fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अनुचित भारतीय दबाबमा झुकेको सरकार

अनुचित भारतीय दबाबमा झुकेको सरकार

sampadakiya-newskarobar

यतिबेला सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको क्वारेन्टाइन र विषादी परिक्षणपछि मात्र नेपालमा भित्रन दिने निर्णय गरेपछि भारतीय राजदूतावासले सरकारलाई पत्र नै लेखेर त्यो निर्णय फिर्ता लिन दबाब दियो । आफूलाई राष्ट्रवादी कहलाएर, नाकाबन्दीका बेला अडान देखाएर जनमत पाएको केपी ओलीका सरकार पनि भारतीय दबाबका सामु टिक्न सकेन ।  यो अचाक्ली भारतीय दादागिरीको उदाहरण हो । नेपालले मात्र होइन, विश्वका जुनसुकै मुलुकले पनि आफ्नो देशभित्र आयात हुने वस्तुहरू खासगरी जीवित पशुपक्षी, वनस्पति तथा मानिसबाट कुनै पनि किसिमको संक्रमणकारी रोगब्याधी महामारी नफैलियोस् भनेर मुलुकाको प्रमुख भन्सार प्रवेश विन्दुमा नै क्वारेन्टाइन परीक्षण अनिवार्य नै गरेका हुन्छन् ।

नेपाल–भारतबीचको खुला सीमाना भन्दै दशकौंदेखि नेपाल सरकारले यसमा केही खुकुलो व्यवस्था गर्दै आएकोमात्र हो । अन्तर्राष्ट्रिय क्वारेन्टाइनको जाँच दुई देशबीचका सीमाविन्दु, हवाई उड्डयन स्थल र बन्दरगाहहरूमा हुने गरेको छ । यदि कुनै यात्रु अथवा उसले बोकेर ल्याएका कुनै जीवित वस्तु वा पदार्थबाट संक्रमकरोग फैलनेसक्ने अवस्था देखिएमा त्यस्ता व्यक्ति बोकेर आएको जहाजलाई नै ४० दिनसम्म रोकेर राख्न सकिने प्रावधान यसमा हुन्छ । भारतले त ‘प्लान्ट क्वारेन्टाइन’ र ‘एनिमल क्वारेन्टाइन’ भन्ने फरक फरक संयन्त्रहरू नै गठन गरिएका छन्, भारतभरिमा ५० वटा प्लान्ट क्वारेन्टाइन परीक्षण कार्यालय र मुख्य ६ वटा ‘एनिमल क्वारेन्टाइन’ परीक्षण संयन्त्रहरू छन् । नेपालले पनि पाँच वटा क्षेत्रीय प्लान क्वारेन्टाइन कार्यालयका अलावा ९ वटा प्लान्ट क्वारेन्टाइन चेकपोस्टहरू स्थापना गरिसकेको छ ।

सरकारले हालै नेपाल राजपत्रमा प्रकासित सूचनामा भारतीय आपत्ती भनेको नेपालले भारतबाट आयात हुने तरकारी र फलफूलमा जैविक विषादीको परीक्षण गर्न थालेपछि भारतीय किसानहरू मर्कामा पर्छन्, अहिलेसम्म जसरी आयात भइरहेको थियो, त्यसरी आयात हुन दिनुपर्छ भन्ने नै हो । नेपालीहरूले भान्सा घरमा पाकिरहेको मन्द विष बिनापरीक्षण उपयोग गर भन्ने भारतीय दबाबमा परेर मन्त्रिपरिषदले जसरी अस्वभाविक ढंगले जनहितका पक्षकाे निर्णयसमेत फिर्ता लिएको लिएकोछ, त्यसले सरकारका चरित्र उजगार भएको छ । सरकार अहिले एक कदम अगाडि २ कदम पछाडिका ढंगले जसरी चलिरहेको छ । त्यसले दुई तिहाइको जनमतको धज्जी उडाएको छ ।

नेपालमा बढ्दो क्यान्सरका कारण खोज्दै जाने हो भने भान्सामा पाक्ने गरेको मन्द विष नै मुख्य कारण भएको फेला पर्छ । यस कुराको पुष्टि गर्नका लागि काभ्रेपलान्चोकको धुलिखेल र पाँचखालका कृषकहरूमा गरिएको अध्ययन नै पर्याप्त छ । २०७१ सालमा कालीमाटीमा जैविक विषादी अवेशष विश्लेषण प्रयोगशालाको स्थापना गरेर नियमित विषादी परीक्षण गर्दा करिब २० प्रतिशत तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको अनुपात रहेको र बिक्रीका लागि आइपुग्ने तरकारीमा ४५ प्रतिशतमा विषादीको अनुपात रहेको पाइएको थियो । नेपालभित्र उत्पादित तरकारीका हालैका दिनहरूमा विषादीका अनुपात कम भए पनि भारतबाट बिनाजाँच निर्वाध यस्तो तरकारी नेपालीहरूको भान्सा भान्सामा आइपुग्छ ।

भारतीय दूतावासले लगाएको मुख्य आरोपमध्ये सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने केन्द्र नै छैनन् भन्ने देखिएको छ, तर कृषि सूचना महाशाखाका विवरणअनुसार नेपालका सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण केन्द्र छन् । प्रदेश नं. १ मा झापाको विर्तामोडमा, प्रदेश नं. २ मा सर्लाहीको नवलपुरमा, प्रदेश नं.३ मा काठमाडौंको कालिमाटीमा, गण्डकी प्रदेशको कास्कीको पोखरामा, प्रदेश नं. ५ मा रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्जमा यस्ता केन्द्र छन् । सुदूरपश्चिम प्रदेशको कैलालीको अतरियामा यस्तो केन्द्र छ । परीक्षण केन्द्र नभएको प्रदेश भनेको कर्णाली प्रदेशमात्रै हो । त्यसैले सरकार बिनापरीक्षण भारतीय तरकारी र फलफूल नेपाल भित्र्याउन दिनुपर्छ भन्ने भारतीय दबाबका सामु झुकेर जुन लाचारी देखायो, यसले सरकार जनताको हितका लागि अडान देखाउन सक्ने हैसियत गुमाएको प्रष्ट भएको छ ।

प्रकाशित समय १७:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु