fbpx
Nepal Mediciti

गृहपृष्ठ भान्सामा विष पकाउने कि अमृत !

भान्सामा विष पकाउने कि अमृत !

हाम्रो घरको पाकशाला स्वयंमा औषधालय हो । बहुगुणकारी औषधीय गुणले युक्त मसला, जडिबुटी, खनिज, लवण आदि तत्वले भरिएका सामग्री हामी नियमित प्रयोग गर्दै आएका छौं । जीवनलाई अमूल्य र सुस्वास्थ्य राख्ने महत्वपूर्ण कडी नै हाम्रो खानपान र आहारबिहार नै हो ।

पाकशाला व्यवस्थापन र खानपानका विषयमा हामीसँग हाम्रै जैविक अनुभव प्रशस्त छन् । मौसमअनुसारका फलफूल, तरकारी र पर्व विशेषका परिकार हामीले जानेर नै प्रयोगमा ल्याइरहेका छौं । वागभट्ट ऋषिले प्रतिपादन गरेका खानपानसम्बन्धी सूत्रदेखि हजुरआमा र आमाबाट पुस्तान्तरण हुँदै आएका हाम्रा मौलिक खानपान र खाद्यवस्तुलाई हामीले सम्झने, प्रयोग गर्ने र हाम्रा हराउँदै गएका तरकारीजन्य वस्तुको खोजी गर्ने बेला अब आइसकेको छ ।

हाम्रा पूर्वजले आफ्नो स्वरुप र आवश्यकताअनुसार खाद्यवस्तुको उत्पादन, भण्डारण, सञ्चय र मौसमअनुसारका तरकारी तथा फलफूलको व्यवस्थापन गर्ने गरेको हामीले देख्दै आएको विषय हो । जस्तो खानपान उस्तै बल र बुद्धि हुन्छ भन्ने कुरा स्वाभाविक हो । आजको समाजभन्दा हिजोको समाज पौष्टिक आहारमा अगाडि थियो भन्दा अस्वाभाविक नहोला । आजभन्दा हिजोका दिनमा जैविक खाद्य सामग्री र जैविक तरकारी एवं फलफूल प्रशस्त पाइन्थ्यो । तर, आज चाहे फलफूल होस् वा मौसमी तरकारी सबै विषाक्त छन् । हामी हाम्रो भान्सामा दैनिक विषादी पकाइरहेका छौं र मन्द विष आफू र आफ्ना परिवारलाई खुवाइरहेका छौं ।

आजको युगलाई विज्ञानको युग भनेर चिनिन्छ । विज्ञानले विनास ल्याउनु आफैंमा दुर्भाग्य हो । दैनिक जीवन निर्वाहका वस्तु जो मानवीय स्वास्थ्यसँग सरोकार छ, त्यसमा खेलवाड गरिनु विज्ञानको धर्म होइन । अत्यधिक रसायन, विषादीको प्रचुर प्रयोग र चरम नाफामुखी व्यापारिक प्रवृत्ति सामाजिक न्यायविरुद्धका कदम हुन् । ती र त्यस्ता काम मानवीय सम्वेदनाभित्र पर्दैनन् । विडम्बना, आजका व्यापारी, उत्पादक, विक्रेता प्रायः सबैले मानवीय धर्म बिर्सेर जे र जस्तो पनि काम र हर्कत गरिरहेका छन् । नियमनकारी निकाय सरकार यसप्रकारको कार्यलाई उपेक्षा गर्दै गैरजिम्मेवार बनेर बसिरहेको छ ।

म कविता लेख्न रुचाउने मान्छे काव्यात्मक रुपमै लेख्न मन लाग्यो ।

दैनिक उपभोग्य वस्तुहरू

सर्वसुलभ र गुणस्तरीय रुपमा

उपलब्ध गराउने दायित्व बोकेको सरकार

आफैं विष भित्र्याउँछ र विष वमन गर्छ

क्वारेन्टाइन चेक जाँचको

राजनीति कुचक्रमा

जनताका कलेजाहरू पिसिँदै छन्

जीर्ण जीर्ण बनाइँदै छन् मुटुका सिरा धमनीहरू

विषाक्त तरकारी र फलफूल बोकेर

निर्वाध भित्रिने ट्रक चालकले

कुल्चँदै छ परीक्षण केन्द्र स्थापनाको पत्र

मेरो सरकारका चालक र सहचालकहरु

सामान्य कूटनीतिक मर्यादासमेत

पालना गर्न नसकेर निरीह छन्

र, भित्र्याइरहेका छन् हाम्रा भान्साहरुमा

पेस्टिसाइटयुक्त फलफूल र तरकारीका झोलाहरू ।

हामी जनता पनि बिर्संदै छौं, आफ्नो कर्तव्य र जिम्मेवारी । गुणग्राही हुनुपर्ने हामी दोषग्राही र परनिर्भर छौं र जानाजान सेवन गरिरहेका छौं, विषयुक्त खाद्य सामग्री । हिजो हामी आफ्नै खेतबारीमा उब्जेको सागपात, तरकारी, फलफूल र खाद्यान्न खान्थ्यौं । करेसाबारीको विकास गरेर आत्मनिर्भतातर्फ उन्मुख थियौं । अहिले जस्तो बाह्रैमास सबै जातका तरकारी र फलफूलको उत्पादन र भण्डारण सर्वसुलभ थिएनन् । तिनै उत्पादित वस्तु सुकाएर ओइलाएर, खाँदेर आदि प्रक्रियाले साग, चाना, गुन्द्रुक, सिन्की, मुलाको चुल्ठी आदि तरकारी सञ्चित गर्ने आमाहरु पनि आज उही विषाक्त तरकारी खान बाध्य भएका छन् । नाङ्लाभरि सुकाइने तितौरा र मस्यौरा बिर्सेर महँगो शुल्क तिरेर रुन्चे हाँसो हाँस्दैछन् हाम्रा भान्साहरू । क्रमशः हामी आफूलगायत सबैलाई विषयुक्त तरकारी पकाएर पस्कँदै र खाँदै छौं अनि भन्दै छौं– सरकारले केही हेरेन, केही गरेन । यो दैनिक परिस्थिति र तरकारीका कालाबजारी गर्नेलाई पनि सवक सिकाउने उपयुक्त बेला हाम्रो सामु छ । यतिबेला हामीले सुझबुझ अपनाउन सक्यौं भने दीर्घकालीन लाभ हुन्छ जस्तो लाग्छ ।

मन्द विष सेवनबाट थोरै भए पनि उन्मुक्ति लिने हो भने हामीले बचेखुचेको जग्गामा तरकारी बारीको विकास गर्ने, कौसी र बरण्डामा मौसमी तरकारीका बेर्ना लगाउने । हाम्रा मौलिक तरकारी सिन्की, गुन्द्रुक, तितौरा-मस्यौरा, टुसा, लट्टे-बेथेजस्ता तरकारी खाएर बाहिरबाट आउने तरकारीलाई पूर्णरुपले बहिष्कार गर्ने र विषादी प्रयोग गर्ने किसानलाई सचेत गरी आफ्नै रैथाने जातका तरकारीलाई प्रोत्साहन गर्नु बुद्धिमानी हुन्छ ।

अर्कोतर्फ हामीले हाम्रा वन उपभोक्ता समितिसँग सहकार्य गरेर पनि तरकारीको उत्पादन बढाउन सक्छौं । तरुल, इस्कुस, कुरिलो, निउरो, कुथुर्के, चिनियाँ आदि जातका सागपात र जरा जातका तरकारी उत्पादनतर्फ ध्यान दिने र योजनाबद्ध रुपले विषादी प्रयोग गरिएका तरकारीलाई निरुत्साहित गर्नेतर्फ हामी जान सकेनौं भने विषको घडा भएर बाँच्न विवश हुनेछौं । तरकारीको कालाबजारी नियन्त्रण सरकारले होइन, हामी आफैंले गर्न सक्छौं ।

बाहिरबाट बजारमा आपूर्ति गरिएको तरकारी एक हप्ता नकिनिदिने हो भने कालाबजारिया आफैं ठेगानमा आउन बाध्य हुन्छन् । विषादी प्रयोग गरिएका तरकारीको आयु लामो हुँदैन, जति जैविक तरकारी र फलफूलको आयु लामो हुन्छ । विषादी प्रयोग गरिएका तरकारी चाँडै कुहिन थाल्छन् । परीक्षण सरकारले होइन, स्वयंसिद्ध हुन्छ ।

स्वास्थ्य विज्ञहरू भनिरहेका छन् । जनचेतना पनि चलिरहेकै छ । तर पनि हामी हाम्रो भान्सामा विष भित्र्याएर विष नै पकाइरहेका छौं । भान्सामा विष होइन अमृत पकाउने, पस्कने, खाने र खुवाउने परिपाटितर्फ अगाडि बढौं । यसैमा बुद्धिमानी छ ।

सरकार तीन तहको छ । बजेट विनियोजन आ-आफ्नै प्रकारका छन् । कृषिक्षेत्रमा विनियोजित रकम ठूलो छ । स्थानीय तहले जैविक तरकारी खेतीपातीतर्फ विशेष कार्यक्रम सञ्चालन गर्न अत्यावश्यक छ । कृषि विज्ञको स्थानीय तहमा व्यवस्थापन गरी जैविक उत्पादनमा जान ढिला भइसकेको छ । एक गाउँ एक उत्पादनको अवधारणालाई मुर्त बनाउने अभियानमा लाग्न ढिला भइसकेको छ ।

भान्साको के कुरा

तिउन त आखिर

छाक टार्ने वस्तु न हो

सरकार विषाक्त छ

भ्रष्टाचारले कर्मचारीतन्त्र विषाक्त छ

बिना विषादी विषाक्त छन्

हाम्रा मानसिकताहरू

विषादीले नछोइएको कहाँ छ र !

सेता र काला कोटहरू विषाक्त छन्

अझ विषाक्त छ राजनीति

आहार, चित्त, मन र बुद्धिबाट नै

सिर्जना हुने त हो समृद्धि

समृद्ध हुन र समृद्धि ल्याउन

भान्सालाई विषयुक्त होइन

अमृतमय बनाऔं ।

प्रकाशित समय ११:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु