fbpx

गृहपृष्ठ सेयरमा आत्मसमर्पण नगर्नुहोस्

सेयरमा आत्मसमर्पण नगर्नुहोस्

rabindra-bhattarai-newskarobar

एकजना शुभेच्छुकले सल्लाह माग्नुभयो– प्राथमिक बजारमा विशेषगरी लघुवित्तको सेयरमा धेरै पटक आवेदन गरेँ तर सेयर परेन । अब त भर्न पनि मन लाग्न छाड्यो । के गरौं ?

प्रिय लगानीकर्ता !

सबैभन्दा पहिला सल्लाह माग्नुभएकोमा धन्यवाद । सायद मैले पहिलो पटक यसरी जिज्ञासाको उत्तर दिँदै छु ।

सर्वप्रथम त सेयर बजारमा तपाईंको लगानी गर्ने चाहनाको म प्रशंसा गर्छु । यो कुरा मलाई पनि राम्रोसँग थाहा छ । जब सेयरको संख्याभन्दा धेरै गुणा बढी आवेदन पर्छ भने सबैले सेयर पाउने कुराको कुनै ग्यारेन्टी हुँदैन । अनि बाँडफाँड चिट्ठा प्रणालीमा परिणत हुन्छ । चिट्ठा आफैंमा भाग्यको खेल हो । यसमा एउटै व्यक्ति धेरै पटक अभागी बनिरहन सक्छ । एकपटक होइन, दुईपटक होइन, पटक–पटक । के धेरै पटक अभागी भइयो भनेर भर्न छाड्ने त ? भन्ने महत्वपूर्ण प्रश्न आउँछ ।

म भन्छु– भर्न छाड्नु भनेको अर्को अभागी हुनु हो । तपाईं, हामीले नभरे अरु कसैले भरिरहेकै हुन्छ । तपाईंले नभर्दा अर्कोपटक पर्न सक्ने सम्भावना अर्कोले हात पार्छ । हामीले भर्न छाड्दा अरुको भाग्य बलियो बन्दै जान्छ । मानौं तपाईंलाई १० कित्ता पर्न सक्थ्यो । कम्पनी राम्रो थियो । दोस्रो बजारमा सूचीकरण हुँदा मूल्य एक हजारसम्म पुगेर कारोबार भयो । तर, तपाईंले भर्नु भएन । उक्त सेयर अर्कैलाई पर्यो । १० कित्ताको एक हजारका दरले १० हजार भयो । एक हजार लगानी कटाउँदा ९ हजार फाइदा हुन्थ्यो । तर, तपाईंले भर्नु भएन । अब भन्नुहोस्– तपाईंको नाफा कसले लग्यो ? पक्कै पनि जसले दिक्क नमानी सेयर भरिरह्यो, उसैले लग्यो ।

सेयर बजार पैसा र सम्पत्तिको समुद्र हो । संसारमा जति पनि मानिस धनी बनेका छन्, ती व्यवसाय, सेयर बजार र घरजग्गाबाट धनी बनेका छन् । अनि यसरी नै तपाईं हामीले लगानीमा आत्मसमर्पण गर्दै जाँदा उनीहरुको सम्पत्ति थुप्रिँदै गएको छ । हामीले आफ्नो व्यवसायमा नछिरेर अरुको व्यवसायमा कामदार बन्दा व्यवसाय गर्नेहरुले अझ बढी धन थुपार्दै गएका छन् । अझ धनी बन्दै गएका छन् । यसकारण पनि विभिन्न अध्ययनले देखाएका छन्– संसारमा ९० प्रतिशत मानिससँग जति सम्पत्ति छ, त्यति सम्पत्ति १० प्रतिशत मानिससँग छ । अनि ती १० प्रतिशत मानिससँग सेयर छ, व्यवसाय छ या लगानी छ । हामी ९० प्रतिशतमा पर्नुको प्रमुख कारण जागिर, लगानी र व्यवसायमा फरक छुट्याउन नसक्दा हो ।

म सेयर तालिमका क्रममा सोध्ने गर्छु– जागिर दिने धेरै कि जागिर खाने ? उत्तर सजिलो छ । जागिर खाने नै धेरै हुन्छन् । जागिर दिने कम हुन्छन् । यसकारण पनि धनी कम र न्यून आय वा गरिब बढी हुने गर्छन् । यसैले पनि मेरो सल्लाह सेयर भर्नबाट आत्मसमर्पण नगर्नुहोस् ।

अर्कोतर्फ सेयर बजार यस्तो ठाउँ हो जहाँ पैसालाई काम लगाइन्छ । र, पैसासँग तपाईंमा भन्दा कयौँ गुणा बढी कमाउन सक्ने क्षमता हुन्छ । पैसामा तपाईंभन्दा बढी मेहनत गर्न सक्ने क्षमता हुन्छ । अनि हाम्रोभन्दा बढी कमाउने क्षमता भएको पैसालाई काम गर्न दिएनौं भने हामी कसरी पैसा बनाउन सक्छौं ?

वारेन बफेटलाई हेर्नुहोस् त ! पैसाको कमाउने क्षमता कति हुन्छ । पैसामा हाम्रोभन्दा कयौं गुणा बढी कमाउने क्षमता नहुने हो भने वारेन बफेटले ८८ वर्षको उमेरमा ८६ अर्ब डलर वा उनको उमेरबराबर अर्ब डलर जागिर खाएर कदापी कमाउन सक्ने थिएनन् । अर्कोतर्फ उनले पनि सेयर बजारबाट आत्मसमर्पण गरेको भए उनको अहिलेको अवस्था अवश्य संसारले देख्न सक्दैन थियो । लगानी छाडेर जागिर खाएको भए न विनोद चौधरीले कमाउन सक्थे ।

एकपटक केही कम्पनीका सेयरधनीको सूची लिएर उनीहरुको सेयर र मूल्यलाई गुणन गरेर हेर्नुहोस्, सेयरसँग रहेको पैसा कमाउने क्षमता त्यहाँबाट देख्न सकिन्छ । आजभन्दा १० वर्षअघि कुनै लघुवित्तको १० कित्ता सेयर पर्ने कसैको सम्पत्ति कति भयो भनेर सामाजिक सन्जालमा प्रश्न राखेर सोधे पनि हुन्छ, अहिले कति लाख पुग्यो भनेर । वा कुनै कम्पनीको तथ्यांक लिएर आफैं हिसाब गरे पनि हुन्छ । त्यसबाट प्रस्ट हुन्छ, १० कित्तामा पैसा बन्ने कति तागत छ भनेर । र, म फेरि पनि भन्छु– तपाईंले भर्न छाड्नुभयो भने अरु कसैले भरिरहेको हुन्छ । तपाईंलाई पर्ने सेयर अरु कसैलाइ परिरहेको हुन्छ । तपाईंले कमाउने पैसा अरु कसैले कमाइरहेको हुन्छ । अनि मैले फेरि सोध्नुपर्ने हुन्छ– तपाईंको पैसा, सम्पत्ति कसले लग्यो ?

तपाईं प्राथमिक सेयर वा आईपीओमा लगानी गर्दै हुनुहुन्छ । हाम्रो परिभाषा सेयरमा लगानी गर्न सुरु गर्ने र कम जोखिमयुक्त लगानी भनेको प्राथमिक निष्कासन हो । तर, यो परिभाषा नेपालमा मात्र लागू हुन्छ । विकसित देशमा यो परिभाषा भनेको बिल्कुलै उल्टो हो । अमेरिका तथा क्यानडा जस्ता विकसित देशमा प्राथमिक निष्कासनमा गरिने लगानीलाई धितोपत्रमा गरिने सबैभन्दा बढी जोखिमपूर्ण लगानीको विकल्पको रुपमा राखिन्छ । किनकि कम्पनी टिक्ने वा नटिक्ने भन्ने कुनै निश्चितता हुँदैन । प्रतिस्पर्धाबाट बाँच्ने हो कि होइन भन्नेमा शंकैशंका रहन्छ । यसकारण पनि हामी यति भाग्यमानी छौं कि विकसित देशमा सबैभन्दा जोखिमपूर्ण मानिएको आईपीओ हाम्रो बजारमा कम जोखिमपूर्ण विकल्पका रुपमा लगानी गर्ने अवसर पाएका छौं ।

अर्कोतर्फ, कम्पनीले वर्षौं लगाएर बनाएको सम्पत्ति, नाफा, नाम सबैका लागि हामीले कुनै थप मूल्य नतिरी अंकित मूल्यमा किन्न पाएका छौं । हाम्रा कतिपय कानुन सञ्चालकका तर्फबाट हेर्ने हो भने कठोर छन् तर तपाईं हामीका लागि यी वरदान छन् । किनकि, हामी अंकित मूल्यमा सेयर भर्न पाइरहेका छौं । अनि केही दिनभित्रै दोस्रो बजारमा कयौं गुणा बढी मूल्यमा बेचेर छोटो समयमा सय, दुई सय, तीन सय प्रतिशत नाफा लिन पाएका छौं । योभन्दा बढी भाग्यमानी लगानीकर्ता संसारमा कमै होलान् ।

प्रविधिले हामीलाई ‘अन द गो’ मा पुर्याएको छ । यसको अर्थ जाँदा जाँदै, हिँड्दा हिँड्दै भन्ने हो । हिजोका दिनमा सबै काम छाडेर दिनभर सेयरको आवेदन दिन लाम लाग्नुपर्ने अवस्थाबाट जाँदा जाँदै हातको मोबाइलबाट एक क्लिकमा सेयर भर्न पाएका छौं । एकपटक सोच्नुहोस्– यसका लागि कति समय लाग्ला ? बढीमा पाँच मिनेट । धेरै व्यस्त हुनुहुन्छ भने सामाजिक सञ्जालमा भौंतारिने केही समय कटाएर भए पनि कम्पनीको अवस्था हेरेर आवेदन दिनुहोस् । आत्मसमर्पण नगर्नु होस् ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

 यो पनि पढ्नुहोस्

बढ्दो सेयर बजारमा लगानीकर्ताले गर्ने गल्ती

प्रकाशित समय ११:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु