fbpx
Nepal Mediciti

गृहपृष्ठ बालबालिकालाई जंक फुड नदिऊँ

बालबालिकालाई जंक फुड नदिऊँ

sampadakiya-newskarobar

हिजोआज बच्चाले मन पराउँछ भन्ने नाममा बाबुआमाले नै बालबालिकालाई चाउचाउ, बिस्कुट, चिप्स, जुसजस्ता ‘जंक फुड’को लतमा पार्ने प्रवृत्ति बढ्दै गएको छ । टेलिभिजनहरूमा यी चाउचाउ, बिस्कुट, चिप्सलगायतका ‘जंक फुड’का उत्पादकहरूले यति धेरै आकर्षक विज्ञापन बनाएर बजाउँछन् कि अहिल्यै खाउँ खाउँ लाग्ने बनाउँछन् । वास्तवमा यी खानेकुरा नै होइनन् । केही अध्येताहरूले यस्ता खानेकुरालाई ‘पत्रु खानेकुरा’ भनेका छन्, जुन सही पनि हो । बालबालिका र अभिभावकहरूलाई झुक्याउनका लागि यस्ता खानेकुराका उत्पादकहरूले यिनमा पौष्टिकता भएको भ्रम छर्ने गरेका छन्, जसमा कुनै सत्यता छैन । भर्खरै सार्वजनिक भएको एउटा अन्तर्राष्ट्रिय अध्ययनले यस्ता जंक फुडका कारण केटाकेटीहरूमा आवश्यक पोषण नपुगेको चिन्तालाग्दो नतिजा देखाएको छ ।

जंक फुड अधिक खाने केटाकेटीहरू उमेरअनुसार नबढ्ने, तौल नपुग्ने मात्र होइन, उनीहरूको शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर भएको यो अध्ययनले देखाएको छ; किनभने यस्ता जंक फुड खाने बच्चाहरूको शरीरमा भिटामिन ए, बी र बी सिक्ससहितका आइरन, जिंक, फोलेट, क्याल्सियम, प्रोटिनसहितका पोषकतत्वको अभाव हुने गर्छ । यसले गर्दा बच्चाहरू शारीरिक रुपमा कमजोर हुने, स्मरणशक्ति कम रहने, रोग प्रतिरोधी क्षमता कमजोर हुँदा बिमारी भइरहने समस्या बढ्न थालेको छ । यसले गर्दा परिवारको स्वास्थोपचारको खर्च पनि बढेको छ ।

जंक फुडको कारणले प्रत्यक्ष लागत यतिधेरै भयावह छ कि अन्तर्राष्ट्रिय स्तरमा थुप्रै विकसित मुलुकहरूका यस्ता खानेकुराविरुद्धमा अभियान नै चल्न थालेका छन् । यस्ता खानेकुराहरूमा थाहै नदिइ मिसाइने विभिन्न किसिमका रसायनहरूले गर्दा बालबालिकाहरूमा छिटै वयस्कको जस्तो शारीरिक विकास हुने क्रम पनि बढेको छ, यो क्रम विशेषगरि अमेरिका र युरोपेली मुलुकहरूमा तीव्र रूपमा बढेपछि वैज्ञानिक अनुसन्धानकर्ताहरूले समेत यस्ता खानेकुराका विषयमा चिन्ता व्यक्त गरेका छन् । अमेरिकाका लागि अहिले अत्याधिक मोटोपन मुख्य समस्या भएको छ । यस्तै प्याकेट बन्द खानेकुरा र कोक, पेप्सीजस्ता क्याफिनयुक्त पेय पदार्थलाई नै अत्याधिक मोटोपनको कारक ठह-याइने गरिएको छ ।

चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरे, चिज बल्स, कोक, पेस्पी र विभिन्न नामका बट्टाबन्द ‘जुस’हरू हाम्रा परम्परागत खाना, खाजा र पेयका विकल्प हुँदै होइनन । यी व्यापारिक उत्पादनहरूले हाम्रा आमाहरूले घरैमा उत्पादन गर्ने लिटोको पिठो र अन्य मिठा खाद्य परिकारहरूमाथि धावा बोलेका छन् । चिनी पानी र अलिकता स्वादमात्र मिसाइएका बट्टाबन्द जुसले प्राकृतिक फलफूलका जुसको विकल्प दिन सक्दैनन् । बरु उल्टै थुप्रै किमिसका रोगमात्रै निम्ताउँछन् । छिटो बन्ने, जहाँसुकै पाइने, बनाउन र खुवाउन सजिलो आदि नाममा बालबालिकालाई यस्ता जंक फुड दिएर हामी आफैले उनीहरूलाई कमजोर बनाउँदै छौं ।

विगतमा केही विद्यालयहरूले चाउचाउ, बिस्कुट, चिप्सजस्ता जंक फुड आफ्नो विद्यालय हातामा ल्याउन, खान रोक्नेजस्ता उदाहरणीय काम गरेका थिए । कम्तिमा विद्यालय स्तरबाटै यस्ता खानेकुराका सट्टा घरमा बनाइएका खानेकुरालाई प्रोत्साहन गर्न सकिएमा त्यसबाट केही हदसम्म केही हदसम्म पत्रु खानेकुराको उपभोग रोकिन्छ । यसका साथसाथै बालबालिकाहरूका अभिभावक, विशेषतः आमाहरूलाई जंक फुडका खराबीका विषयमा सचेतना बढाउनु आवश्यक भइसकेको छ ।

प्रकाशित समय १७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु