fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार, लघुवित्त संस्था र आगामी मौद्रिक नीति

सेयर बजार, लघुवित्त संस्था र आगामी मौद्रिक नीति

gokul-adhikari-newskarobar

नेपाल राष्ट्र बैंकले केही दिनभित्रै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्दैछ । वित्तीय क्षेत्रसँग नजिकको सम्बन्ध भएको धितोपत्र बजारलगायतका क्षेत्रले मौद्रिक नीतिको व्यग्र प्रतीक्षा गरिरहेको छ ।

नेपालको धितोपत्र बजारमा बैंकिङ क्षेत्रकै हिस्सा सबैभन्दा उच्च रहेका कारण बैंक र वित्तीय संस्थाको सेयरको मूल्यमा भएको फेरबदलले धितोपत्र बजारको उतारचढावमै प्रभाव पार्छ । बैंकिङ सेवा प्रदान गर्ने वित्तीय संस्थाको सेयर मूल्यमा हुने यस किसिमको विचलन केन्द्रीय बैंकको साना-ठूला कुनै पनि नीतिगत निर्णयमा आधारित हुने गरेका छन् । यसको अर्थ नेपालको धितोपत्र बजारमा अरु कुनै वस्तुस्थितिको भूमिकै रहेको हुन्न भन्नेचाहिँ होइन ।

नेपाल राष्ट्र बैंकको बोर्डले आफूद्वारा इजाजत दिइएका वित्तीय संस्थाका लागि गर्ने कुनै पनि निर्णयको प्रत्यक्ष असर हाम्रो धितोपत्र बजारमा सोझै पर्ने गरेका कारण हाम्रो समस्त नेप्से इन्डेक्स र केन्द्रीय बैंकले गर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी गहन प्रकृतिका निर्णयबीच सोझो सम्बन्ध रहेको देखिन्छ ।

यही पृष्ठभूमिमा सरकारको वित्तीय नीतिसँग तालमेल गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलाई धितोपत्र बजारले उत्सुकतापूर्वक प्रतीक्षा गर्नु स्वाभाविकै हो । यस लेखमा भने नेपालका वित्तीय संस्थामध्ये लघुवित्त क्षेत्रमा काम गर्न भनेर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरूको गतिविधि र हाम्रो धितोपत्र बजारमा तिनको उपस्थितिका विषयमा केही उल्लेख गर्ने प्रयास गरिएको छ ।

नेपालमा यतिबेला ९३ वटा लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी कार्यरत छन् । यसबाहेक एक दर्जनभन्दा ज्यादा इजाजतको प्रक्रियामा छन् । यिनीहरुमध्ये ४६ वटा लघुवित्त वित्तीय संस्थाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् भने केही सूचीकरणको प्रक्रियामा छन् ।

हाम्रो धितोपत्र बजारमा हुने गरेको कारोबारको फेहरिस्तामा लघुवित्त संस्थाको अवस्थालाई मात्र नियाल्ने हो भने यस्ता संस्थाको उपस्थिति अरु संस्थाको तुलनामा अलि विशिष्ठ प्रकारको देखिन्छ । हुन त, चुक्तापुँजीको दृष्टिले यिनीहरु नेप्सेमा सूचिकृत धेरैवटा कम्पनीको तुलनामा साना कम्पनी मानिन्छन् । तर, धितोपत्र बजारमा धेरैजसो लघुवित्त संस्थाको साख र महत्व अर्बौं रुपैयाँ चुक्तापुँजी रहेका वित्तीय संस्थाको भन्दा उच्चकोटीको छ ।

न्यूनतम पनि आठ अर्ब रुपैयाँ चुक्तापुँजी रहेका र राष्ट्रिय स्तरको कार्यजालो रहेका वाणिज्य बैंकहरुले स्थापना र प्रवर्धन गरेका यस्ता लघुवित्त वित्तीय संस्थाको सेयर खरिद-बिक्री मूल्य संस्थापक कम्पनीको भन्दा दोब्बर तेब्बर बढी हुने गरेकोे छ । यसको अर्थ, नेपालमा लघुवित्त वित्तीय संस्थाको साख उच्च छ भन्ने नै हो । त्यस्ता कम्पनीप्रति जनसाधारणको विश्वास दरिलो छ र यिनका क्रियालापबाट लगानीकर्ता सन्तुष्ट छन् ।

यी संस्थाले लगानीकर्ताको यति धेरै विश्वास प्राप्त गर्नुको कारण यिनको स्थायित्व, पारदर्शिता, उच्च गुणस्तरको कर्जा र इमानदार ऋणी सदस्य, नियमक निकायको दरिलो नियन्त्रण अनि यिनले नियमित रुपमा प्रकाशित गर्ने वित्तीय विवरणमा रहेका आकर्षक परिसूचकहरू हुन् ।

विगतमा नेपालका केही वित्तीय संस्थाको स्वास्थ्य बिग्रँदै गएपछि समास्या समाधान गर्न कहिले नियामक निकायबाट व्यवस्थापनमा हस्तक्षेप गर्नुपरेको, कहिले विदेशी विज्ञ झिकाई व्यवस्थापनलाई नै करारमा दिनुपरेको र कहिले एक संस्थालाई अर्काेसँग गाभ्नुपरेको थियो । ती वित्तीय संस्थाहरू समस्याग्रस्त हुनपुग्नुका धेरैवटा कारणमध्ये सबैभन्दा महत्वपूर्ण कारण खराब कर्जाको आकार बढ्दै जानुलाई लिइएको थियो । विगतको यो भोगाइका आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने वित्तीय संस्थामा खराब कर्जाको आकारलाई बेलैदेखि नियन्त्रणमा राख्न नसक्ने हो भने यिनको भविष्य दीर्घकालसम्म सुखद र स्वस्थ्य रहन सक्दैन ।

हाम्रा लघुवित्त संस्थालाई हालसम्म खराब कर्जाको रोगले छोइसकेको देखिन्न । नेपालका वित्तीय संस्थामध्ये सबैभन्दा कम खराब कर्जा भएका संस्थाको रुपमा लघुवित्त वित्तीय संस्थालाई लिने गरिन्छ । यस्ता संस्थामा खराब कर्जाको अंश औसत २ प्रतिशतभन्दा कम रहेको तथ्यांकहरूले देखाउँछन् । यसो भन्दैमा यी संस्थाको अवस्था यही सीमाभित्र मात्रै सधैं रहिरहन्छ भनेर ढुक्क भएर बस्न सक्ने स्थिति भने छैन ।

लघुवित्त संस्थाबाट कर्जा लिने ऋणी सदस्यहरुको औसत प्रवृत्तिलाई हेर्ने हो भने यी संस्थाको कर्जाको गुणस्तर कुनै पनि बेला खस्कन सक्ने सम्भावना देखिन्छ । भोलिका दिनमा यस्ता संस्थाको कर्जाको गुणस्तर दरिलो हुनसकेन भने त्यसका लागि तोकिएको प्रतिशतले हुने रकम कर्जा नोक्सानी व्यवस्था भनी खर्च देखाउनुपर्नेछ । जसले ती संस्थाको वित्तीय विवरणमा नाफाको अंशलाई न्यून तुल्याइदिन्छ । त्यतिबेला यी संस्थाको वित्तीय विवरणभित्र रहेको वास्तविक नाफाको प्रत्यक्ष प्रभाव धितोपत्र बजारमा पर्ने गर्छ । फलस्वरुप आजका दिनमा कायम रहेको यिनको साख र गरिमा त्यतिबेला हाम्रो धितोपत्रको बजारमा नरहन सक्छ ।

पछिल्ला दिनहरुमा देखिएको ऋणी सदस्यको प्रवृत्तिलाई हेर्दा यो अवस्था नआउला भन्न सकिन्न । अधिकांश ठाउँमा एउटै ऋणीले तीन-चारवटा लघुवित्त संस्थाका समूहमा आबद्ध भएर सबैबाट कर्जा लिने गरेको अवस्था छ । ती सबै संस्थाबाट लिएको कर्जा रकमले ठूलो पुँजी निर्माण गरी ठूलो आकारको परियोजना सञ्चालन गर्ने कोही कोही ऋणीले राम्रै आम्दानी गरेर सबै संस्थामा तिर्नुपर्ने किस्ता रकम समयमै फर्काउने गरेका छन् र यसबाट सकारात्मक परिणाम पनि देखिएको छ । तर, लघुवित्त वित्तीय संस्थाका ऋणीहरुमा यस किसिमको अवस्था थोरैमा मात्र कायम रहेको देखिन्छ । कतिपय ऋणीहरुले त एउटा संस्थाबाट कर्जा लिएर अर्को संस्थाको किस्ता तिर्नेसम्मका काम पनि गर्ने गरेका छन् ।

हाम्रो लघुवित्त क्षेत्रको कर्जा प्रवाहमा देखापरेको यस किसमको बहुबंैकिङको अवस्थाले हालसम्म कुनै समस्या उत्पन्न गरिसकेको देखिँदैन । सबै संस्थामा सबै ऋणीको किस्ता नियमित रुपमा उपलब्ध हुनेगरेको छ । एउटा लघुवित्त संस्थाको कर्जाको किस्ता अर्काे लघुवित्त संस्थाबाट लिएर तिर्ने अभ्यासले कुनै पनि संस्थामा खराब कर्जाको अवस्था आइपरेको देखिँदैन ।

एउटा समयावधिसम्म र समस्या आइनपरुन्जेल त ती ऋणीहरु नियमित रुपमा किस्ता बुझाउने इमानदार सदस्यका रुपमा देखापरिरहनेछन् । तर, कुनै पनि बेला ती ऋणीमात्र होइन, त्यससँगै उनीहरुलाई यसरी कर्जा प्रदान गर्ने लघुवित्त संस्था पनि समस्याको भड्खालोमा एकसाथ पर्ने अवस्था नआउला भन्न सकिन्न ।

यही सम्भावनालाई मध्यनजर गरेर त्यस किसिमको समस्या भित्रिनुअगावै उपचारको कदम चाल्ने प्रयास आरम्भ गर्नु आवश्यक देखिन्छ । बहुबैंकिङ वा कर्जामा दोहोरोपनको समस्या हल गर्न कर्जा सूचना संयन्त्रको निर्माण आवश्यक छ । यसका लागि लघुवित्त संस्थाहरुबीच मात्र कर्जा सूचना प्रवाह गर्ने अलग्गै संस्थागत स्वरुप निर्माण गरिनुपर्छ । हुन त लघुवित्त संस्थामा मर्जरको अभ्यास गर्न थालिएपछि यस किसिमको समस्या केही हदसम्म आफैं न्यून भएर जाने विश्वास गरिएको छ । सूचना प्रवाह संयन्त्रको निर्माण गरी सूचनालाई चुस्त बनाउन सकिएन भने मर्जरको अभ्यासपछि पनि समस्या जहीँको त्यहीँ रहन्छ । नेपालको लघुवित्त क्षेत्रलाई दरिलो तुल्याउन यो आवश्यकतालाई पनि आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिन्छ ।

नेपालका लघुवित्त वित्तीय संस्थामा रहेको कर्जाको गुणस्तर र त्यसले निम्त्याउन सक्ने समस्याका सम्बन्धमा यस किसिमको अवस्था रहिरहेको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि छिट्टै मौद्रिक नीति जारी गर्दै छ । मर्जरसम्बन्धी चिन्तनमै ज्यादा केन्द्रित जस्तो देखिएको केन्द्रीय बैंकले जारी गर्ने मौद्रिक नीतिले लघुवित्त क्षेत्रका बारेमा पनि विगतका मौद्रिक नीतिमा झैं केही उल्लेख गरेकै हुनेछ । उक्त नीति जारी भएपछिका दिनमा हाम्रा लघुवित्त संस्थाको संख्या अहिलेकै स्थितिमा रहे पनि वा उक्त मौद्रिक नीतिको भावनाअनुरुप एकअर्कामा गाभिएर न्यून रहने अवस्था भए पनि कर्जाको गुणस्तरमा रहेको जोखिमतर्फ भने सजग रहन आवश्यक छ । यसो गरिए मात्र वित्तीय विवरणमा आधारित यिनको उचाइ र धितोपत्रबजारमा रहेको यिनको साखलाई निरन्तरता दिन सकिन्छ ।

(अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक हुन् ।)

प्रकाशित समय १२:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु