fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्राविधिक शिक्षाको बलियो जग

प्राविधिक शिक्षाको बलियो जग

sampadakiya-newskarobar

नेपालको शिक्षा प्रणालीलाई अहिले पनि विश्वका प्रतिस्पर्धी श्रम बजारमा अनुत्पादक श्रमशक्ति उत्पादन गर्ने प्रणालीका रुपमा व्याख्या गर्ने गरिन्छ । श्रम बजारमा प्रवेश गर्ने वार्षिक पाँच लाखभन्दा बढीको जनशक्ति पाएको रोजगारीको अवसर हेर्दा यो आरोपलाई अन्यथा भन्न मिल्दैन । दशकौंदेखि नेपालमा शिक्षा क्षेत्र सुधारका लागि विभिन्न दाताहरूको सहयोगमा दर्जनाैं आयोजनाहरू समेत सञ्चालन भइसकेका छन् तर ती न उपलब्धिमूलक देखिए, न त तिनले ठोस नतिजा नै दिए ।

परम्परागत ढाँचाको शैक्षिक पाठ्यक्रम र त्यसमा आधारित शिक्षा प्रणालीले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन । नेपालका विश्वविद्यालयहरूबाट दीक्षित जनशक्तिले विश्व श्रम बजारमा आधारभूत काम समेत पाउन नसक्ने अवस्था छ । शैक्षिक पाठ्यक्रमहरू परिवर्तन गर्ने नाममा विगतमा पढाइ हुँदै आएका निकै राम्रा विषयवस्तुलाई समेत पन्छाउन थालियो । यसको नतिजाले अहिले विश्वविद्यालयहरूबाट शिक्षित जनशक्तिहरू केवल सैद्धान्तिक ज्ञान मात्र लिएर बाहिरिने अवस्था छ। कोरा सैद्धान्तिक ज्ञानमात्र लिएर बजारमा आउने जनशक्ति कम प्रतिस्पर्धी हुनु स्वभाविकै पनि हो । यो हाम्रो शिक्षा प्रणालीको सबैभन्दा कमजोर पक्ष हो ।

हालै गरिएको एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने कुल श्रमशक्तिमध्ये जम्मा दुई प्रतिशतमात्र दक्ष जनशक्ति रहने गरेका छन् । यसले श्रम गन्तव्यहरुमा नेपाली श्रमिकहरूले पाउने तलब र सेवा सुविधा कम हुनमा भूमिका खेलिरहेको छ । विदेश जाने श्रमिकका कुरालाई अलग्गै राख्दा स्वदेशभित्रै पनि अहिले दक्ष जनशक्ति पाउन समस्या पर्न थालेको छ। नेपालमा हाल धमाधम निर्माण भइरहेका जलविद्युत आयोजना, सिमेन्ट उद्योगहरू र अन्य पूर्वाधार निर्माणमा दक्ष जनशक्ति नपाएर भारत र चीनबाट यस्ता जनशक्ति भित्र्याउनु परिरहेको छ । जसका लागि यहाँबाट तिनले ठूलो धनराशि पारिश्रमिकका रूपमा लगिरहेका छन्। यो विडम्बनापूर्ण अवस्था हो।

यदि देशभित्र दक्ष जनशक्ति आपूर्ति बढाउने हो भने विद्यमान शैक्षिक पाठ्यक्रमहरूमा आमूल परिमार्जन गर्नैपर्ने बेला भएको छ । अब सिद्धान्तमुखी पाठ्यक्रम होइन, जीवनोपयोगी शिक्षाको लागि आधार सिर्जना गर्ने पाठ्यक्रमको विकास गर्नुपर्ने हुन्छ। यसका लागि अहिले हामीसँग उपलब्ध रहेको तत्कालीन विकल्प भनेको प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पहिलो हो भने त्यसलाई विस्तारै विद्यालय र विश्वविद्यालयहरूको पाठ्यक्रमसँग आवद्ध गरिनुपर्दछ।

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा बुझाई नै निकै सतही हुने गरेको छ । हाल नेपाल प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद (सीटीइभीटी) अन्तर्गत रहेका विविध शैक्षिक प्रतिष्ठानहरूले व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएका छन्। यस्ता शैक्षिक प्रतिष्ठानहरूबाट उत्पादित जनशक्ति केवल अल्पकालीन तालीम लिएका जनशक्तिमात्र होइनन् । तिनीहरूले नवसिर्जना (इनोभेसन) र व्यावसायिक लाभका वस्तु उत्पादन विकासमा पनि योगदान दिन सक्छन् भन्ने कुरा प्रमाणित हुन थालेको छ।

मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले बनाएका अपांगता भएका व्यक्तिका लागि अत्याधुनिक सहयोगी सामग्रीदेखि अन्य आधुनिक प्रविधि उपकरणहरू हेर्ने हो भने यस्ता जनशक्तिप्रतिका परम्परागत धारणा परिवर्तन गर्नैपर्ने हुन्छ । यदि ती उपकरणहरूको व्यावसायिक उत्पादन र विकास गरी बजारसम्म पठाउने व्यवस्था गर्ने हो भने त्यसले विश्वबजारमा पाउने समान किसिमका उत्पादनहरु भन्दा सस्तो लागत मूल्यमा बढी सेवा प्रवाह गर्नसक्ने विश्वास गर्न सकिन्छ। यस्ता प्राविधिक तथा व्यावसायिक जनशक्तिहरूलाई परिचालनका लागि स्थानीयदेखि केन्द्र सरकारसम्म सबैले साझा दृष्टिकोण बनाउनुपर्ने बेला भइसकेको छ।

प्रकाशित समय १८:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु