fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजारमा अनावश्यक राजनीतिक हस्तक्षेप

सेयर बजारमा अनावश्यक राजनीतिक हस्तक्षेप

sampadakiya-newskarobar

यतिखेर देशको एकमात्र सेयर बजारमा संसदीय समितिले अनावश्यक हस्तक्षेप गरेपछि आर्थिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । खास विवाद बैंकहरूलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिने कि नदिने भन्ने विषयबाट उत्पन्न भएको हो । बैंक आफैले सेयर बजारमा आएर कारोबार गर्ने भने होइनन्, तिनले सहायक कम्पनी खोलेर आवश्यकताअनुसार विज्ञ जनशक्तिसमेत नियुक्त गरि सेयर बजारमा मध्यस्तकर्ताको कारोबार गर्ने हुन् । नेपालको सेयर बजार हिजोजस्तो सेयर बजारमै गएर फलानो कम्पनीको यति रूपैयाँ भनेर कारोबार गरिने ‘ओपन क्राइ सिस्टम’मा आधारित छैन ।

कुनै पनि कम्पनीको प्राथमिक सेयर किन्नका लागि पहिलाजस्तो बिक्री प्रबन्धकको कार्यालयमा दिनरात लाइन बस्नु पनि पर्दैन । बैंकहरूमार्फत् नै खोलिएका सी-आस्वा प्रविधिमार्फत तत्कालै आवेदन गर्न सकिन्छ । धितोपत्र दलालहरूले उक्साएको भरमा जुन ढंगले संसदको अर्थसमितिले अध्ययन समिति बनाउने र अप्रत्यक्ष ढंगले बैंकलाई ब्रोकर लाइसेन्स नदिन नेप्सेलाई दबाब दिने काम गर्‍यो, यसले भर्खर फस्टाउँदै गएको नेपालको सेयर बजारमा दीर्घकालीन असर पार्ने पक्का छ ।

अहिले बैंकहरूलाई सेयर कारोबारका मध्यस्तता कम्पनी खोल्न नदेऊ भनेर अर्थसमितिलाई उक्साउने धितोपत्र दलालहरूले भोलि अनलाइनमा आधारित कारोबार पनि रोकिदेऊ भनेर सांसदलाई उकास्लान् अनि सेयर बजारबारे शून्य ज्ञान भएका सांसदले तत्कालै रोकिदेउ भनेर निर्देशन जारी गर्लान् । त्यसो नगर्लान् भन्न सकिने आधार  छैन किनकि उपसमितिकी संयोजक स्वयंले बैठकमै सेयर भनेको के हो ? यसको कहाँ गएर कसरी कारोबार गर्ने ? भनेर प्रश्न गरेकी छिन् । जनमत पाएर सांसद बनेका धेरै सांसद धेरै छन् तर तिनले आर्थिक मामिलामा पटक्कै बुझेका हुँदैनन् र सबै कुरा बुझेको भ्रम पाल्छन् । यस्तो प्रवृत्तिले देशको सेयर बजारलाई विस्तार गर्ने होइन, खुम्च्याउने काममात्र गर्छ ।

सेयर बजारबारे प्रायः राजनीतिक नेताहरूको धारणा नकारात्मक नै रहने गरेको छ । आर्थिक मामिला बुझ्छन् भनिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा सेयर बजारलाई ‘जुवाघर’ भन्ने खालको अभिव्यक्ति दिएपछि लामो समयसम्म सेयर बजार ओरालो झ-यो । यो प्रवृत्तिमा अझै सुधार भएको छैन । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा आफैं अर्थशास्त्री भए पनि सेयर बजारप्रति पूरै नकारात्मक छन् भन्ने गरिन्छ ।

वर्तमान सरकार गठन भएदेखि नै सेयर बजार मापन गर्ने परिसूचक नेप्से लगातार ओरालो लाग्दै गएको छ । हालसम्म लगानीकर्ताले बजारबाट अर्बौं रुपैयाँ गुमाइसकेका छन् । यस्तो अवस्थामा सरकारले वा संसदले लिन जुनसुकै कदमको पनि बजारमा उल्टो प्रभाव पार्न सक्छ । नेपाली सेयर बजारका कुरा गर्दा लगानीकर्ता सचेतना बढाउनुपर्ने आवश्यकता औंल्याउने गरिन्छ, किनकि उनीहरू सेयर बजार लगातार तल झर्दै जाँदा अतालिने गर्छन् तर अहिलेको अवस्था हेर्दा पहिला सांसदलाई सेयर बजार शिक्षा दिनुपर्ने खाँचो छ ।

सेयरको कारोबार गर्नका लागि विगतमा जस्तो स्टक एक्सचेन्जको फ्लोरमा नै पुग्नुपर्ने वा धितोपत्र दलालको कार्यालयमा नै जानुपर्ने अवस्थाको अन्त्य भइसकेको छ । अब घरैमा बसेर अनलाइनमा आधारित भएर सेयर कारोबार गर्न सकिन्छ । यस्तो अवस्थामा संस्थागत निकायलाई निरुत्साहित गर्ने होइन, तिनको प्रवेशका लागि नीतिगत र कानुनी सहजीकरण गर्नुपर्ने अवस्था छ । साथै स‍ेयर बजारमा स‌ंस्थागत लगानीकर्ता भित्र्याउनका लागि समेत अब खुला हृदयले छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि कानुन निर्माता सांसदहरूले कसैका आग्रह वा पूर्वाग्रहका आधारमा सतही छलफल गरेर सोहीअनुसारको निष्कर्ष निकाल्ने होइन, बजार विज्ञसमेतका राय लिनु जरुरी छ ।

प्रकाशित समय १८:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु