fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ कोरोनायुद्धमा सरकारले गर्नैपर्ने काम

कोरोनायुद्धमा सरकारले गर्नैपर्ने काम

सम्माननीय  प्रधानमन्त्रीज्यू !

प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सरहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष संलग्नताले निर्णय र कार्यशैलीमा ल्याउने फरक विगत केही दिनका निर्णयबाट आमजनताले अनुभूत गरिरहेका छन् । सबैले एकतावद्ध भएर आ-आफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भनेमात्र यो भिषण संकटको सामना गर्न सकिन्छ भन्ने महसुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिएका छौं र अन्तसम्म उभिइरहनेछौं ।

प्रधानमन्त्रीज्यू, यो महासंकटसंग जुध्ने क्रममा हामीले जे गरीरहेका छौं, यो पर्याप्त छैन । जसरी गरीरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।

नेपालमा बाह्य मुलुकबाट कुनै पनि व्यक्ति संक्रमित अवस्थामा सहजै नेपाल भित्रिन नसकून् भनेर सरकारले अस्तिबाट सिमा बन्द गर्ने स्वागतयोग्य निर्णय गर्‍यो । हामीले शुरु देखि नै भनेका थियौं नेपाल प्रवेश गर्ने प्रत्येकलाई अनिवार्य चेकजाँच र क्वारेन्टाइनमा राखौं । अब सिमामा आएर अड्किएकालाई छिर्न दिने तर क्वारेन्टाइनमा अनिवार्य  राख्ने  पछिल्लो निर्णय कडाइका साथ लागु गर्न सक्यौं भने नेपाल बाहिरबाट कोही संक्रमित व्यक्ति भाइरस लिएर नेपाल प्रवेश गर्न सक्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ ।

बिर्सन नहुने तथ्य के हो भने ती सिमानाबाट (हवाई – स्थलहुँदै) अहिलेसम्म संक्रमण फैलिएका देशबाट वा ती देशमा ट्रान्जिट हुँदै हजारौं नेपाली र विदेशी नागरिक नेपालभित्र आइसकेका छन् ।

तर बिर्सन नहुने तथ्य के हो भने ती सिमानाबाट (हवाई – स्थलहुँदै) अहिलेसम्म संक्रमण फैलिएका देशबाट वा ती देशमा ट्रान्जिट हुँदै हजारौं नेपाली र विदेशी नागरिक नेपालभित्र आइसकेका छन् । दश हजारभन्दा बढी व्यक्ति हवाई मार्गबाट मात्रै नेपाल आएको अनुमान छ, हजारौं स्थल सिमाबाट आएका छन् । केही अपवाद बाहेक उनीहरु क्वारेन्टाइनमा बसेनन्, हामीले राख्न सकेनौं ।  निर्बाधरुपले हिडडुल गर्दै धेरै मानिस विभिन्न ठाँउमा पुगे । तिनीहरू कहाँ गए, के गरे, कस्तो अवस्थामा छन्, त्यसको हामीसँग  न कुनै अभिलेख छ, न निगरानी वा अनुगमन । न त तिनिहरूको परीक्षण नै भयो । पछिल्ला घटनाक्रमले यो तथ्यलाई थप पुष्टि गर्दै गएको छ ।  कोरोनाको संक्रमण शुरु भएको यत्रो दिनमा संसार नै भयाभह भइरहँदा आजसम्म नेपालभित्र जम्मा एकजनालाई मात्र पोजेटिभ देखियो भनेर हामी लामो समयसम्म दंग परेर बस्यौं । कतिले त हामी नेपालीको रोग प्रतिरोधात्मक क्षमता विशिष्ट छ भनेर मिथ्या गर्व नै गरेको देखियो । संक्रमित देशहरूबाट हजारौंको संख्यामा यसरी आउँदा पनि संक्रमण नदेखिँदा यो संयोग यस्तै सुखद रहिरहोस् भनेर कामना गर्‍यौं ।  केहीले भने यो सीमित समय ठूलो अवसर हो, खेर नफाली आवश्यक तयारीका काममा जुटिहालौं भनेर प्रारम्भदेखि नै आग्रह गरिरह्यौं ।

प्रधानमन्त्रीज्यू ! केही दिन अघि मात्र विदेशबाट नेपाल आएका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी आएको छ । त्यसको पुनर्पुष्टि हुने क्रम जारी रहँदा नआत्तिकन अब संकेत बुझ्ने प्रयास गरौं । अस्ती भेटिएको जस्तै संक्रमित देशहरूबाट आएका र निर्बाध डुलिरहेका कोही एक जनामात्रै पनि पत्ता लगाउन छुटेको रहेछ भने त्यो व्यक्तिबाट केही हप्तामा सयौं होइन हजारौं  संक्रमित हुने अवस्था आउन सक्छ भन्ने बाँकी विश्वको विकराल अनुभवले पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमणको विशिष्ट प्रकृति,र संक्रमणको समय एवं तीव्र फैलावट देखेर वैज्ञानिक जगत नै चकित छ । त्यसैले सिमावन्दी र लकडाउन गरेर ढुक्कले वसिरह्यौं भने कतिबेला के हुन्छ भन्न सकिन्न । यो सन्दर्भमा डब्लूएचओ प्रमुख टेड्रोस अघानोम गेब्रेयेससले २३ मार्चको यो भनाइ मननीय छ- ‘फुटवल खेल जित्नका लागि डिफेन्ड गरेर मात्रै पुग्दैन  अट्याक पनि गर्नु पर्छ। मानिसहरूलाई घर बस्न आग्रह गर्नु र सामाजिक दुरी राख्न लगाउनु संक्रमण फैल्न नदिनका लागि महत्वपूर्ण कदम हो तर ती भनेको डिफेन्सिभ प्रकृया मात्रै हुन्। जित्नका लागि हामीले आक्रामक र लक्ष्य केन्द्रित कार्यनीति बनारएर भाइरसलाई अट्याक गर्नु पर्छ- संक्रमणको शंका भएको सबैको जाँच गर्ने, संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखी हेरचाह गर्ने र संक्रमितको निटक सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्छ ।’

त्यसको भए के गर्ने त?

केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले १५ बुँदे निर्णय गर्‍यो । स्वास्थ्य मन्त्रालयले तत्काल गरिहाल्नुपर्ने भनी करिब एक महिना अघिदेखि हामीले संसदमा उठाएका  विषयमा अहिले आएर निर्णय भएकोमा खुसी लागेको छ । यद्यपि,  आपतकालीन अवस्थामा समेत निर्णयमा भएको विलम्बले शीघ्र कार्यान्वयन हुने कुरामा स्वभाविक संशय हुन्छ नै । अन्य विषयमा निर्णय भए पनि  कोरोना भाइरस संक्रमितको परीक्षणको सन्दर्भमा भने उपयुक्त निर्णय समेत हुन सकेको छैन ।

हामीले कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गर्नेको चयन गर्न विश्व स्वास्थ्य संगठनको ‘केस डेफिनेसन’ भनेर साँघुरो मापदण्ड बनायौं । त्यसैले अहिले सम्म करिब ६०० जनाको मात्रै परीक्षण भएको छ । पछिल्ला दिनमा केही फराकिलो मात्र बनाएका छौं । मापदण्ड जति साघुँरो छ, परीक्षण गर्ने क्षमता त्यति नै न्युन छ । अर्को तर्फ परीक्षणको प्रवन्ध यति झझन्टिलो छ कि व्यक्ति सकेसम्म परीक्षणबाट भाग्न खोज्छ । यो अवस्था नबदलिकन हामीले गर्ने परीक्षणको संख्या बढ्दैन ।  शंका लागेका व्यक्तिलाई यथाशीघ्र परीक्षणको दायरामा ल्याउन र तिनलाई बाँकी समाजबाट अलग राख्न सकेमात्र रोगको  फैलावटलाई रोक्न सकिन्छ । अनि यसो गर्न सके मात्र सिमाना बन्द गर्ने, मुलुक लकडाउन गर्ने जस्ता महत्वपूर्ण र अपरिहार्य कदमको अपेक्षित प्रतिफल प्राप्त हुन्छ ।

शंका लागेका व्यक्तिलाई यथाशीघ्र परीक्षणको दायरामा ल्याउन र तिनलाई बाँकी समाजबाट अलग राख्न सकेमात्र रोगको  फैलावटलाई रोक्न सकिन्छ ।

त्यसैले प्रधानमन्त्रीज्यू ! यो एक साताको सीमाबन्दी र १८ गतेसम्मको ‘लकडाउन’ लाई सही सदुपयोग गर्दै हजारौंको परीक्षण गर्न विलम्ब नगरौं । परीक्षण दायरा बढाउन हाल एनपिएचएलमा रहेको परीक्षण क्षमतालाई पूर्ण सदुपयोग गरौं । एनपिएचएलमा रहेका सवै ल्यावलाई सवै सिफ्टमा सञ्चालन गर्दा दैनिक सयौंजनाको परीक्षण हुन्छ । थप विस्तार गर्न आवश्यक जनशक्ति, किट र उपकरण व्यवस्था गरौं । हिजो मात्र उच्चस्तरीय समितिले काठमाडौं बाहिर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाबाट कोभिड १९ टेस्टिङको कार्य यथाशिघ्र शुरु गर्ने निर्णय गरेको छ ।यो निर्णयलाई तत्काल कार्यान्वयन गरौं तर यो मात्र आफैमा पर्याप्त छैन । कम्तीमा पनि हरेक प्रदेशमा तत्काल शुरु गर्नुपर्छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशालाका अधिकारी नै भनिरहनुभएको छ, पोर्टेबल पिसिआर, सेरोलोजीलगायत विभिन्न प्रविधिबाट फास्ट ट्रयाकमा काठमाडौं बाहिर थोरै दिनमा  दर्जनौं ठाँउमा परीक्षण परीक्षण प्रारम्भ गर्न सम्भव छ । उहाँहरूको कुरा सुनौं, आवश्यक पर्ने परीक्षण किट, उपकरण र जनशक्ति उपलव्ध गराएर अविलम्ब थप परीक्षण शुरु गरौं । काठमाडौं बाहिर ल्याव स्थापना नभएका विभिन्न ठाउँबाट स्वाब संकलन गर्न र सुरक्षित तवरबाट त्यसलाई ल्यावसम्म ल्याउनका लागि भिटिएमलगायत आवश्यक सामाग्री उपलव्ध गराऔं र संयन्त्र तयार गरी द्रुत गतिमा काम गरौं । मापदण्ड पुगेका निजी प्रयोगशालामा परीक्षण गराउने छलफल भएको पनि हप्तौं भइसक्यो यस सन्दर्भमा आवश्यक निर्णय गरी तत्काल निजी ल्यावबाट समेत परीक्षण कार्य शुरू गरौं । भएको स्रोत साधनलाई पूर्ण सदुपयोग गरौं, नपुग भए थप गरौं । विभिन्न नयाँ प्रविधि विकास भएका छन ति विकल्पहरू खोजौं । अत: प्रधानमन्त्रीज्यू, एनपिएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्यावसंगको सहकार्य र नयाँ प्रविधिवाट काठमाडौं बाहिर दर्जनौं ठाँउमा कोभिड १९ टेस्टिङ गर्‍यौं भने हजारौंको परिक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं।

परीक्षण गुणस्तरीय हुन सकोस् भनेर आवश्यक प्रोटोकल बनाऔं । अस्पतालहरूमा सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिलाई सहज रुपमा परीक्षणको वातावरण र परामर्शको व्यवस्था गरौं । अस्पताल आएका मात्र होइन अब कोरोना संक्रमण फैलिएका देशबाट आएका र ति व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परिक्षणको दायरामा समेटौं । त्यसको तरिकालाई पनि सजिलो बनाऔं । जसरी फ्रान्सबाट फर्किएर घरमा क्वारेन्टाइनमा बसेकी विद्यार्थी केही लक्षण देखिने बित्तिकै आफैं परीक्षणका लागि गइन्,  सवैले त्यसो नगर्न सक्छन । त्यसैले भर्खर नेपाल बाहिरबाट आएका सबैलाई त्यसै गर्न आव्हान गरौं- छुट्टै बस्नूस्, केही लक्षण देखिएमा फोन गर्नुस्, बाँकी काम सरकारले गर्छ ।’ ति व्यक्तिको पहिचान, अनुगमन र निगरानी गर्न स्थानीय सरकार र प्रशासनसंग समन्वय गरौं । स्मरण रहोस् हाम्रोमा जति संख्यामा परीक्षण भएको छ, त्यो अत्यन्त न्युन र चिन्ताजनक छ, किनकि बाँकी विश्वका ती मुलुकले मात्र यो व्याधिको नियन्त्रण गर्न सकेका छन् जसले व्यापक परीक्षण गरे । अब संकास्पद व्यक्ति परीक्षण गर्न खोज्दै आउने होइन संकास्पद संक्रमितलाई खोज्न सरकार जाने रणनीति अख्तियार गरौं ।

प्रधानमन्त्रीज्यू ! व्यापक परीक्षण गर्दा दुईवटा सम्भावना रहन्छ: एउटा पनि पोजेटिभ देखिएन, गजब भयो । त्यो हामी सवैका निम्ति सुखद क्षण हुनेछ ।

प्रधानमन्त्रीज्यू ! व्यापक परीक्षण गर्दा दुईवटा सम्भावना रहन्छ: एउटा पनि पोजेटिभ देखिएन, गजब भयो । त्यो हामी सवैका निम्ति सुखद क्षण हुनेछ । यसले यो भयभित अवस्थाबाट हामीलाई सहज मात्र बनाउँदैन, अब अगाडि कसरी बढ्ने भनेर मार्गदर्शन पनि गर्छ । त्यसपश्चात् सीमाना भित्र कोरोना संक्रमित नदेखिएको अवस्थामा कोरोना विरुद्धको लडाईंमा हाम्रो रणनीति देशभित्र आवतजावत केही खुकुलो गर्ने तर हवाइमार्ग वा स्थलमार्गबाट नेपाल भित्रने प्रत्येकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने । यसरी मात्र लामो समय सम्म  चल्ने यो लडाइँमा हामी जोगिन सक्छौं ।

दोश्रो, यदि त्यसरी  परीक्षण गर्दा  केही संक्रमित भेटिए भने तिनलाई अलग राख्ने (आइसोलेसन) र तिनको सम्पर्कमा रहेका अन्य व्यक्तिको कन्ट्याक्ट ट्रयाकिङ गरेर क्वारेन्टाइनमा राख्नुपर्छ । यसको लागि स्वास्थ्यकर्मी/जनस्वास्थ्यकर्ताहरुलाई अग्रभागमा राखेर स्थानीय सरकारलाई पूर्ण रुपमा परिचालित गर्नु पर्ने हुन्छ। यस्तो गर्न सक्दा संक्रमित व्यक्तिको समयमानै पहिचान हुने र तिनलाई अलग गरिने भएकाले उनीहरुको कारणले अरु संक्रमणमा पर्ने क्रम भंग (चेन ब्रेकिङ) हुनेछ । यस्तो अवस्थामा कोरोना संक्रमण विरुद्धको हाम्रो रणनीति- सिमाना अझै केही समय बन्द राख्ने,  ‘लकडाउन’ तन्काउने र संक्रमितको पहिचान गरी अलग गर्ने र जोखिममा रहेका प्रत्येकलाई घर भित्र वा तोकिएको ठाउँमा क्वारेन्टाइन हुनेछ । यस्तो अवस्थामा हामीसँग भएको सीमित स्रोत संक्रमितलाई पहिचान गरी अलग राख्न, पुष्टि भए आवश्यक उपचार गर्न र संक्रमितसंग निकट रहेका मानिसलाई क्वारेन्टाइनमा राख्ने काम सुरु गर्नुपर्छ।

प्रधानमन्त्रीज्यू ! हामीले सुनिरहेका छौं, युरोप र अमेरिकामा चिकित्सकहरु उपकरण नपुग्ने सम्भावना देखिंदै गएकाले उपचार गर्न आउँदा कसको गर्ने, कसको नगर्ने छलफलमा जुटेका छन् । इटालीजस्तो समृद्ध देश नै सबैभन्दा दु:खद उदाहरण बनेको छ । हाम्रो भन्दा अब्बल स्वास्थ्य प्रणाली र पूर्व तयारीको अवस्था हुँदा हुँदै त अस्पतालमा कुन संक्रमितलाई उपचारमा प्राथमिकता दिने भन्ने अवस्था ति देशहरूमा आयो । नेपालमा संक्रमण पहिचान गर्न र फैलिन रोक्न सकेनौं भने हाम्रो अस्पताललाई जति सुदृढ बनाए पनि, हामीले जति अस्थाई अस्पताल बनाए पनि, हामीले जति बेड थप्ने, उपकरण ल्याउने भनेता पनि हाम्रो स्वास्थ्य प्रणालीले थेग्न सक्छ होला र ?  अहँ, सक्दैन ।

हामीले अस्पतालहरूलाई जति सक्दो तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि स्वास्थ्य मन्त्रालयले हालै प्रत्येक अस्पतालमा फिवर क्लिनिक, आइसोलेसन वार्ड, कोरोना अस्पताल स्थापनादेखि तोकिएका अस्पतालमा आइसियु विस्तार, स्वास्थ्यकर्मीको सेवा सुरक्षा लगायतका विषयमा गरेका निर्णयलाई अक्षरस: कार्यान्वयन गरिहाल्न जरूरी छ । स्मरण रहोस् प्रधानमन्त्रीज्यू, म निर्णय कार्यान्वयन भनिरहेको छु, किनकी निर्णय जे-जस्तो भएता पनि यो पत्र लेख्दासम्म काठमाडौं कै ठूला अस्पतालका स्वास्थ्यकर्मीले मास्क, व्यक्तिगत सुरक्षाका उपकरणहरू (पिपिइ) र  अन्य सामान्य आवश्यक  सामाग्री समेत पाएका छैनन् । काठमाडौं वाहिरको अवस्था झन के होला । कुनै असहज अवस्था आइहाल्यो भने एक दिनलाई पुग्ने पनि सामाग्रीको तयारी हुन सकेको छैन । देशभरका स्वास्थ्यकर्मीहरू सुरक्षाका सामग्री वीना नै जोखिमपूर्ण ड्युटीमा खटिनुपरेको छ ।

कोरोना-युद्धको अग्रभागमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन र उच्च मनोवल नभनाइकन यो संकटबाट पार पाइँदैन ।

कोरोना-युद्धको अग्रभागमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन र उच्च मनोवल नभनाइकन यो संकटबाट पार पाइँदैन । अर्कोतर्फ अहिले पनि आफूलाई संका लाग्यो भने व्यक्ति कहाँ जाने, कसरी जाने, के गर्ने भन्नेमा अलमलको अवस्था छ । विरामीलाई कहिले कता, कहिले कता पठाइएको छ । कोरोनाको शंका लागेका विरामीलाई सहज पहुँच हुनुपर्नेमा शंका लागेका नाममा पन्छाइदिने प्रचलन वढेको छ । नियमित र अत्यावश्यक स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । कसले के गर्ने भन्ने नियमबद्ध कुनै कुरा छैन । कसैको कन्ट्रोल र कमाण्ड छैन । न्युनतम पूर्वाधारको समेत व्यवस्थापन हुन सकेको छैन । एकातर्फ माक्स, स्यानिटाइजर, पिपिइलगायत न्यूनतम सामग्रीको अभाव छ, स्वास्थ्यकर्मीको सुरक्षा छैन, अस्पतालमा गर्नुपर्ने न्युनतम तयारी समेत हुन सकेको छैन भने अर्कोतर्फ विरामीको शंका लागेका व्यक्ति कसरी अस्पतालसम्म ल्याउने भन्ने कुनै संयन्त्र छैन, अन्य अत्यावश्यक स्वास्थ्य सेवा समेत प्रभावित भएको छ, सवै तहको सरकारहरू र सम्बन्धित निकायहरूसंग समन्वयको अभाव छ, नागरिकले सुचना र जानकारी समेत सही ढंगले पाउन सकेका छैनन, नागरिक थप भयभित भएको अवस्था छ ।

प्रधानमन्त्रीज्यू ! यी आधारभुत विषय त सरकारको न्युनतम दायित्व होइन र ! यस्ता आधारभूत तर महत्वपूर्ण विषय आफै हुनुपर्ने हो र भइसक्नुपर्ने थियो । तर दुःखको साथ यस कुरामा समेत तपाईँको ध्यानाकर्षण गराउन बाध्य भएको छु।

तर तपाईंलाई फेरि पनि भन्न चाहान्छु,-अहिले नै परीक्षणलाई व्यापक बनाएर संक्रमित पहिचान र अलग गर्ने र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरे हामीले अस्पताल लग्नुपर्ने संक्रमितको संख्या कम हुन्छ र  हाम्रो अस्पतालमा आधारित तयारीले थेग्न सक्छ । अन्यथा सवै स्रोत अस्पताल भनेर थुपारे पनि केही हुदैन । हामी व्यवस्थापन नै गर्न नसक्ने अबस्थामा पुग्छौं । किनकी त्यो बेलामा दशौं कोरोना अस्पताल भएपनि पुग्दैन र सयौं भेन्टिलेटर भएपनि अपुग हुन्छ । त्यसैले त्यसरी अस्पताल नै पुग्न नपर्ने अवस्थाका लागि युद्धस्तरमा काम गरौं ।रक्षात्मक तयारीमा छौं अव आक्रमक ढंगले काम गरौं ।

प्रधानमन्त्रीज्यू ! हामीलाई अहिले निर्णय गर्ने मात्र होइन, गरेका निर्णय कार्यान्वयन गर्ने र ति निर्णय कार्यान्वयन भए नभएको निरगानी गर्ने, नागरिकलाई आदेश दिने मात्र होइन, नागरिकलाई सुसुचित गर्ने, भयभित बनाउने होइन आश्वस्त गराउने, आज के गर्ने भनेर सोच्ने मात्रै होइन महिनौं पछाडिको आंकलन गरी कार्ययोजना सहित काम गर्ने, आपतकालिन अवस्थामा छौं भन्ने मात्र होइन आपतकालिन अवस्थामा काम गर्न सक्ने, प्रतिक्रिया पर्खेर रक्षात्मक भएर बस्ने मात्र होइन जोखिमसंग जुध्न आक्रमक ढङ्गले समाधानका लागि अग्रसरता लिने सुझबुझपूर्ण नेतृत्व चाहिएको छ । हामीले सिमाबन्दी ,लकडाउन, परिक्षण, पहिचान, अलग्याउने, संक्रमितको उपचारलाई अलग-अलग होइन एउटै सिस्टम भित्र राखेर एउटै कमान्ड र कन्ट्रोलबाट चलाउन सक्नुपर्छ । यसको लागी देश भित्रबाट सहयोग लिनु पर्छ नै, देश बाहिर पनि परम्परागत स्वास्थ्य सेवाका एक्टर्सभन्दा बाहिर जान सक्नुपर्छ । यसरी अग्रसरता लिएर काम गर्दा हामीलाई केहीको अभाव हुनेछैन।

तपाईंको सम्पूर्ण साथ पाइरह्यौं भने हामी एक-एक संक्रमितलाई पहिचान गरी संक्रमणको त्यान्त्रोलाई  प्रारम्भमा नै चुँडाल्नेछौं र केही दिनमै हामी सामान्य अवस्थामा फर्कने छौं।

अन्त्यमा, प्रधानमन्त्रीज्यू मैले यो पत्र लेखिरहँदा देशभित्रका नागरिक लकडाउनको निर्णयको प्रभावमा र देश बाहिर रहेका दाजु-भाई दिदिबाहिनीहरु सीमाना बन्द ले प्रभावित भएका छन् । तपाईसँग यो कठोर निर्णय गर्ने बाहेक अन्य विकल्प पनि थिएन । अहिले नै यो अवस्था कहिले सामान्य हुन्छ भन्ने पूर्वानुमान पनि गरिहाल्न सकिन्न ।  त्यसैले मेरो आग्रह छ , देश बाहिर रहनुभएका दाजु-भाइ, दिदिबहिनी जहाँ जुन देशमा हुनुहुन्छ सरकारले त्यही पुग्ने प्रयास गरोस्। सरकार तपाईंसंगै छ भन्ने आभास दिलाउन सकोस् । वहाँहरुलाई भनोस्, माथि भनिएको जस्तो सीमाना बन्द र लकडाउनको कठोर निर्णयसँगै, व्यापक परीक्षण गर्दै संक्रमितलाई अलग्याउने सुझबुझपूर्ण निर्णयबाट केही दिनमा स्थिति नियन्त्रणमा आउँनेछ र तपाईँ आफ्ना प्रियजनको स्वास्थ्य र सुरक्षित घर भित्रिन सक्नु हुनेछ, तपाईंहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस् ।’

देशभित्र लकडाउनमा परेका नागरिकलाई फेरि पनि भन्नुहोस्- तपाईंको सम्पूर्ण साथ पाइरह्यौं भने हामी एक-एक संक्रमितलाई पहिचान गरी संक्रमणको त्यान्त्रोलाई  प्रारम्भमा नै चुँडाल्नेछौं र केही दिनमै हामी सामान्य अवस्थामा फर्कने छौं। जनताले यो आपतकालीन अवस्थामा केही दिन दु:ख सहेर पनि तपाईंलाई साथ दिनेछन् र केही सजिलोमा रहेकाले अफ्ट्यारो र अभावमा रहेकालाई सहयोग गरेर आफ्नो मानव धर्म निर्वाह गर्नेछन्।’

सम्माननीय प्रधानमन्त्रीज्यू !

मैले विगतमा छोटो समयका लागि स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हाल्ने मौका पाएको हुँदा मलाई हाम्रो स्वास्थ्य सेवाको सामर्थ्य र सीमितताको सामान्य आंकलन छ। त्यसैले मेरो यो अपील कुनै आलोचना नभएर कठीन संकटको यो घडीमा विश्वलाई नै त्राहिमाम् बनाइरहेको अदृश्य शत्रुसँग लड्न सरकारले गरिरहेको प्रयत्नलाई बल पुर्‍याउने उद्देश्यका साथ एउटा चिन्तित नागरिकले संसारको अनुभवबाट जानेबुझेका सूचना र उपायलाई देशहितमा प्रयोग गरौं भनेर गरेको आह्वान हो ।   यी उपायहरू अचूक नहोलान्, तर चीन, कोरिया र इटालीको अनुभवले यसबाहेक अन्य उपाय पनि नरहेको देखाउँछ । तपाईंको ईच्छाशक्तिले प्रभावित र प्रेरित मुलुकले यो कठीन घडीमा तपाईंबाट अझ सक्रिय नेतृत्वको अपेक्षा राख्नु स्वभाविक छ ।

मेरो हार्दिक शुभकामना !

प्रकाशित समय १२:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु