fbpx
Nepal Mediciti

गृहपृष्ठ मुक्त रवि र साख संरक्षण

मुक्त रवि र साख संरक्षण

सामान्य जनको लोकचर्चा हुँदैन । असामान्य मान्छे खबरविहीन पनि हुँदैन । असाधारण मान्छे दुई प्रकारका हुन्छन् । निकृष्ट र उत्कृष्ट । यी दुवै सार्वजनिक बहसका विषय बन्छन् । यिनका सम्बन्धमा समाज र राजनीतिक वृत्तसमेत विभक्त भएको हुन्छ । आ-आफ्ना स्वार्थ र आत्मरतिमा क्रीडा गर्नु लौकिक गुण पनि हो ।

केही दिनपहिले रवि वा शालिकराम प्रकरणले मुलुक तप्त थियो । चमेना गृह, सरकारी कार्यालय, स्कुल-कलेजदेखि लिएर गृहस्थ-सन्यासीका मुखमा यही विषयको जपना थियो । अहिले विषयले विश्राम पाएको छ । रवि हिरासतमुक्त भएका छन् । उनका पक्षधरहरूले रिहा नहुन्जेल देशैभरि आफ्नो आस्था रविप्रति दर्साइरहे । एक थरी जो रविको निसानामा परेका थिए, तिनी रविलाई निस्तेज पार्न कन्धनी कसेका थिए । अर्का थरी जो उनका परमार्थी क्रियाका साक्षी र भोक्ता थिए, ती रविको छुटकाराका लागि सडकमै ओर्लिएका थिए ।

रविका सम्बन्धमा केही दिनपूर्व मैले फेसबुकमार्फत आफ्नो निरपेक्ष धारणा राखेको थिएँ । सुरुमा मैले पनि रविलाई मानवीय रूपमा हेर्न आग्रह गर्दै उनले अपराध गर्न सक्ने सम्भावना देखाएको थिएँ । आफ्नो लेखको उपसंहारमा आइपुग्दा शालिकरामको आत्महत्यापूर्वको भिडियो प्रस्तुतिमा ‘दाल मे कुछ काला है’ भन्ने जिकिर गरेको थिएँ । मेरो आशय थियो- रविको बाह्य व्यक्तित्वमा मात्रै कोही वशीभूत हुनु हुँदैन र उसको अन्तर्यलाई पनि चियाउनुपर्छ ।

एउटा सन्दर्भमा मलाई आश्चर्य लागेको थियो । सत्ताको छेउछाउमा प्रदक्षिणा गर्नेहरू रविका सत्कर्मलाई पनि बिस्टा छर्केर विष वमन गरिरहेका थिए । उनीहरू जति कुर्लिरहन्थे, त्यति नै मेरो मनमा रविमाथि षड्यन्त्रको व्यूह निर्माण हुँदै छ कि भन्ने धारणा विकसित हुन थालेको थियो । आफ्नो आलेखमा मूलत: म समरेखामा उभिए पनि मेरो अन्तश्चेतना रविकै पक्षपाती थियो किनभने उनको पक्षमा विशाल तप्का मैदानमा उभिएको थियो र त्यो तप्काले कुनै पार्टीको झन्डा बोकेको थिएन । भीडले राजनीतिक जामा लगायो भने त्यहाँ आपराधिकता अवश्यम्भावी हुन्छ, यो मेरो अनुभवसिद्ध फैसला हो । नभन्दै पुलिस-प्रशासन र रविविरोधी खेमाले सडक-संघर्षलाई भीडतन्त्रको संज्ञा दिँदै आएको थियो । त्यो वर्गले भनिरहेको थियो- न्यायलाई सडकले जबर्जस्ती कुल्चँदै छ ।

दिनहरू बित्दै गए । शालिकराम आत्महत्या प्रकरणका अनेक पाटा खुले । त्यसमा स्थानीय प्रहरी निकायका हर्ताकर्ताको समेत रविविरोधी कठोर अभिव्यक्तिले आमजनतामा झन् सन्देह पैदा गर्न थाल्यो । विगतमा पत्रकारिताकै खिल्ली उडाउने केही छापाखानाका हस्ती र तिनका कुत्सित चरित्रको भन्डाफोर गरेकाले रवि आफ्नै हमसफरबाट प्रताडित भइरहे । एक चरणमा स्थिति यस्तो आयो कि रविलाई यो वा त्यो वितण्डा रचेर कालकोठरीमा हाल्छन्, हाल्छन् किनभने सत्ताका मठाधीशहरूले जनताको आवाजलाई भन्दा स्वार्थका केन्द्रको साउतीलाई बढ्ता सुन्छन् । उनीहरू आफ्नो भजनमण्डलीलाई सच्चा नागरिक ठान्छन् र विपरीतको जमघटलाई ‘भीडतन्त्र’को पगरी लगाइदिन्छन् ।

रवि हिरासतमुक्त भए । तथापि, उनी निर्दोष भएको लगभग पुष्टि भइसक्दा पनि धरौटीको गलपासो लगाइएकाले अझै उनी पूर्णत: खतरामुक्त छैनन् । यतिखेर मृतक शालिकरामका जीवनका बहुपत्र सतहमा आइपुगेका छन् । धेरै मिडिया र वरपरका आवाजलाई सुन्दै गर्दा मृतकको जीवित जिन्दगी अत्यन्त विवादास्पद देखिएको छ । उनको आत्महत्या कि हत्या ? भन्ने विषय एउटा पाटो होला तर यी दुवैमा रविको प्रत्यक्ष-परोक्ष भूमिका सर्वथा निष्कलंक विदित भएको छ ।

अभियोगलाई किनारा लगाउने अभिभारा न्यायालयको हो । सडकमा भोकनिद्रा छाडेर निरन्तर रविको निर्दोषितालाई वकालत गर्नेहरूले तत्काललाई शान्तिको श्वास फेरेका छन् । तर, अन्तिम फैसला नआउँदासम्म उनलाई अझै पनि अपराधको हिस्सेदार बनाउन सकिने वातावरणमा उनका विरोधीले राम्रै कसरत गर्न सक्छन् । यो देश आखिर यही देश हो । इमान र विवेकलाई जसले जतिखेर पनि लिलामीमा राख्न सक्छ । नत्र भीमसेन थापाको मुद्दा कसरी उल्टन्थ्यो होला !

न्यायका लागि सडकमा आँसु र आवाजको पसल थाप्नुपर्ने नियति बन्दासम्म जतिसुकै ठूलो लोकतन्त्रको व्याख्यान छाँटे पनि त्यो फगत् भालुपुराण हुन्छ ।

जे होस्, यो घटनाले विश्व मञ्चमा एउटा अनौठो सन्देश प्रवाहित गरेको छ । एउटा पत्रकारले यति धेरै सहानुभूति संकलन गरेको सायद यो पहिलो घटना हो । वास्तवमा सडकमा जनताको ताँती लाग्नु र रविका निम्ति न्यायको नाराबाजी गरिनु नागरिकको सरकार-प्रहरी प्रशासन र न्यायप्रणालीसित विश्वास टुटेको संकेत पनि हो । जनताको राज्यप्रति भरोसा गुम्दै जानु भनेको राजनीतिप्रति वितृष्णा जाग्नु हो । यस्तो अवस्था आउँदा मुलुकमा अराजकता उत्पन्न हुन सक्छ ।

सबै जनताको क्रेज रविको जस्तै हुँदैन । सार्वजनिक हैसियत निर्माण नगरेका जनता दिनहुँ शक्ति र सत्ताका प्रताडनाका सिकार भइरहेका छन् । निर्मला पन्तका अभियुक्त अहिलेसम्म पहिचानमा नआउनु र उनका लागि न्याय मर्नु भनेको यो देशमा गरिबको भाउ छैन भन्नु नै हो । तसर्थ न्यायले आफैं न्याय दिन सक्ने हुनुपर्छ । न्यायका लागि सडकमा आँसु र आवाजको पसल थाप्नुपर्ने नियति बन्दासम्म जतिसुकै ठूलो लोकतन्त्रको व्याख्यान छाँटे पनि त्यो फगत् भालुपुराण हुन्छ ।

रवि अहिले जनताका नायक बनेका छन् । विपत्तिको जन्जालमा फसेका जनताको उद्धार गरेर यश आर्जन गरेका उनी खातापिताहरूका नजरमा करिस्म्याटिक जादुगर मात्र दरिएका छन् । उनका विषयमा नाना थरीका प्रश्न सतहमा देखिएका छन् । उनका विरोधी वर्गले केही त्यस्ता लाञ्छना उनीमाथि थोपरेका छन् । यद्यपि परिमाणात्मक रूपमा उनी त्यति धेरै शंकास्पद नहोलान् तर अंश रूपमा उनी कतै न कतै अपारदर्शी पनि होलान् । अब रविले आफूलाई झन् अकबरी सुन बनाउनुपर्छ । यत्रो जनताले उनलाई मसिहा ठान्नु र उनका निम्ति भोकप्यास नभनी चितवनको गर्मी खानु उनको राजकीय सम्मान नै हो । यसरी जनताको मुटुमा एक मात्र ‘तारणहार’को छवि निर्माण गरेका रविले आफ्नो साखलाई बचाइराख्नुपर्ने त्यत्तिकै चुनौती छ । त्यो चुनौती केवल प्रदर्शनपरक टेलिभिजनको प्रस्तुतिबाट मात्रै सम्भव हुँदैन, त्यसका लागि लोभ-मोहको सङ्कीर्णताबाट माथि उठ्नुपर्छ, प्रचलित कानुनको परिधिभित्र रहेर आवाजविहीनहरूको बुलन्द आवाज बनिरहनुपर्छ अन्यथा बर्खे भेल जसरी आउँछ, त्यसरी नै सुक्छ ।

(लेखक शिक्षक हुन् ।)

यो पनि पढ्नुस्

पर्यटन वर्षको आरारिरी

प्रकाशित समय १३:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु