fbpx
Nepal Mediciti

गृहपृष्ठ घटेको सेयर मूल्यको फाइदा

घटेको सेयर मूल्यको फाइदा

सेयर मूल्य बढ्दा पो फाइदा हुन्छ । घट्दा कसरी फाइदा हुन्छ ? यो प्रश्न सही जस्तो लाग्छ । तर, यस्ता प्रश्न सधैं सही हुँदैनन् । सेयर मूल्य घट्दा पनि फाइदा हुन्छ । सेयर बजारमा मूल्य बढेर फाइदा लिनेमात्र हुँदैनन्, घट्दा फाइदा लिने पनि हुन्छन् । सेयर मूल्य बढोस् भन्ने मात्र हुँदैनन्, घटोस् भन्नेहरु पनि त्यत्तिकै हुन्छन् । उच्च मूल्यको फाइदा लिनेमात्र हुँदैनन्, न्यून मूल्यबाट फाइदा लिने पनि हुन्छन् । यसैले लिन सके सेयर मूल्य घट्दाका धेरै फाइदा छन् ।

सस्तो मूल्यमा किन्ने अवसर

सेयरको मूल्य महँगो बन्दा बैंक खातामा भएको थोरै पैसा सम्झेर कम्पनीका मूल्य हेर्दै धारे हात लाउनुपर्ने अवस्था हुन्छ । अनि मुखबाट फ्याट्ट निस्कन्छ– गरिबका (न्यून आय हुनेका) पनि दिन आउलान नि ! हिजोका दिनमा यसरी धारे हात लगाउनेका लागि आज बजारले न्याय गरेको छ । अहिले दिन आएको छ । भएको बचत कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्न सकिन्छ । बजारले पैसा हुने र नहुने सबैलाई समय मिलाएर न्याय दिन्छ, केवल धैर्य गर्न आवश्यक हुन्छ । हिजोका दिनमा धनीहरु जो सँग पैसा थियो वा जससँग ऋण लिएर सेयर किन्नका लागि बैंकको पहुँच थियो, आज उनीहरु अहिलेको बजार मूल्यलाई हेरेर धारे हात लगाइरहेका छन् । भएको पैसाले अहिलेको बजार मूल्यमा कम्पनी छानेर राम्रो पोर्टफोलियो बनाउन सके धनी बन्ने राम्रो अवसर पनि छ ।

अंकित मूल्यमा नपरेको सेयर

प्राथमिक निष्कासनमा आवेदन दिँदा अत्यधिक आवेदनका कारण सय रुपैयाँ अंकित मूल्यमा १० कित्ता पनि सेयर नपर्दा धैरै लगानीकर्ताका मुखबाट आफ्नालाई मात्र पारे होलान् नि भन्ने जस्ता शब्द उच्चारण हुने गर्थे । अहिले पनि सेयर नपर्दा त्यस्ता शब्द सामाजिक सन्जालका भित्तामा देखिने गर्छन् । वित्तीय अवस्थामा कुनै परिवर्तन नभई तिनै १० कित्ता पनि नपरेको धेरै कम्पनीको सेयर मूल्य सयबाट दुई सय, तीन सय हुँदै ९० मा फर्केका छन् । कति कम्पनीका सेयर मूल्य त्योभन्दा पनि तल छन् । कम्पनीले प्राथमिक निष्कासन गर्दा जसलाई सेयर परेको थिएन, आज तिनै कम्पनीको मागेजति सेयर डिस्काउन्टमा दोस्रो बजारबाट किन्न सक्ने अवसर मिलेको छ । सेयर नपर्नेका लागि मात्र नभई, परेर बेचेर बस्नेहरुका लागि पनि अवसर आएको छ ।

सञ्चालक बन्ने अवसर

धेरै मानिसको चाहना हुन्छ, सूचीकृत कम्पनीको सञ्चालक समितिमा गएर कम्पनी सञ्चालन गर्ने, आफ्ना विचार राख्ने । तर, यसका लागि चुनाव लडेर निर्वाचित हुनुपर्छ । कम्पनीको चुनावमा एक सेयर बराबर एक भोट हुने व्यवस्था छ । निर्वाचनमा जित्नका लागि धेरै भोटको आवश्यकता पर्ने भएकाले जति धेरै सेयर आफूले होल्ड गर्न सकियो, त्यति धेरै भोट जम्मा गर्न सकिन्छ र जित्ने सम्भावना पनि बलियो हुन्छ । तर, दोस्रो बजारमा सेयर मूल्य उच्च भएको अवस्थामा ठूलो संख्यामा सेयर किन्ने क्षमता हुँदैन, यसका लागि ठूलो पुँजीको आवश्यकता पर्छ । तर, सेयर मूल्य घटेर तल आएको अवस्थामा बजारबाट ठूलो संख्यामा सेयर किनेर कम्पनीको सञ्चालक समितिमा जान सकिन्छ । यसरी जानका लागि एक व्यक्तिमात्र नभई समूहका रुपमा पनि प्रवेश गर्न सकिन्छ । यस्तै, कुनै लगानी कम्पनी खोलेर कम्पनीका नाममा सेयर खरिद गरेर पनि चाहेको कम्पनीको सञ्चालक समितिमा प्रवेश गर्न सकिन्छ । घट्दो बजारले यस्ता चाहना राख्ने व्यक्ति वा समूहलाई ठूलो अवसर प्रदान गर्छ । जुन अवसर अहिले बजारले प्रदान गरिरहेको छ ।

कानुनअनुसार एक व्यक्तिले कुनै पनि कम्पनीको कुल सेयर संख्याको १५ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्न भने नपाउने व्यवस्था छ ।

कम्पनी खरिदको अवसर

घट्दो बजारले केवल व्यक्तिलाई मात्र अवसर प्रदान गर्ने नभई, कम्पनीलाई पनि अवसर प्रदान गर्छ । जस्तो कि कुनै एउटा कम्पनीले अर्को कम्पनी किन्न चाहेमा मूल्य घटेर न्यून विन्दुमा आएका बेला सस्तो मूल्यमा किन्न सक्छ । मूल्य माथि भएका बेला ठूलो पुँजी लगाउनुपर्ने हुन्छ, जसका लागि कम्पनीसँग क्षमता नहुन सक्छ ।

आफ्नो सेयर आफैं किन्ने अवसर

कम्पनीले आफ्नो सेयर आफैं किन्न पनि सक्छन् । कम्पनीले राम्रो नाफा कमाएको छ र भविष्यमा कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर लाभांश तथा सेयर मूल्य बढाउन चाहन्छ भने उसले कमाएको नाफाबाट सेयरधनीलाई नगद लाभांश नबाँडी बजारबाट अफ्नो सेयर आफैं किन्न सक्छ । यसले कम्पनीको पुँजी र सेयरको संख्या घट्न जान्छ । तर, यसको अर्थ कम्पनीको व्यवसाय वा नाफा नै कम हुने भन्ने चाहिँ होइन । सेयर मूल्य कम भएको अवस्थामा कम्पनीले सस्तो मूल्यमा बजारबाट ठूलो संख्यामा सेयर खरिद गर्न सक्छन् । तर, मूल्य बढेको अवस्थामा त्यही पैसाले कममात्र सेयर खरिद गर्न सक्ने हुन्छ, जसले सेयर संख्या कममात्र घट्ने हुन्छ । कम्पनी ऐन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा कम्पनीले आफ्नो सेयर आफैं किन्न पाउने व्यवस्था भए पनि हालसम्म कुनै पनि कम्पनीले आफ्नो सेयर आफैं किनेका छैनन् ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्
यसरी हुन्छ बैंकबाट सेयर कारोबार

प्रकाशित समय ११:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु