दा पनि बनाइएका हौं । जस्तो कि नियामक निकाय धितोपत्र बोर्डका कारण हामीले पर्याप्त विकल्प प्रयोग गर्न पाएका छैनौं । जबसम्म नयाँ विकल्पका लागि कानुन बन्दैनन् वा बनाइँदैन हामी विकल्पको प्रयोग गर्न सक्दैनौं । वित्तीय क्षेत्रमा विकल्पको प्रयोग हुनुभन्दा कानुन अगाडि बन्न आवश्यक छ । कानुन नबनी कसैले प्रयोग गरिहाल्न सक्ने अवस्था यहाँ रहँदैन । यसैले पनि पोर्टफोलियो निर्माणमा फरक फरक विकल्पको प्रयोग गर्न सक्ने अवस्थामा हामी छैनौं । यद्यपि भएका विकल्पको अधिकतम र विवेकसंगत प्रयोग गरेर बढी फाइदा लिनु नै हाम्रो उद्येश्य हुन्छ ।

हामीसँग पोर्टफोलियो निर्माणमा दुईवटा विकल्प छन् र ती पनि त्यति लचकदार छैनन् । हामीसँग सेयर वा इक्विटीको विकल्प छ र त्यो पनि एकोहोरो मात्र छ । यसको अर्थ किनेर राख वा बढेपछि फाइदा हुने प्रकृतिको मात्र कारोबार छ तर घट्दा फाइदा हुने गरी गरिने कारोबार वा सर्टसेल (सेयर सापटी लिएर गरिने कारोबार) छैन । जसका लागि कानुन बनेको छैन । बनाउने चेष्टा गरेको पनि देखिँदैन । यसैले पनि फाइदा लिनका लागि सेयर कारोबारको सबै तरिकालाई उपयोग गर्न सक्ने अवस्थामा हामी छैनौं ।

यस्तै हामीसँग निश्चित आय दिने विकल्पको पनि कमी नै छ । हामीसँग ऋणपत्र केही छन् तर दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार छैन । अग्राधिकार सेयर त छँदै छैन । निश्चित आय भएको अर्को विकल्प भनेको बैंक तथा वित्तीय संस्थामा राखिने निक्षेप नै हो । यो चाहिँ पर्याप्त छ । जस्तो बचत, मुद्दति निक्षेप आदि ।

यिनै भएका विकल्पलाई म यहाँ दुई समूहमा राख्छु । एउटा उतारचढाव युक्त आयको विकल्प जसलाई हामी सेयर (इक्विटी) भन्छौं । यसको अर्थ सेयरले दिने प्रतिफल हरेक वर्ष वा ६ महिना वा तीन महिना वा महिनामा एउटै वा निश्चित हुने गर्दैन । कहिले बढी त कहिले कम हुने गर्छ । प्रतिफलभित्र पाउने लाभांश र सेयरको मूल्यमा हुने उतारचढाव (पुँजीगत लाभ वा नोक्सान) दुवै समावेश हुन्छन् । यसकारण पनि सेयरलाई उच्च जोखिमयुक्त विकल्पका रुपमा राखिन्छ ।

अर्को समूहमा निश्चित आय भएका लगानीका विकल्प पर्छन् । जसबाट हरेक महिना वा तीन महिनामा वा ६ महिनामा वा वर्षमा निश्चित आम्दानी प्राप्त हुने गर्छ । जस्तो बैंकमा राखेको निक्षेप (बचत, मुद्दति खाता), कम्पनी र सरकारले जारी गरेका ऋणपत्र । यी विकल्पमा निश्चित प्रतिशतका दरले ब्याज नियमित प्राप्त हुने तथा कम्पनी टाट पल्टेको अवस्थामा पनि फिर्ता पाउने प्रथमिकतामा पर्ने भएकाले जोखिम कम हुने गर्छ । यिनबाट पाउने प्रतिफल पनि तुलनात्मक रुपमा सेयरको भन्दा कम नै हुने गर्छ ।

हामीसँग ऋणपत्र केही छन् तर दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार छैन । अग्राधिकार सेयर त छँदै छैन । निश्चित आय भएको अर्को विकल्प भनेको बैंक तथा वित्तीय संस्थामा राखिने निक्षेप नै हो ।

हामीसँग बजारमा उच्च जोखिमयुक्त बढी प्रतिफल दिने विकल्प र कम जोखिमयुक्त र कम प्रतिफल दिने निश्चित आय भएको विकल्प छन् । पोर्टफोलियो बनाउँदा सेयरमा हुने उच्च उतारचढाव प्रतिफलका कारण उत्पन्न जोखिमलाई कम गर्न र त्यसको नोक्सान कम गर्न निश्चित आय भएका विकल्पको मिश्रण गराइन्छ । तर, जटिल प्रश्न यिनको मिश्रण गर्दा लगानीयोग्य पुँजीलाई कुन अनुपातमा बाँड्ने भन्ने नै हो । माथिको उदाहरणमा तपाईंसँग भएको ५ लाख रुपैयाँमध्ये कति प्रतिशत पैसा सेयरमा र कति प्रतिशत पैसा निश्चित आय भएका धितोपत्र जस्तो ऋणपत्र वा निक्षेपमा लगाउने भन्ने हो ।

यी जिज्ञासुको अपेक्षाअनुसार पोर्टफोलियो बनाउने वा विकल्पमा पैसा बाँड्ने सजिलो तरिका र सामान्य सिद्धान्त भनेको आफ्नो उमेरलाई आधार मानेर दुईवटा विकल्पमा पैसा बाँड्ने हो । यसको अर्थ पैसा बाँड्दा तपाईंको उमेरको अंकलाई जहिले पनि निश्चित आय भएको लगानीको प्रतिशत बनाउने हो । जस्तो ४० वर्ष उमेर भएको व्यक्तिले आफ्नो कुल लगानीयोग्य रकमको ४० प्रतिशत पैसा निश्चित आय हुने धितोपत्र जस्तो ऋणपत्र वा बैंकिङ निक्षेप वा दुवैमा लगानी गर्ने र बाँकी ६० प्रतिशत सेयरमा लगानी गर्ने भन्ने हो ।

माथिको उदाहरणमा लगानीयोग्य पुँजीको ४० प्रतिशत अर्थात् २ लाख निश्चित आय भएको विकल्पमा लगानी गर्ने र बाँकी ३ लाख सेयरमा लगानी गर्ने । ५० वर्ष उमेर पुगेकाले ५० प्रतिशत निश्चत आय र ५० प्रतिशत सेयरमा लगानी गर्ने । त्यस्तै ७० वर्ष पुगेकाले ७० प्रतिशत निश्चित आय र ३० प्रतिशत सेयरमा लगानी गर्ने भन्ने सिद्धान्त हो । पोर्टफोलियो निर्माणको यो एउटा पुरातनवादी (कन्जरभेटिभ) सिद्धान्त पनि हो ।

मानिसको उमेर बढ्दै जाँदा जोखिम लिने क्षमता कमजोर हुँदै जाने भएकाले जोखिमयुक्त लगानी जस्तो सेयरको हिस्सा कम गर्दै जाने र कम जोखिमयुक्त निश्चित आय दिने विकल्पमा लगानी बढाउँदै जाने भन्ने हो । तपाईंको उमेर ४० बाट ४१ भए पोर्टफोलियोमा निश्चित आय र सेयरको अनुपात विश्लेषण गरी पोर्टफोलियोको पुनःसंरचना गर्ने । जस्तो ४१ वर्ष लाग्दा भएको पोर्टफोलियोको अनुपात बजार मूल्य आदिका कारण परिवर्तन भएर ६३ प्रतिशत सेयर र ३७ प्रतिशत निश्चित आय दिने पुगेको रहेछ भने ६३ प्रतिशत सेयरको हिस्साबाट ४ प्रतिशत बिक्री गरेर ५९ प्रतिशत बनाउने र सेयर बिक्री गरेर आएको ४ प्रतिशतको पैसाले निश्चित आय भएको धितोपत्र थप्ने वा किन्ने र ४१ प्रतिशत बनाउने ।

नयाँ पैसा लगानी गर्दै हुनुहुन्छ वा लगानी थप्दै हुनुहुन्छ भने पनि सोही अनुपातमा दुई विकल्पमा बाँड्ने । जस्तो एक लाख रुपैयाँ थप्दै हुनुहुन्छ र उमेर ४१ वर्ष हो भने ४१ हजार रुपैयाँ निश्चित आयमा लगानी गर्ने र बाँकी ५९ हजार सेयरमा लगानी गर्ने हो ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयर र जुवा

प्रकाशित समय १३:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु