fbpx
Nepal Mediciti

गृहपृष्ठ वर्षमा चार (४) पटक लाभांश

वर्षमा चार (४) पटक लाभांश

rabindra-bhattarai-newskarobar

जब कम्पनीले सेयरधनीलाई वितरण गरेको नाफा खातामा जम्मा हुन्छ, त्यसबेला पैसा कति आयो भन्दा पनि पैसाले काम गरिरहेको छ भन्ने पहिलो सन्तुष्टि हुनसक्छ । आफूले काम नगरे पनि लगानी गरेको पैसाले जब पैसा कमाउँछ, यसैलाई भनिन्छ- पैसालाई काम लगाउनु । सेयरमा लगानी गर्नु भनेको पनि पैसालाई काम लगाउनु हो ।

कम्पनीले वितरण गरेको लाभांश बैंक खातामा जम्मा भएर मोबाइलमा म्यासेजको घन्टी बज्दाको आनन्दको कुनै सीमा हुँदैन । अझ केही वर्षअघि सम्म लाभांश संकलन गर्दाका पीडालाई अलिकति सम्झेर मोबाइलको घन्टी सुन्ने हो भने बेग्लै आनन्द प्राप्त हुन्छ ।

कम्पनीले कमाएको नाफाबाट सेयरधनीलाई बाँड्ने नाफाको हिस्सा नै लाभांश हो, जसलाई लाभको हिस्सा पनि भनिन्छ । सेयरमा लगानी गर्नुका धेरै उद्येश्यहरु जस्तो पुँजीगत लाभ आर्जन गर्ने, सम्पत्ति बनाउने, नियमित आम्दानी गर्नेमध्ये कम्पनीबाट लाभांश (आम्दानी) प्राप्त गर्नु एक हो । जसमा लगानीकर्ताको अपेक्षा कम्पनीबाट लाभांश कहिलेकाहिँ होइन, नियमित पाइयोस्, घट्दो वा स्थिर होइन, हरेक वर्ष बढ्दो दरमा लाभांश प्राप्त होस् भन्ने हुन्छ ।

यस्तै, कम्पनीले दिने लाभांश सेयर छनौट गर्ने दरिलो आधार पनि हो । जस्तो कम्पनी छनौट गर्दा विगत १० वर्षदेखि नियमित लाभांश दिएको कम्पनीमा मात्र लगानी गर्ने वा विगत १० वर्षमा नियमित र बढे दरमा लाभांश बाँड्ने कम्पनीमा मात्र लगानी गर्ने वा नियमित बोनस सेयर दिने कम्पनीमा मात्र लगानी गर्ने जस्ता अनेक आधार बनाएर दोस्रो बजारमा लगानीका लागि कम्पनी छनौट गर्न सकिन्छ । कम्पनी छनौट कसरी गर्ने भन्नेमा हरेक लगानीकर्ताको आ-आफ्नै तरिका वा आधार हुने गर्छ ।

लगानीकर्ताको अपेक्षा कम्पनीबाट लाभांश पाइयोस् भन्नेमात्र होइन, छिटो-छिटो पाइयोस् वा लाभांश पाउनका लागि लामो समय कुर्नु नपरोस् भन्ने पनि हुन्छ । जस्तो वर्षमा एकपटक होइन, दुईपटक लाभांश पाइयोस् । दुईपटक पनि लामो समय भयो, हरेक त्रैमासिकमा गरेर चारपटक पाइयोस् । त्रैमासिक कुर्न पनि सकिँदैन हरेक महिना कम्पनीबाट लाभांश पाए अझ राम्रो भन्ने हुन्छ ।

अन्तर्राष्ट्रिय बजार जस्तो अमेरिका, क्यानडालगायतका देशमा कम्पनीको लाभांश इतिहास हेर्ने हो भने प्रायः कम्पनीले हरेक तीन महिनामा लाभांश वितरण गर्ने गर्छन् । यसको अर्थ त्रैमासिक रुपमा वर्षमा चारपटक । कतिपय कम्पनीले हरेक महिना पनि लाभांश वितरण गर्ने गरेका छन् । यहाँ कुन क्षेत्रका कम्पनी भन्ने छैन । बैंक, बिमा, जलविद्युत, उत्पादनमूलक कम्पनी सबैले मासिक वा त्रैमासिक रुपमा आ-आफ्नो नीतिअुनसार लाभांश वितरण गरिरहेका हुन्छन् । लाभांश वितरण गर्ने महिना र मिति पहिल्यै तय गरी पात्रो तयार बनाएको हुन्छ । यसैलाई हेरेर पनि लगानीकर्ताले हरेक महिना लाभांश प्राप्त गर्ने गरी विभिन्न कम्पनीको सेयर खरिद गरेर पोर्टफोलियो बनाउने गरेको पाइन्छ ।

उदाहरणका लागि त्रैमासिक रुपमा लाभांश वितरण गर्ने कम्पनीमध्ये कसैले जनवरी, अप्रिल, जुलाई र अक्टुबरमा वितरण गर्छन् भने कसैले फेब्रुअरीबाट सुरु गरेका हुन्छन् । कसैले मार्चबाट सुरु गरेका हुन्छन् । यसैलाई आधार बनाएर तीनवटा फरक कम्पनीको सेयर खरिद गरियो भने पनि त्रैमासिक रुपमा लाभांश बाँड्ने कम्पनीबाट हरेक महिना लाभांश प्राप्त गर्न सकिन्छ । अमेरिका तथा क्यानडामा अर्को रमाइलो पक्ष के छ भने यहाँ कम्पनीले आफ्नो आर्थिक वर्ष आफैं छनौट गर्न पाउँछन् । डिसेम्बर नै आर्थिक वर्षको अन्त्य हुनुपर्छ भन्ने छैन । जस्तो कसैले नोभेम्बरलाई आर्थिक वर्षको अन्त्य मानेर आर्थिक वर्ष तय गरेका हुन्छन् भने कसैले अक्टुबर, कसैले मार्च, कसैले जुन आदि । सोही आधारमा उनीहरुले त्रैमासिक अवधि तय गरी लाभांश वितरणको मिति र बुक क्लोज मिति तय गर्ने गर्छन् । कम्पनीले तोकेको लाभांश भुक्तानी मितिमा हरेक सेयरधनीको बैंक खातामा लाभांश जम्मा हुन्छ । स्रोतमै लाभांश कर कट्टा गरिँदैन ।

तर, हामी कहाँ वर्षमा एकपटक मात्र लाभांश प्राप्त हुन्छ । त्यस्तै हामी कहाँ सबैका लागि एउटै आर्थिक वर्ष छ, जस्तो साउन १ बाट अर्को वर्षको असार मसान्तसम्म । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने भन्ने कम्पनी ऐनका प्रावधानअनुसार प्रायः कम्पनीले यही समयभित्र साधारण सभा गरेर पारित लाभांश सेयरधनीलाई वितरण गर्छन् भने कतिपयले एक वर्ष दुई वर्षसम्म पनि साधारण सभा गरेका हुँदैनन् । केही समयअघि कुमारी बैंकले दुई वर्षको साधारण सभा एकैपटक गरेर लाभांश वितरण ग-यो ।

समयमा नियमित साधारण सभा गर्नेको पनि हरेक वर्ष एउटै मितिमा लाभांश वितरण गर्ने भन्ने कुनै निश्चितता छैन । यसले लगानीकर्तालाई लगानी रणनीति बनाउन पनि गाह्रो भएको देखिन्छ । लाभांश पाउन वर्षदिन कुर्नुपर्ने अवस्था कुनै पनि हालतमा न्याय संगत हुन सक्दैन । जस्तो कसैले ६ महिना सेयर होल्ड गर्छ भने उसले कम्पनीको नाफाको केही भागमा हिस्सा पाउनुपर्छ । किनकि, यस अवधिमा कम्पनीले दुईपटक त्रैमासिक प्रतिवेदन प्रकाशित गरिसकेको हुन्छ ।

अमेरिका र क्यानडामा कम्पनीले तोकेको लाभांश भुक्तानी मितिमा हरेक सेयरधनीको बैंक खातामा लाभांश जम्मा हुन्छ । स्रोतमै लाभांश कर कट्टा गरिँदैन ।

लाभांश वार्षिक वितरणको पुरातनवादी शैली अब बदल्न जरुरी छ । यसका लागि नियामक निकायमा रहेको यथास्थितिवादी सोचमा पनि परिवर्तन आउनुपर्छ । कम्पनी पनि सेयरधनीलाई नाफा बाँड्ने कुरामा बढी लचक हुनुपर्ने देखिन्छ । सेयरधनीलाई नाफा बाँड्न साधारण सभा नै कुर्नुपर्ने भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ । जस्तो युनिलिभर कम्पनीले साधारण सभा नगरी अगाडि नै सेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्छ । यस्तै, हिमालयन डिस्ट्रिलरीले पनि केही समयअघि अन्तरिम लाभांश घोषणा गरेको छ । अन्य कम्पनीले लभांश घोषणा वा वितरणका लागि किन साधारण सभा कुर्ने भन्ने प्रश्न उठ्छ ।

अब लाभांश वार्षिक होइन, अर्धवार्षिक रुपमा वितरण गरिनुपर्छ । अर्धवार्षिक पनि लामो समय हुन्छ, यसलाई कम्तीमा पनि त्रैमासिक अवधिमा झारिनुपर्छ । र, कम्पनीले हरेक तीन महिनामा लाभांश बाँड्नुपर्छ । अझ कतिपय जलविद्युत क्षेत्रका कम्पनीको आम्दानीमा केही हदसम्म निश्चितता हुने भएकाले यी कम्पनीले हरेक महिना लाभांश वितरण गर्दा अझ बजारमा विविधता आउन सक्छ । सर्वसाधारणबाट पैसा उठाएर सेयर बजारमा लगानी गरी कमाएको नाफा सेयरधनीलाई बाँड्न खुलेका सामूहिक लगानी कोष (म्युचुल फन्ड)ले पनि क्षमताअनुसार हरेक महिना लाभांश वितरण गर्ने नीति लिँदा राम्रो हुन्छ । म्युच्युअल फन्डको लाभांश वितरण नीतिमा पनि परिवर्तन हुन आवश्यक छ, जसले सर्वसाधारणलाई म्युचुअल फन्डमा लगानी गर्न आकर्षित गर्छ । यस्तै, लगानीकर्ताले सेयर होल्ड गर्ने समय पनि बढाउन सक्छन् ।

तर, दुर्भाग्य कतिपय अवस्थामा कम्पनीले चाहे पनि नियामक निकायका रहेका परिवर्तन नचाहने व्यक्तिका कारण सम्भव हुँदैन । केही वर्षअघि नविल इन्भेस्टमेन्ट बैंकिङले आर्थिक वर्ष समाप्त नभई लाभांश वितरणको प्रस्ताव गर्दा धितोपत्र बोर्डले अस्वीकार गरेको थियो । लाभांश वितरणमा लचकता प्रदान गर्ने कुरामा नियामक निकायले पनि कानुनी अप्ठ्यारा भए सहज बनाउनुपर्छ । लाभांश पाउनका लागि लगानीकर्ताले वर्ष दिन कुर्ने कुराको अन्त्य भई हरेक महिना लाभांश वितरण गर्न सक्नेसम्मको लचकता कम्पनीलाई प्रदान गर्ने व्यवस्था गरिनुपर्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस्

ब्रोकर कमिसन नतिरी कसरी सेयर खरिद गर्ने ?

प्रकाशित समय १२:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु