fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कोरोनाभाइरसका विषयमा हल्ला बढी भयो : कृष्णराज सुवेदी

कोरोनाभाइरसका विषयमा हल्ला बढी भयो : कृष्णराज सुवेदी

'जनताको जीउधनको सुरक्षा गर्न सरकार कटिबद्ध छ'

नोवेल कोरोनाभाइरस (कोभिड १९) फैलिएपछि सुदूरपश्चिम प्रदेशका नागरिक पनि त्रसित बनेका छन् । छिमेकी देश भारतका थुप्रै राज्यमा कोरोना संक्रमण देखिएपछि प्रदेशमा झनै त्रास बढेको छ । प्रदेशमा कोरोनाबारे पूर्वतयारी स्वरुप प्रदेश तथा स्थानीय सरकारले नाकाहरुमा हेल्थ डेस्क स्थापना, अस्पतालहरुमा आइसोलेसन कक्ष निर्माण र क्वारेन्टाइन सञ्चालन गरेका छन् । कोरोना भाइरस भित्रिन नदिन प्रदेश सरकारले के कस्ता प्रयास गरिरहेको छ ? र समग्र सामाजिक विकास मन्त्रालयका काम कसरी अगाडि बढिरहेका छन् ? यिनै विषयमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसँग सुदूरपश्चिम प्रदेश संयोजक दिनेश बिष्टले गरेको कुराकानी :


विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण हुन नदिन सरकारले केकस्तो तयारी गरिरहेको छ ?

कोरोनाको बिषयमा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले सर्तकता सुरु गरेको हो । मुख्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर हामी फागुन पहिलो सातादेखि नै रोकथाम गर्नका लागी लाग्या थियौं । सुदूरपश्चिमको दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा रहेका भारतसँग सिमानाका भएका क्षेत्रमा हेल्थ डेस्क राखेका छौँ । आउने मान्छेको जाँच गरिरहेका छौँ । अहिलेसम्म कुनै लक्षण भेटिएको छैन । भेटिइहाले राख्नका लागि क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापना गरेका छौँ । त्यसले नपुगे होटलमा समेत व्यवस्थापन गर्ने योजनाका साथ सम्बन्धित निकायहरुसँग छलफल गरेका छौं ।

प्रदेश सरकार क्रियाशील भएर लागेको छ । प्रदेशभर १२ नाका र धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी प्रदेश सरकार कोरोनाभाइरस भित्रिन नदिन संवेदनशील भएर काम गरिरहेको छ । अहिले धेरै हल्ला भएको छ । हल्लाको भरमा नपरी सामाजिक विकास मन्त्रालयले जारी गरेको जनहितमा जारी सूचनाका आधारमा काम गर्न आग्रह छ । मन्त्रालयले जारी गरेको जनहितमा जारी सन्देशको पालना सबैले गरे यो भाइरस फैलिँदैन । कतै भेटियो भने त्रिनगर भन्सारमा एम्बुलेन्स पनि राखेका छौँ । त्यसैले कोही त्यस्तो भेटिएमा अरु नागरिकसँग सम्पर्क नै हुन नदिएर क्वारेन्टाइनमा राखिनेछ ।

प्रदेश सरकार पूर्ण तयार छ भनेर तपाईंले दाबी गरिरहँदा उपकरण र दक्ष जनशक्ति अभाव छ भनेर गुनासो आइरहेकै छ नि ?

होइन, यस्तो हल्ला कहाँबाट आउँछ ? प्रदेश सरकारले तयारी गरेको छ । हामीले २५ बेडको एउटा घर बनाएका छौँ । त्यो पुगेन भने अटेज बाथरुमवाला होटलहरुको व्यवस्था गरेका छौँ । प्रदेश सरकारले सबै तयारी पूर्ण गरेको छ । अब यो कसले भन्छ, वास्ता नै गरेका छैनौं । सरकारलाई जानकारी छैन । यस्तो भन्नेको पछाडि नलाग्नुस् न । सुदूरपश्चिमका जनतालाई मैले तपाईंको सञ्चारमाध्यममार्फत अनुरोध गरेँ, हामीले व्यवस्था गरेका छौँ । प्रदेश सरकारले क्षमताअनुसार व्यवस्था गरेको छ । ठुलै महामारीको रुपमा फैलिए त्यसका लागि अझै व्यवस्था गरौँला तर केही नभइराखेका कुरामा धेरै हल्ला गर्ने, धेरै जनतालाई भ्रमित गर्ने कुरा उपयुक्त हुँदैन ।

सबै प्रदेश सरकार, केन्द्र सरकार चिन्तित भएर लागेको छ भनेपछि अब यो प्रदेश सरकारले यसमा केही गरेन भनेर हल्ला आएको छ । त्यो हल्लाको भरमा तपाईंहरु जस्तो पत्रकार पनि नलाग्न अनुरोध गर्छु । सत्यतथ्य बुझ्नुपर्छ । एक त यो देशै के छ भने हल्लै हल्लाको देश, सत्यलाई असत्य बनाउने, असत्यलाई सत्य बनाउने । हामीले आफूले गर्ने कुरा गरिरहेका छौँ । यो सरकारको काम हो नि अरुका लागि भन्दा पनि यो सरकारको दायित्व हो । हामीले यो काम गर्नैपर्छ । जनताको जिउधनको सुरक्षा गर्ने सरकारको दायित्व हो । त्यो दायित्व पूरा गर्न सरकार कटिबद्ध छ ।

क्वारेन्टाइन स्थापनाको विषय के हो ? कहाँ स्थापना भएको छ ?

क्वारेन्टाइन पनि स्थापना गरेका छौँ । तर, फलाना ठाउँमा भनेर हामी भन्दैनौँ । धेरै हल्ला नगर्ने भएकाले र जनतामा त्यसको नराम्रो प्रभाव पर्ने भएकाले हामीले नभने पनि क्वारेन्टाइन स्थापना भइसकेको छ । आवश्यक तयारी सबै पूरा छ । हामीले होटल व्यवसायी, बस व्यवसायी र अस्पताल सञ्चालकलाई बोलाएर छलफल गरेका छौं । सबैबाट माग्नुपर्ने सहयोगका लागि पनि अपिल भएको छ । उहाँहरुले पनि सहमति जनाउनुभएको छ ।

यो त सबैको जिम्मेवारी हो । यहाँका हरेक क्षेत्रमा काम गर्ने साथीहरुले प्रदेश सरकारलाई सहयोग गर्नुभएको छ । यो कोरोना महामारी रोक्न सबै क्रियाशील भएर लागेका छौँ । यसमा तपाईंहरुले पनि हामीले अनुरोध गरेअनुसार सन्देश पुर्‍याउनुभएको छ । यसको सबैभन्दा ठूलो माध्यम प्रचारप्रसार हो । यो गलत कुरालाई धेरै बढावा दिएर यो आइहाल्यो भनेर हल्ला गरेर काम हुँदैन । त्यसैले यो कुराहरु प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पन्छिने कुरा होइन । हामी इमानदारीपूर्वक लाग्या छौं ।

अब समग्र मन्त्रालयको कामतर्फ लागौँ, तपाईंले यो मन्त्रालय सम्हालेको डेढ वर्ष बित्यो कस्तो रह्यो अनुभव ?

सिक्दै जाने कुराको अनुभव बटुल्दै छौँ । यसलाई राम्रै रह्यो भन्नुपर्छ । सन्तुष्ट छु ।

डेढ वर्षको अवधीमा आफैंले गरेका कामको कसरी मूल्यांकन गर्नुहुन्छ ?

यो डेढ वर्षमा मन्त्रालयले गरेका कामहरु भन्नुपर्दा गरिब, जेहेन्दार, पिछडिएको र दुर्गम क्षेत्रका विद्यार्थीलाई एमबिबिएस पढाउने जुन हामीले नीति ल्यायौँ, सबैभन्दा महत्वपूर्ण यही लागेको छ । हाम्रो सुदूरपश्चिममा केही मान्छेलाई हामीले डक्टर बनाउन सक्यौँ भने सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ ।

यो बिचमा मन्त्रालय धेरै चर्चामा रह्यो नि ?

यो त मेरो मन्त्रालय चर्चितै मन्त्रालय हो । चर्चामा रह्यो जे होस् मलाई पत्रकार अनि सामाजिक सञ्जाल सबैले चर्चामा ल्याइदिनुभएको छ । राम्रै छ ।

धेरै नकारात्मक टिकाटिप्पणी हुने गरेको छ, किन यस्तो अवस्था आउँछ ?

टिकाटिप्पणी काम गर्नेको आउँछ । जसले कामै गर्दैन उसको टिकाटिप्पणी पनि आउँदैन । धेरै टिकाटिप्पणीलाई म अन्यथा पनि मान्दिन । मेरो विचारमा त्यति धेरै जनताले दिएको मत, पार्टीले पत्याएको मान्छेले विधि विधान र पद्धतिविपरीत गर्नु हुन्न । गलत गर्नु हुन्न, गलत नगरे डराउनु हुन्न भन्ने मान्यताले काम गरिरहेको छु । म न गल्ती गर्छु, न मैले कसैको डर मान्ने परिस्थिति छ ।

मन्त्रालयले अत्याधुनिक एम्बुलेन्स खरिद गरेर वितरण गर्‍यो, जुन पेचिलो विषय बन्यो, अनियमितता भयो भनेर पनि आयो, सत्यता के हो ?

यसको सत्य तथ्य छानबिन होस् । कहीँ कतै कसैबाट कमीकमजोरी भएको भए त्यसलाई कानुनी कारबाही होस् । मेरो सहमति छ । संसदमा सार्वजनिक लेखा समितिले पनि छानबिन गर्दै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । त्यसैले यसमा दोषी कोही भन्यो भने त्यस्तालाई कारबाही गर्न म तयार छु । अयिमितता भएको छ भने कारबाही हुनुपर्छ । तर हल्लाकै भरमा पछाडि लागेर मन्त्रालयलाई र मन्त्रीलाई बदनाम गर्ने काम भइरहेको छ । यो राम्रो होइन ।

महिला र बालबालिकाका क्षेत्रमा मन्त्रालयले के काम गरेको छ ?

महिला र बालबालिकाको हकमा बालबालिका विधेयक अब संसदमा दर्ता हुँदैछ । यस प्रदेशमा १७ लाख महिला छन् । उनीहरुको हकहितका लागि सम्मानपूर्वक जीविकोपार्जन गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार महिलाको हकहितमा काम गर्न लाग्या छ । हामीले सबै निर्वाचन क्षेत्रमा महिला लक्षित कार्यक्रम अगाडि ल्याएका छौँ ।

अछाम र बझाङमा छाउपडी प्रथाविरुद्ध अभियान चलाएका छौँ । बाजुरा र दार्चुलामा ‘सानै छौँ, बालविवाह होइन पढ्न दिऊँ’ भन्ने नारा दिएर कार्यक्रम अगाडि बढाएका छौँ । महिला लक्षित कार्यक्रममा तरकारीखेती, सिलाइकटाइ तालिम र प्राविधिक हिसाबमा पनि मजबुत बनाउने कुरामा मन्त्रालयले काम गरिरहेको छ । छात्रवृत्तिमा पनि महिलालाई प्राथमिकता दिएका छौँ । आर्थिक अभावले शिक्षाबाट वञ्चित नहोउन् भनेर १७६ छात्रालाई ५०/५० हजारका दरले छात्रवृत्ति दिने निर्णय गरेका छौँ ।

सुदूरपश्चिम प्रदेशमा बेरोजगारी बढ्दो छ । युवा बेरोजगार भएर विदेश पलायन भइरहेका छन्, रोजगारीका विषयमा के गरिरहेको छ मन्त्रालयले ?

रोजगारीकै लागि करार भर्ना गर्ने गरी शिक्षा निर्देशनालयमै विज्ञापन खोलेका छौँ । प्राविधिक विषयका लागि पनि विज्ञापन खोलेका छौँ । सामाजिक विकास मन्त्रालयले युवा, महिला, खेलाडी, शिक्षकलगायत सबैलाई समेट्ने गरेर कार्यक्रम अगाडि बढाएका छौँ ।समग्र प्रदेशको युवा, महिला, असहाय र अनाथ बालबालिकाका पक्षमा काम गर्ने मन्त्रालय भएको हुनाले यस्ता कार्यक्रमलाई अगाडि बढाएका छौँ ।

प्रकाशित समय २२:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु