fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयरको औसत लागत आधार : समस्या र समाधान

सेयरको औसत लागत आधार : समस्या र समाधान

rabindra-bhattarai-newskarobar

चोरको खुट्टा काट् भन्दा सबैभन्दा पहिला चोरले खुट्टा उचाल्छ भन्ने कतै सुनेको थिएँ । यस्तै अवस्था आज सेयर बजारमा देखिएको छ । यहाँ मालसामान वा अन्य केही चोरभन्दा पनि काम चोर र समयमा काम नगरेर पुँजीबजारको विकास र लगानीकर्ताका सुविधालाई पर धकेल्ने समयका भ्रष्टाचारीले सबैभन्दा पहिला खुट्टा उचाले ।

सरकारले चालू आवको बजेटमा घोषणा गरेको पुँजीगत लाभकर गणना गर्ने आधार जस्तो औसत लागत आधारको कानुनी आधार तय गरिदिइसकेपछि यसका सम्बन्धित निकायहरू नेपाल स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) र नेपाल धितोपत्र बोर्ड त्यसको कार्यान्वयनमा लाग्नुपर्ने थियो तर साउन १ गते आएपछि सीडीएस कम्पनीले पुँजीगत लाभकर गणनाको प्रविधि नदिई औसत लागत कसरी गणना गर्ने भन्ने उदाहरण दियो र सूत्र उसको फेसबुक पेजमा हालेर सबैभन्दा पहिला खुट्टा उचाल्यो ।

लगानीकर्तालाई आफ्नो सेयरको लागत गणना गर्ने सूत्र चाहिन्छ किनकि नियामक वा सम्बन्धित निकायले गरेको हिसाब गलत भई अन्यायमा परियो कि भनेर त्यसको कहिलेकाहीँ शंका लागेको अवस्थामा जाँच गर्नका लागि । तर, लगानीकर्तालाई हरेक पटकको कारोबारमा क्यालकुलेटर थिचेर आफैं हिसाब गर्नका लागि यो सूत्रको आवश्यकता छैन, जुन काम कम्प्युटर र त्यहाँ विकास गरिएको प्रणालीले गर्नेछ । संसारको मान्यता भनेकै यही हो । तर, दुर्भाग्य ‘समयका भ्रष्टाचारी’ले त्यो कुरा बुझ्न सकेनन् । लगानीकर्तालाई सूत्र दिए, दुःख दिए र असार-साउनको गर्मीलाई पनि जाडो मानेर छतमा उत्तानो परेर घाम तापेर बसे ।

सरकारले सेयरको लागत मूल्य औसत लागत आधारमा गणना गर्ने र साउन १ बाट त्यसको कार्यान्वयन गर्ने भनिसकेपछि तत्काल त्यसका प्राविधिक पक्षका बारेमा नेप्सेले छलफल अगाडि बढाउनुपर्ने हुन्थ्यो । साउन १ भन्दा कम्तीमा पनि १५ दिनअघि त्यसका बारेमा लगानीकर्तालाई लागत गणनाको सूत्र, प्रक्रिया, खरिद मूल्यका स्रोत तथा तथ्यांकका आधारमा जानकारी दिएर सूचना प्रकाशन गर्नुपर्थ्यो तर नेप्से र यसको शतप्रतिशत लगानी भएको सीडीएस कम्पनीले त्यसो गरेन र लगानीकर्तालाई ब्रोकर कहाँ गएर आफूले किनेको सेयरको लागत लेख्न लगाएर कबुलियतनामा गर्न लगाउने काम गर्न बाध्य बनायो । नेप्से र सीडीएसको व्यवस्थापनको यो कामले यिनीहरु अब नाङ्गो साँढेझैं भएका छन् । यिनलाई देखेर कोही नलजाए हुन्छ । सकिन्छ भने यिनलाई लाज छोप्न लगानीकर्ताका तर्फबाट केही थान भित्री बस्त्र पठाइदिए भविष्यमा अन्य लगानीकर्ताले लाजले आँखा अन्यत्र हेर्नुपर्ने हुँदैन थियो ।

डिम्याट खातामा खरिद मूल्य पनि देखिने व्यवस्था गर्न लगानीकर्ताले धेरै अघिदेखि उठाउँदै आएको विषय हो तर सीडीएसले गरेन । लगानीकर्ताले डिम्याट गरेर जम्मा गरेको दिनदेखिको सेयरको मूल्य तथा त्यसपछि थपिएका सबै सेयरको औसत लागत सीडीएसले राख्नुपर्ने हो । तर, यतिका वर्ष बितिसक्दा सीडीएसले त्यो पनि गरेन । त्यस्तै डिम्याट खातालाई प्राविधिक रुपमा धेरै सूचनामूलक बनाउन सकिन्थ्यो तर त्यो नगरी यसको व्यवस्थापन एक दुईवटा कामलाई मिडियामा बखान गर्न लगाउने र त्यसैलाई बेचेर जागिर बचाउने ध्यानमा मात्र लागेको देखिन्छ ।

साउन १ गते आएपछि सीडीएस कम्पनीले पुँजीगत लाभकर गणनाको प्रविधि नदिई औसत लागत कसरी गणना गर्ने भन्ने उदाहरण दियो र सूत्र उसको फेसबुक पेजमा हालेर सबैभन्दा पहिला खुट्टा उचाल्यो ।

सेयरको औसत लागत गणनामा संस्थापक सेयरमा समस्या छैन । जो संस्थापकले सेयर सुरुबाट होल्ड गरेका छन्, उनीहरुले हकप्रद पाए पनि वा बोनस पाए पनि औसत लागत सय रुपैयाँ नै हुन्छ । तर, दोस्रो बजारबाट कसैले संस्थापक सेयर किनेका छन् भने उनीहरुको औसत लागत फरक पर्न सक्छ । यसैले औसत लागत गणना गर्न संस्थापक सेयरका लागि कुनै दिनको मूल्यलाई खरिद वा आधार मूल्य तय गर्ने काम गरिएमा सरकारका लागि त्यो घातक हुनेछ र अर्बौं पुँजीगत लाभकर गुमाउनुपर्ने हुन्छ । संस्थापक सेयरका लागि कट अफ मिति तोकिनु हुँदैन । तर, अन्य लगानीकर्ता जसले दोस्रो बजारबाट सेयर किनबेच गरिरहेका छन्, उनीहरुको भने औसत लागत परिवर्तन भइरहेको हुन्छ । एउटा लगानीकर्ताले दोस्रो बजारमा किनबेच गरेको सम्पूर्ण सेयरको विवरण नेप्सेसँग हुनुपर्छ र लगानीकर्ताले मागेको अवस्थामा उपलब्ध गराउनुपर्छ । यिनले समस्या समाधान गर्दैनन् भने नेप्सेले हरेक लगानीकर्ताको हालसम्मको कारोबार विवरण तत्काल उपलब्ध गराउनुपर्छ । नेप्सेसँग यसको रेकर्ड हुनैपर्छ, जसका लागि हरेक कारोबारमा लगानीकर्ताले कमिसन तिरेका छन् ।

औसत लागत निर्धारणका लागि प्रविधिको विकास गर्ने सबैभन्दा मह्त्वपूर्ण काम सीडीएसको हो । सीडीएसले अहिले प्रयोग गर्दै आएको आफ्नो सफ्टवेयरमा सानो मात्र परिवर्तनले यसको समाधान निस्कनेछ । यो सफ्टवेयरमा भएको सेयरको मात्र रेकर्ड नराखी खरिद लागत र बिक्री मूल्यको पनि रेकर्ड राख्ने व्यवस्था गरिनुपर्छ । लगानीकर्ताले कुनै कम्पनीको सेयर खरिद गर्दा वा बोनस पाउँदा वा हकप्रद सेयर पाउँदा वा थप निष्कासनको सेयर प्राप्त गर्दा स्वतः औसत मूल्य निर्धारण हुने व्यवस्था यो प्रणालीमा गरिनुपर्छ । यसका साथै कमिसनको अलग्गै कोलम बनाउन सकिन्छ, जसले वर्षभरि त्यो कम्पनी वा कारोबारमा तिरेको कुल कमिसन देखाउनेछ । अर्को थप कोलममा कमिसनसहितको औसत लागत पनि देखाउन सकिनेछ ।

यसरी गरिएको प्रविधिको प्रयोगले सरकारले पाउने करमा पारदर्शिता हुन्छ, कर छलीमा कमी आउँछ र लगानीकर्ताले पनि घाटालाई सजिलै समायोजन गर्न सक्छन् र पाउँछन् । जस्तो सीडीएसको प्रणालीमा खरिद-बिक्री र नाफा-नोक्सानको सम्पूर्ण विवरण हुने भएकाले लगानीकर्ताले करको विवरण पेस गर्दा सीडीएसको सहयोगमा कर कार्यालयले लगानीकर्ताको खातामा प्रत्यक्ष रुपमा प्रवेश गरी बुझाएको विवरणको सत्यता परीक्षण गर्न सक्छ । वा कर प्रयोजनका लागि वर्षभरको कुल कारोबारको नाफा र नोक्सानको एकमुष्ट विवरण सीडीएसले लगानीकर्तालाई उपलब्ध गराउनेछ, जुन अहिले भएको मेरो सेयर खाताबाट प्रिन्ट गर्न पनि सकिनेछ । यो विवरणले नै लगानीकर्ताले तिर्नुपर्ने अन्तिम पुँजीगत लाभकर निर्धारण गर्नेछ । समग्रमा, नाफा भए कर तिर्ने वा घाटा भए त्यसलाई अर्को वर्ष हुने नाफामा समायोजन गर्न सञ्चित राख्न सकिनेछ वा अग्रिम रुपमा तिरेको कर बढी भए फिर्ता पाउने वा अर्को वर्ष समायोजन गर्न पाउने वा कम भए लगानीकर्ताले तिर्नुपर्ने व्यवस्था गर्न सकिन्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

वर्षमा चार (४) पटक लाभांश

प्रकाशित समय १२:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु