fbpx
Nepal Mediciti

गृहपृष्ठ बिचौलियाले बढाएको बजार मूल्य

बिचौलियाले बढाएको बजार मूल्य

sampadakiya-newskarobar

करिब डेढ दशकयता राजधानीमा मात्र होइन, देशका प्रायः सबै मुख्य सहरी क्षेत्रमा घरजग्गाको भाउ छोइनसक्नु भएको छ । उपत्यकाभित्रका मात्रै कुरा गर्दा मुख्य सहरी क्षेत्रमात्र नभइ वरिपरिका काँठ क्षेत्रमा समेत घरजग्गाको भाउ एक दशकमै तीन गुणाभन्दा अधिकले बढेको देखिन्छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा मूल्यवृद्धि स्वभाविक हो, अर्थात् जग्गाको माग बढ्दै जाँदा त्यसको कम उपलब्धता रहँदा मूल्य बढ्नुसम्म स्वभाविक मानिन्छ, तर उपत्यकामा जुन ढंगले रातारात जग्गाको मूल्य दोब्बर–तेब्बर हुन थाल्यो, त्यसले बजारमा कृत्रिम चलखेल भइरहेको प्रमाणित गराउँछ । प्रतिआना एक लाख रुपैयाँमा किनेको जग्गा पाँच लाख आनामा कारोबार हुँदा जसरी जग्गाधनीले मैले बढी मोल पाएँ भनेर मख्ख हुन्छ, त्यही जग्गा केही समय नबित्दै कसरी आनाको १५ लाखसम्म पुग्यो भन्ने कुरा न नियामक निकायहरूले खोजी गरे, न त सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने निकायले नै यसमाथि ध्यान दियो ।

सरकारलाई राजस्व आउनुसँग मात्र मतलब भएजस्तो देखिएको छ । यसले बजारमा चरम आर्थिक विकृति बढाएको छ । घरजग्गाको दलाली औपचारिक व्यवसाय होइन । केही–केहीले रियल इस्टेट कम्पनी दर्ता गरेर मलिलो खेतदेखि पाखासम्म प्लटिङ गरेर व्यापार गर्ने गरेको भए पनि उपत्यकाभित्र घरजग्गाका दलाल वा बिचौलियाहरूको कारोबार विगत डेढ दशकयता रातारात फलिफाप भएको देखिन्छ । आफ्नो लगानी नहुने, अर्काको जग्गा अर्कालाई बेचेर बीचबाट कमिसन निकालेर खाने यस्ता बिचौलियाहरू रातारात करोडपति भएका छन्, वास्तविक जग्गाधनी भने जग्गा बेचेर टाट उल्टिएका छन् ।

जग्गा बिचौलियाको धन्धामा पाँचदेखि १० प्रतिशत कमिसन औपचारिक नै मान्न थालिसकिएको छ, जबकी यसको कहीँ कतै लिखित कानुनी व्यवस्था छैन । बिचौलियाको कमिसन मनलाग्दी ढंगले निर्धारण हुन्छ । बिचौलियाले जग्गा बेच्नेसँगमात्र होइन, किन्नेसँग पनि कमिसन लिन्छ । यो कमिसनको खेल यति गहिरो छ कि हिजोसम्म फुटपाथमा सय रुपैयाँ सापट मागेर चियाखाजा खर्च चलाउने बिचौलियाहरू आज रातारात करोडपति भएका छन् । गाडी किनेका छन्, आलिशान महलहरू किनेका छन् । जग्गाधनीसँगको सहमतिको लेनदेनमा हुने यस्तो कारोबार अर्बौंको हुँदासमेत राज्यको कर प्रणालीमा देखिँदैन । सीमित संख्याका बिचौलियाहरूले रातारात करोडौं कमाउँदा सर्वसाधारणहरू भने प्रताडित र पीडित हुँदै आएका छन् ।

बिचौलियाहरूको चक्रब्यूह यति बलियो छ कि आधुनिक युगका कुनै अभिमन्युले त्यसलाई सहजै तोड्न सक्दैन । जग्गाको भाउ आपसमै मिलेर बढाउने, किनबेच गराउनेदेखि मालपोत र नापी कार्यालयका कर्मचारीको सरुवाबढुवा गराउनेसमेत हैसियत बिचौलियाहरूले बनाइसकेका छन् । उपत्यकाका केही जग्गा माफिया र बिचौलियाहरूले सरकारी जग्गा, नदी उकासमात्र होइन; वर्षौंदेखि उपत्यकाका सौन्दर्यका रूपमा रहँदै आएका पोखरी, सामरिक महत्वका रामसार क्षेत्रसमेत बेच्न भ्याइसकेका छन् । कतै खाली जग्गा देख्नेवित्तीकै जग्गाधनीलाई अनेकन प्रलोभन देखाएर फँसाएर कित्ताकाट गरी बेचिदिन भ्याउँछन् । कतिसम्म देखिएको छ भने केही नम्बरी जग्गाका बीचमा सरकारी अभिलेखित नभएका सून्यकित्ता जग्गा देखियो भने पुरानो मितिका निर्णयमा कागजपत्र मिलाएर त्योसमेत हालसाबिक गरेर बेचिदिन भ्याउने गरेका छन् ।

मालपोत कार्यालयहरूमा केबल सरकारी मूल्यांकन दरमा कारोबार भएको कागज बनाइने भएकाले बिचौलियाहरूले जतिसुकै मूल्य असुल गराए पनि त्यो औपचारिक सरकारी प्रणालीमा देखिँदैन । यदि सम्पत्ति शुद्धीकरणको अभियानलाई तीब्र पार्ने हो भने पहिला जग्गाका बिचौलियाहरू पहिचान गरेर तिनको सम्पत्ति छानबिन गर्ने हो भने जग्गाको कृत्रिम मूल्यवृद्धि आधा रोकिन्छ । त्यसपछि नगरपालिकाहरूले कारोबारमा आधारित मूल्यांकन प्रणाली लागू गर्नासाथ सरकारको प्रणालीमा सही राजस्व दाखिला हुनसक्छ ।

यो पनि पढ्नुहोस्

जग्गामा बिचौलियाको बिगबिगी, सर्वसाधारणसँग १० लाखसम्म कमिसन

प्रकाशित समय १३:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु