fbpx
Nepal Mediciti

गृहपृष्ठ विदेशमा महिला : रोजगारी कि उपयोगको साधन !

विदेशमा महिला : रोजगारी कि उपयोगको साधन !

foreign-employment-newskarobar

नेपालबाट वैदेशिक रोजगारीमा जानेको लर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापले प्रतिविम्बित गर्छ । अझ भारत हुँदै वैदेशिक रोजगारीमा उड्नेको कुनै अभिलेख पाइँदैन । नेपालको विमानस्थल भएर जाने सबैको वास्तविक अभिलेख नेपाल सरकारसँग छैन भने भारत हुँदै जानेको आंकलन सजिलो छैन । वैदेशिक रोजगारी परम्परागत स्थल भारतमा कति कामदार छन् भन्ने अभिलेख खोज्ने दुःख नगरे हुन्छ । किनकि, भारत जान कुनै बन्देज छैन । अनुमति लिनु पनि पर्दैन ।

नेपालबाट रोजगारीका लागि मध्यपूर्व र खाडी जाने चलन आएपछि युवतीहरु पनि वैदेशिक रोजगारीमा जाने गरेका छन् । अवसरको खोजी पुरुषलाई मात्र नभई महिलालाई पनि हुनु अस्वाभाविक होइन । तर, खाडी मुलुक महिलाका लागि असुरक्षित श्रम गन्तव्य बन्ने गरेको छ । विशेषगरी खाडी र मध्यपूर्वका मुलुक जाने महिला बढी समस्यामा परेको पाइन्छ । त्यहाँ पुगेका महिला प्रायः घरेलु कामदारका रुपमा पु-याइएका हुन्छन् । त्यहाँ उनीहरुको कानुनी सुरक्षा हुँदैनन् । उपभोग्य वस्तुसरह उनीहरुलाई काममा लगाइन्छ । त्यति मात्र होइन कहिलेकाहीँ बेचबिखनमा पनि परेका उदाहरण छन् । उनीहरु यौन शोषणमा समेत परेका हुन्छन् । खाडी राष्ट्रबाट सन् २०११ सम्ममा ८४ जना गर्भवती अवस्थामा स्वदेश फर्केको एक रिपोर्टमा उल्लेख छ । त्यहाँ उनीहरु उचित पारिश्रमिकबाट पनि वञ्चित छन् ।

त्यस्ता महिलामध्ये कोही झुटा मुद्दामा जेलमा रहेको र कतिपयले आत्महत्या गरेको खबर आउँछ । कोही गर्भसहित र कोही बच्चासहित फर्कन्छन् । त्यहाँ कार्यरत महिलालाई गर्भपतनको सुविधा पनि छैन । त्यहाँको कानुन र भाषाको ज्ञान नभई पुगेका महिलालाई वस्तुसरह व्यवहार सुरुबाटै हुन थाल्छ । उनीहरुको राहदानी पनि मालिकले राखेर प्रमाणविहीन बनाउने अनि भिसा नवीकरण नगरी उनीहरुलाई अवैध बनाई थप शोषण गर्ने गरेको पाइन्छ ।

विश्वका सम्पन्नमध्येमा पर्ने कुवेत, साउदी अरबजस्ता मुलुकमा घरेलु कामदारका रुपमा जाने महिला सबैभन्दा बढी समस्यामा रहेको देखिन्छ । अमेरिकामा जुनसुकै हैसियतका महिलाले बच्चा जन्माए पनि त्यहाँ जन्मनेले त्यहाँको नागरिकता पाउँछ । बच्चा जन्माएपछि महिलालाई पनि त्यहाँ बस्ने हैसियत प्राप्त हुन्छ । त्यति मात्र होइन, त्यहाँ जन्मेको बच्चाको भरणपोषण र शिक्षाको जिम्मा सरकारकै हुन्छ । युरोपतिर पनि यस्तै व्यवस्था छ । खाडी र मध्यपूर्वमा मानवअधिकारको कुनै मतलब छैन ।

महिलालाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्ने सुझाव विज्ञहरुले दिने गरे पनि यी कुरा तिनै कार्यशालामा सीमित हुन्छन् । दूरदराजका महिलाले परामर्श पाउँदैनन् । कार्यशालामा उठाएर प्रतिवेदन बनेपछि विज्ञ र प्रतिवेदन आवश्यक परेकाको उद्देश्य पुरा हुन्छ । कार्यान्वयनतिर जाने फुर्सद कसैलाई हुँदैन । कसैले राहदानी बनाउन जान लागेकी महिलालाई यस्ता कुरा सुनाइहाले पनि आफ्नो भविष्यको अवरोधक ठानेका हुन्छन् । यस्ता कुरा सतही रुपमा सुविधा सम्पन्न रिसोर्ट वा तारे होटलमा उठाएरमात्र हुन्न घनीभूत रुपमा बस्ती बस्तीसम्म पु-याउन सक्नुपर्छ । अनि मात्र सार्थक हुन सक्छ ।

समता पोस्टले एक वर्षअघि वैदेशिक रोजगारीका लागि खाडी जस्ता मुलुक जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याएको थियो । यसमा सरकार र समाजले विचार पु-याउनुपर्ने हो । समाजले महिला वैदेशिक रोजगारीका लागि बाहिरिइसकेपछि थाहा पाउँछ भने सरकारले राहदानी बेच्छ र विप्रेषणको -याल लिकाल्छ ।

छोटो समय विदेशमा काम गरेपछि स्वदेशमा राम्रो हैसियत बन्ने लोभ देखाएर विदेश जान प्रेरित गर्ने दलालको सञ्जाल दूरदराजका गाउँसम्म व्याप्त छ । महिलालाई ललाइफकाई विदेशमा लगी बेच्ने गिरोह गुप्त रुपमा सक्रिय छन् ।

उत्पादनमूलक काम नगरी बिचौलिया गरी कमाउन पल्केकाहरुले उनीहरुको त्यसपछि हुने समस्याको कुनै जिम्मेवारी लिँदैनन् । स्थानीय दलालले सोझा महिलालाई विदेश पु-याउने मानिसलाई बुझाएपछि पीडितको जानकारी आफैं पनि पाउन सक्दैन । वास्तविकता नबुझी लहलहैमा विश्वासमा पर्ने महिला बढी शोषणमा पर्ने गरेका हुन् ।

यौन शोषणमा परेर विदेशमा जन्मिएको वा नेपाल आएर जन्मिए पनि त्यस्तो बच्चा पितृत्वको अभावमा अनागरिकको हैसियतमा रहनुपर्ने बाध्यता छ । मध्यपूर्व र खाडी मुलुकबाट गर्भ बोकेर आउने वा बच्चा जन्माएर ल्याए पनि ती बच्चालाई नागरिकको हैसियत नदिने भए नेपाल सरकारले उनीहरुको भरणपोषणको जिम्मेवार तिनै राष्ट्रलाई लिन लगाउनुपर्छ । त्यहाँबाट आएको बजेट वास्तविक पीडितले मात्र पाइने भरपर्दो संयन्त्र बनाइनुपर्छ ।

यस्ता कतिपय पीडित महिला साउदी अरब अवस्थित नेपाली दूतावासमा पुग्ने गरेको पाइन्छ । राजदूतावासले बढीमा नेपाल जाने व्यवस्थाबाहेक अरु सहयोग गरेको पाइँदैन । वैदेशिक रोजगारीमा जाने महिलाका समस्या उठाउने विभिन्न संस्था भए पनि तिनले पीडितलाई खास फाइदा हुने गरी काम गरेको पाइँदैन । अनौपचारिक रुपमा सरकारलाई सुझाव लेखेरमात्र समस्या समाधान हुँदैन । एकपटक कामदार लैजाने मुलुकको सरकारले सेवा र सुरक्षाको ग्यारेन्टी नभई महिलालाई विदेश जान रोक लगाउँदा सरकारको कामविरुद्ध निकै ठूलो हंगामा पनि मच्चाइएको थियो ।

दलालले विभिन्न प्रलोभनमा पारी महिलालाई प्रतिबन्धित मुलुकमा अन्य मुलुकबाट विदेश लैजाने गरेको अधिकारकर्मीले बताइरहँदा पनि महिला बेचिने क्रममा साथै सुधार आउन नसकेको अवस्था छ । वैदेशिक रोजगारीमा गई ४ सय १५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सयभन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको भन्ने सन् २०११ को तथ्यांक अधिकांशले हालसम्म पनि उपयोग गरेको पाइन्छ । यसलाई अद्यावधिक गर्ने प्रयत्न कम भएबाट पनि वास्तवमै यसलाई सुधार्नु कमको मात्र चासो रहेको प्रस्ट हुन्छ । यस्ता सतही कार्य हुँदासम्म कुराको चुरो पत्ता लगाई समाधान निकाल्न समस्या देखिन्छ ।

प्रकाशित समय १२:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु