fbpx
Nepal Mediciti

गृहपृष्ठ सिँचाइ र मलबिनाको कृषि आधुनिकीकरण !

सिँचाइ र मलबिनाको कृषि आधुनिकीकरण !

sampadakiya-newskarobar

केही वर्षयता हरेक वर्षको असार १५ गते ‘राष्ट्रिय धान दिवस’ मनाउने औपचारिक कार्यक्रमहरू यस वर्ष पनि दोहोरिएका छन् । विगतका वर्षहरूमा कतै गमलामा त कतै कार्पेटमा बोरामा माटो छरेर धान रोपाइँको नाटक मञ्चन गर्ने गरिएकोमा यस वर्ष ठ्याक्कै त्यस्तै नदोहोरिएको भए पनि कतै नेताहरूले हलो जोतेको नाटक देखाए त कतै रोपाइँ जात्राका नाममा गाईजात्रा नै मञ्चन गरियो ।

सामाजिक सञ्जालहरू हेरिनसक्नु भएको छ, घाँटीभरि धानका बेर्नाको माला लगाएकादेखि चलचित्रका कलाकारहरू, पर्यटकहरू हिलोमा डुबुल्की खेलेर गरेका फोटोसेसनले किसानहरूलाई गिज्याइ रहेको छ । बाजागाजासहित एक दिन आयोजना हुने ‘राष्ट्रिय धान दिवस’मा फोटो खिचाउनका लागि मन्त्री, सांसदहरूसहितका नेताहरू, चलचित्रका कलाकार–सेलिब्रेटी, सरकारका कर्मचारीहरूदेखि अरु बेलामा खेतमा पस्दा हिलो लाग्छ कि भनेर परपरै बस्ने, भर्खर खेतबाट फर्केर आएको किसानलाई अलि पर बस्नुस् भन्ने व्यापारी र अन्य सुकिला–मुकिलाहरू पनि पुगेका हुन्छन् ।

वर्षमा ३६४ दिन कृषि र किसानलाई बेवास्ता गर्ने अनि असार १५ का दिन तामझामका साथ मनाइने ‘राष्ट्रिय धान दिवस’ले किसानको जीवनमा के फरक पार्‍यो? उनीहरूको खेती–किसानमा के फरक ल्यायो त? किसानहरूले नै सोधीखोजी गर्न थालेका छन् । नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)का केही हाकिमहरूको लहडको भरमा सुरु गरिएको ‘राष्ट्रिय धान दिवस’को औचित्यबारे अब सरकारले प्रष्ट पार्नु जरुरी भइसकेको छ, किनभने यो दिवसले मर्यादा पाउनुभन्दा उल्टै बदनामी कमाइरहेको छ । यदि किसानको सम्मान, कृषि पेशाको सम्मानका लागि यो दिवस मनाउन थालिएको भए, किसानलाई प्रमुख अतिथि बनाइनु पर्थ्यो ।

देशभरिमा धेरै धान फलाउने किसान, रैथाने धान जोगाउने किसान, धान खेतीमा आधुनिकीकरण भित्र्याउने किसान, कृषिमा नयाँ प्रविधिको अनुसन्धान र विकास गर्ने व्यक्तिलाई पहिचान गरेर सम्मानित गर्ने परम्परा बसाइनु पर्थ्यो । यहाँ त उल्टै नगरपालिका र गाउँपालिकाका मेयर–उपमेयर, नेता, सरकारी हाकिमहरूलाई बोलाएर फूलमाला लगाइदिने, धानको बीउको माला पहिर्‍याइ दिने, कुर्सीमा बिराजमान गराउने, दही चिउरा खुवाउने काम भइरहेको छ; मानिलिऊँ देशको कृषि क्षेत्रमा तिनकै कारणले देशको कृषि क्षेत्रमा रातारात प्रगति भइरहेको छ ।

कतिसम्म लाजमर्दो अवस्था आयो भने यस वर्ष समयमा नै मनसुन सुरु नभएपछि आकासे पानीका भरमा खेती–किसानी गर्दैर् आएका किसानहरूलाई पम्पसेटबाट एक दिन पानी आपूर्ति गरेर जबर्जस्ति धान दिवस मनाउन लगाइयो । किसानले यतिबेलासम्म न पर्याप्त रसायनिक मल पाएका छन्, न त सिँचाइको भरपर्दो व्यवस्था गरिएको छ, न उत्पादित धानको राज्यले उपयुक्त समर्थन मल तोकिदिन्छ, अनि एक दिनको धान दिवसको तामझामले किसान वाक्कदिक्क भइसकेका छन् ।

धान नेपालको प्रमुख अन्न बाली हो । यसले कुल कृषि उत्पादनमा २१ प्रतिशत योगदान दिन्छ । धानको उत्पादन १० प्रतिशतले बढ्दा नेपालको आर्थिक वृद्धिदर पनि १ प्रतिशतले बढ्ने कृषि विज्ञहरू बताउँछन् । धानको यत्रो ठूलो महत्व र योगदान हुँदाहुँदै पनि राज्यले आवश्यक प्राथमिकता दिन नसक्दा, धेरै फल्ने जातका बीऊ तथा रसायिनक मल र विषादी पर्याप्त उपलब्धता नगराउँदा एवम् सिँचाइको व्यवस्था गर्न नसक्दा यसको उत्पादन आशातीत रुपमा बढ्न सकेको छैन । त्यसैले हरेक वर्ष देशले २५ देखि ३० अर्ब रुपैयाँबराबरको धान–चामल किनेर खान बाध्य भएको छ ।

धान दिवस मनाउन थालेको १६ वर्षमा केबल नारामा मात्रै यस क्षेत्रको आधुनिकीकरण गरियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा आउँदो आर्थिक वर्षका लागि ८ अर्ब बजेट छुट्याइएको छ । प्रदेश सरकार र स्थानीय तहहरूले पनि सिँचाइमा प्राथमिकता दिएर कम्तिमा २०७६ को वर्षलाई साँच्चिकै कृषि आधुनिकीकरण र रुपान्तरणको वर्ष बनाएमात्र यस्ता दिवसको अर्थ रहन्छ ।

यो पनि पढ्नुहोस्

सरकार धान दिवस मनाउँदै, किसान आकाशको पानी कुर्दै

प्रकाशित समय १८:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु