fbpx
Nepal Mediciti

गृहपृष्ठ चामल उब्जाउने कि विदेशी किनेर खाने ?

चामल उब्जाउने कि विदेशी किनेर खाने ?

sampadakiya-newskarobar

नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य भएको डेढ दशक पूरा भएको छ । मुलुक डब्लूटीओको सदस्य भएपछि देशको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुने जुन हौवा पिटाइएको थियो । आज डेढ दशकपछि फर्केर हेर्दा नेपालले के पायो भन्ने विश्लेषण गर्दा पाएको भन्दा गुमाएको अंश धेरै देखिन्छ । देशको कृषि क्षेत्र चौपट नै भयो । साना तथा घरेलु उद्योगहरू हजारौंको संख्यामा बन्द हुन पुगे । देशको ढोका विदेशी वस्तुका लागि पूर्ण रूपमा खुल्ला भयो ।

विदेशी उत्पादनको बाढीले स्वदेशी उत्पादनलाई पूरै धराशाही बनायो । आयातको राशि १२ खर्ब ६० अर्ब रुपैयाँभन्दा नाघ्दा देशको निर्यात भने ७० देखि ८० अर्ब रुपैयाँको बीचमा मात्रै रहन पुग्यो । यसले व्यापार घाटा ११ खर्ब रुपैयाँभन्दा नाघेको छ । आयात व्यापार घट्नेभन्दा दिन–प्रतिदिन बढ्दै गइरहेको छ । आयातको सूची निकै लामो छ । नेपालले के कस्ता वस्तुहरू आयात गर्छ भन्ने प्रश्नभन्दा पनि अब यहाँ के वस्तुचाहिँ आयात हुँदैन भन्नु पर्ने अवस्थामा हामी पुगिसकेका छौं ।

हाम्रा खेतबारीमा फल्ने धान–चामल, गहुँ, मकैदेखि कोदोसम्म, जिउँदा खसीबोकादेखि सुंगुरको मासुसम्म, बियर र ब्रान्डेड रक्सीहरूदेखि लिएर कोदाको छ्याङसम्म आयात गरिरहनु परेको लाजमर्दो अवस्थामा हामी पुगिसकेका छौं । कतिसम्म लज्जास्पद स्थिति छ भने केही चिनियाँ कम्पनीले एभरेष्ट वाटर भनेर सगरमाथाका हिमतालहरूको पानी बोतलमा प्याक गरेर विदेशमा बेचिरहेका बेला हामी भने विदेशबाट पानी आयात गरेर खाइरहेका छौं ।

देशले गर्ने आयातीत वस्तु सित्तैमा आउँदैनन्, त्यसका लागि आर्जन हुनु पर्‍यो । निर्यातबाट कमाएको पैसा त यति थोरै छ कि पेट्रोलियम पदार्थ किनेको आधा पैसा पनि चुकाउन पुग्दैन । यस्तो अवस्थामा देशभित्र आन्तरिक आर्थिक गतिविधि, पर्यटन र रेमिट्यान्स कमाएको पैसा नै हो विदेशको आयातका लागि खर्च गर्नुपर्ने ।

आयातका लागि बर्सेनि ११ देखि १२ अर्ब डलर बराबरको धनराशि बिदेशिइ रहँदा अब आयातमा नियन्त्रणका लागि मुलुकले सोच्नु पर्ने बेला भइसकेको छ । देशको आवश्यकताअनुसार सबै वस्तुको आयातमा नियन्त्रण गर्न नसके पनि विलासिताका वस्तुहरूको आयातमा अब परिणात्मक बन्देज लगाउनु पर्ने बेला भइसकेको छ । परिणात्मक बन्देज भनेको कुनै पनि वस्तु निश्चित अनुपात वा परिणामभन्दा आयात वा निर्यात गर्न नपाउने व्यवस्था हो ।

यस सिलसिलामा मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन दर्जनभन्दा अधिक वस्तुहरूको आयातमा तोकेको परिणात्मक बन्देज स्वागतयोग्य भए पनि पर्याप्त छैन । यसले अझै विलासिताका वस्तुहरूको आयातमा नियन्त्रण गर्ने उद्देश्य राखेको देखिएन । शक्तिबर्द्धक पेयपदार्थको आयातमा लगाइएको रोकको अहिले त्यसका व्यापारीहरूले विरोध गर्न थालिसकेका छन् । विरोध वा दबाबमा आएर यस्ता अनावश्यक प्रकृतिका वस्तुको आयात खुला गरिनु हुँदैन ।

सरकारको आदेशका सह्राहनीय पक्ष भनेको धान, चामल, गहुँजस्ता खाद्यवस्तु तथा चट्टानीमाटो, रोडा, गिट्टी, बालुवाजस्ता प्राकृतिक पदार्थको निर्यातमा लगाइएको रोक नै हो । देशभित्रको उत्पादनले नपुगेर अहिले वार्षिक ४६ अर्ब रुपैयाँबराबरको अन्न आयात भइरहेका बेला यहाँबाट धान, चामल, गहुँजस्ता खाद्यान्न निर्यात गर्न दिनु हुँदैन । बरु उत्पादन र बजारबीच सम्बन्ध कायम गरेर सही बजार मूल्य पाउने व्यवस्था मिलाइनु पर्छ ।

यस्तै, देशलाई रित्त्याएर अहिलेसम्म जुन ढंगले भारतका निर्माण कार्यका लागि चट्टानीमाटो, रोडा, गिट्टी, बालुवा यहाँबाट निर्यात भइरहेको थियो । त्यसबाट देशले केही लाभ नकमाए पनि पर्यावरणीय क्षति भने भइरहेको थियो । पहिलो पटक लगाइएको यो परिणात्मक बन्देजका केही प्रतिकूल असरहरू पहिलो दिनबाटै देखिन सुरु भइसकेका छन् । क्वारेन्टाइन र जैविक विषादी परीक्षणबिना भारतीय तरकारी, फलफूल तथा जिउँदा जनावर भिआयात–निर्यातमा परिणात्मक बन्देजत्र्याउन नपाइने व्यवस्था लागू भएसँगै सीमापारि तरकारीका कन्टेनरहरू रोकिएका छन् । केही दिन उपभोक्ताले समस्या झेल्नु परे पनि सरकारले यस्ता व्यवस्थाहरू बिनाकुनै सम्झौता लागू गर्नुपर्छ ।

प्रकाशित समय १५:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु