fbpx
Nepal Mediciti

गृहपृष्ठ सुन बजारमा सतर्कता

सुन बजारमा सतर्कता

sampadakiya-newskarobar

एक सातायता नेपाली बजारमा सुनको मूल्य अत्यधिक बढेको छ । बिहीबारसम्म प्रतितोला ७० हजार रुपैयाँ पुगिसकेको सुनको मूल्य अझ बढ्दै जाने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नै सुनको मूल्य बढ्दै गएकाले यहाँ पनि मूल्य बढिरहेको छ । सामान्यतः अहिले सुन किनमेलको मौसत हो । तीजको समयमा नेपाली महिलाले सुन किन्ने गर्छन् तर अहिले जुन ढंगले मूल्य बढेको छ, त्यसले खरिदभन्दा बिक्रीको चाप बढेको छ ।  सुनको मूल्य बढेका बेला किन्नु होइन, बेच्नु बुद्धिमानी हुनेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार देशभर अहिले करिब २५ सय सुनका गहना विक्रेता छन् । सुनको मूल्य बढेसँगै बजारमा किनबेचमा असर पारिरहेको छ र यो क्रम कहिलेसम्म जारी रहन्छ भन्नसक्ने अवस्था नहुँदा बजारमा अन्योल पनि बढेको छ । नेपालको वस्तु (कमोडिटी) बजार पूर्ण सक्रिय छैन, त्यसैले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण यहाँको बजारको वस्तुस्थिति आंकलन गर्नुपर्ने अवस्था छ ।

विश्वमा अमेरिका र चीनबीच बढेको व्यापार तनाव, अमेरिकी डलरको अवमूल्यन, विश्व पेट्रोलियम बजारको अनिश्चितता, क्षेत्रीय तनाव र आन्तरिक कर नीतिजस्ता कारणहरूले सुनको मूल्य बढाएको हो । सुनको बढ्दो मूल्यमाथि नियन्त्रण हाम्रा हातमा छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कहिले घट्छ भनेर पर्खनुको विकल्प हामीसँग छँदै छैन । सुन अत्यावश्यक नभइ नहुने सामग्रीभित्र पनि पर्दैन, त्यसैले अहिले मूल्य बढेर इतिहासकै उच्च स्तरमा पुगेको बेला सुन किन्न हतारिनुभन्दा केही समय पर्खनु नै बुद्धिमानी हुनेछ ।

सुनलाई विश्वभर नै कागजी मुद्राभन्दा बलियो सम्पत्ति मानिन्छ । कागजी मुद्राको प्रचलन हुनुभन्दा पहिला सुन नै मुद्राका रुपमा लेनदेनसमेत हुनेगर्थ्यो । अहिले पनि सुन जुनसुकै बेला बिक्री हुने/बिक्री गर्न सकिने साधनका रूपमा मानिन्छ । त्यसैले सुन किनेर त्यसलाई सञ्चित गर्ने क्रम पनि बढेको छ । व्यक्तिले मात्र होइन, राष्ट्रहरूले पनि यसरी सुन किनेर सञ्चितिमा राख्ने गरेका छन् । छिमेकी मुलुक चीन र भारत विश्वकै सर्वाधिक सुनको खपत हुने देशहरूमध्येमा पर्छन् । चीन र अमेरिकाबीचका व्यापार तनावसँगै अमेरिकी डलर कमजोर हुँदै जाँदा आफ्नो अर्थतन्त्र कमजोर नहोस् भनेर विश्वका धेरै मुलुकका केन्द्रीय बैंकले अहिले सुनको सञ्चिति बढाउँदै लगेका छन् । यसले विश्व सुन बजारमा आपूर्तिजन्य चाप सिर्जना गरेको छ । यो पनि सुनको मूल्य बढाउने कारण हो ।

सरकारले सुनलाई विलासी वस्तुमा राखेर यसको आयातमा लाग्ने भन्सार दर बढाएपछि यहाँ केही हदसम्म मूल्य बढाउन भूमिका खेलेको छ । आन्तरिक बजारमा सुनको माग दैनिक ४० किलो भए पनि बैंकमार्फत् २० किलो आयात भइरहेको छ । बाँकी सुन अनौपचारिक बजारबाट आपूर्ति हुने गरेको छ । यसरी सरकारले बढाएको करको प्रभाव आन्तरिक बजारको आपूर्तिमा खासै परिरहेको भने देखिँदैन । बैंकहरूमार्फतको सुन अहिले बिक्री हुन नसकिरहेको अवस्थामा सरकारले सम्भव हुन्छ भने करमा केही सहुलियत दिएर बढ्दो बजार मूल्यको मर्कामा केही राहत दिनु जरुरी छ ।

प्रकाशित समय १३:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु