fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ स्मार्ट सेयर लगानीकर्ता

स्मार्ट सेयर लगानीकर्ता

rabindra bhattarai

महेश फाइनान्स कम्पनीमा काम गर्छन् । बिहान ८ बजेसँगै उनको व्यस्तता सुरु हुन्छ । बेलुका अफिसबाट निस्कँदा प्रायः ८ नै बजिसकेको हुन्छ । काम सुरु गर्दा उनलाई लागेको थियो- दिनको आठ घन्टाभन्दा बढी समय आफ्नो हो । तर, काम सुरु गरेपछि उनले थाहा पाए कि आठ घन्टाभन्दा बढीको समय सबै उनको होइन रहेछ । बाहिर देख्नेहरुका लागि बैंकको जागिरे देखिए पनि सुरुका दिनमा कहिलेकाहीँ तलबले खाजा खाने पैसासम्म नपुग्दा साथीभाइसँग सापटी माग्नुपर्ने अवस्था थियो । तर, अहिले उनको अवस्थामा केही परिवर्तन आएको छ । उनी केही बचाउन सक्ने अवस्थामा छन् ।

अलि अलि बचाएको पैसा सेयरमा लगानी गर्ने उनको चाहना छ । सेयरबाट धनी बनेकाहरुको कथाबाट उनी निकै प्रभावित छन् । नेपालकै पनि कयौं लगानीकर्ताले सेयरबाट बनाएको सम्पत्तिको अवस्था हेर्न उनले भ्याएका छन् । फुर्सदको समयमा लगानीसम्बन्धी किताब पढ्ने र वेबसाइट चहार्ने आदत बनाइसकेका महेशले केही बचतबाट सेयरमा लगानी गर्न सुरु गर्ने मनस्थिति बनाइसकेका छन् । तर, उनीसँग न हरेक समय वेबसाइट चहार्ने समय छ न त ब्रोकर कार्यालयमा दैनिक गएर गफ चुट्ने नै । महेश मात्र होइन, धेरै मानिसको व्यस्तता यसरी नै बढेर गएको छ ।

फुर्सदको समयमा लगानीसम्बन्धी किताब पढ्ने र वेबसाइट चहार्ने आदत बनाइसकेका महेशले केही बचतबाट सेयरमा लगानी गर्न सुरु गर्ने मनस्थिति बनाइसकेका छन् ।

व्यस्तताका बाबजुद पनि उनी सेयरमा लगानी सुरु गर्न चाहन्छन् । जसका लागि उनले सेयर कारोबार खाता खोल्ने निर्णय गरिसकेका छन् । डिम्याट खाता भने उनले पहिल्यै खोलिसकेका छन् । सेयर कारोबार खाता खोल्न महेश नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा गएर ब्रोकरको सूची हेर्छन् । सयौं ब्रोकरको सूचीमा उनले केही ठूला बैंकको नाम जोडिएका ब्रोकरको नाम पनि पाउँछन् । जस्तैः सानिमा क्यापिटल, एनआइसी एसिया क्यापिटल आदि ।

आफ्नै बचत खाता भएको बैंकको ब्रोकरकहाँ खाता खोल्दा अलिक सहज होला कि भन्ने सामान्य विवेक प्रयोग गरेर उनी बैंक खाता भएकै ब्रोकरको वेबसाइटमा गएर सूचना लिन्छन् । त्यसो त धेरै महिनाअघि बैंकका सहायक कम्पनीले सेयर कारोबारको लाइसेन्स पाएपछि त्यसको सूची नेप्सेले उसको वेबसाइटमा पनि अद्यावधिक गरिसकेको छ ।

बचत खाता भएकै बैंकको सहायक कम्पनीमा सेयर कारोबार खाता खेल्ने उनले निर्णय गर्छन् । हुन त धेरै अघिदेखि वान क्लिक कारोबार खाता वा वान स्टप सेयर सपिङ भन्ने जस्ता बैंकका विज्ञापन सुन्दै आएका थिए । समय नभएका महेशलाई धेरैतिर दौडने फुर्सद छैन । यसैले पनि वान स्टप सेयर कारोबार उनका लागि निकै सहज हुने ठानेका छन् ।

महेशले यसअघि नै अनलाइन बैंकिङ कारोबारको युजर नेम र पासवर्ड लिइसकेका छन् । उनी आफ्नो बैंकिङ कारोबारलाई अनलाइनमार्फत नै निगरानी गरिरहेका हुन्छन् । उनको बैंक खाताको विवरण सबै प्रकारका कानुनी प्रावधानअनुसार अद्यावधिक छ । केही समयअघि नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकले जारी गरेका नियमअनुसार बैंकका खाताधनीले सोही खाताको विवरणका आधारमा बैंकमा सेयर कारोबार खाता खोल्न सक्नेछन् । सेयर कारोबार खाता खोल्नका लागि कुनै अर्को फाराम भरिरहनुपर्ने आवश्यकता छैन । सेयर कारोबार खातामात्र नभई डिम्याट खाता पनि सोही विवरणका आधारमा खोल्न सकिने व्यवस्था पहिले नै भइसकेको छ ।

महेशले अनलाइन बैंकिङ लग इन गर्दा केही समय पहिलेदेखि वान क्लिकमा सेयर कारोबार खाता खोल्नुहोस् भन्ने सूचना देख्दै आएका थिए । राष्ट्र बैंक र धितोपत्र बोर्डले कारोबार खाता खोल्न बैंक खाताको व्यक्तिगत विवरणलाई नै प्रयोग गर्न सकिने व्यवस्था गरेपछि बैंकहरुले वान क्लिक कारोबार खाताको सुरुवात गरेका हुन् । महेशले पनि सोही सुविधाको उपयोग गरेर शनिबारको दिन सेयर कारोबार खाता खोल्छन् । जसका लागि उनले अनलाइन बैंकिङ लग इन गरेर कारोबार खाता खोल्नुहोस् भन्ने लिङ्कमा दबाउँछन् ।

यससँगै उनले केही प्रश्नको सामना गर्नुपर्ने हुन्छ । पहिलो प्रश्नमा भनिएको छ– के तपाईं बैंकको बचत खाताको विवरणका आधारमा नै सेयर कारोबार खाता खोल्न चाहनुहुन्छ ? उनले ‘हुन्छ’ भन्ने बटन दबाउँछन् ।

दोस्रो प्रश्नमा ब्रोकर र लगानीकर्ताबीचको सम्झौताका सर्तहरु भएको सूची आउँछ, जसमा महेश जस्ता सेयर कारोबार खाता खोल्न चाहनेहरु सहमत हुनुपर्नेछ । ‘यी सर्तहरुमा सहमत छु’ भन्ने बटन दबाएसँगै उनको कारोबार खाता खुल्छ ।

त्यसपछि बचत खाताको विवरण कारोबार खातामा पनि देखिन्छ । तत्काल उनको इमेलमा बधाईसँगै कारोबार खाता खुलेको सूचना प्राप्त हुन्छ । यससँगै उनले दुई-तीन पेजमा समेटिएका केही महत्वपूर्ण सूचना पनि प्राप्त गर्छन् । जस्तैः सेयर कारोबारमा लाग्ने कमिसन, पुँजीगत लाभकर, कारोबारको हिसाबकिताव राफसाफ तरिका, नियामक निकायको नाम, गुनासा सुन्ने र राख्ने तरिका, सेयर बजारसम्बन्धी महत्वपूर्ण वेबसाइटहरु, सेयर बजारका जोखिमहरु आदि ।

महेशले सेयरको अनलाइन कारोबारका लागि अलग्गै पासवर्ड बोकिरहनुपर्ने छैन । अनलाइन बैंकिङ लग इन गरेपछि उनी एकैपटक बैंकिङ र सेयर कारोबार खाता दुवैमा पुग्नेछन् । बैंकिङ कारोबारका लागि बैंक खातामा जानुपर्नेछ भने सेयर कारोबारका लागि सेयर खातामा जानुपर्नेछ ।

सेयर कारोबार खाताभित्र महेश जस्तै लगानीकर्ताले सुविधाका धेरै विकल्प प्राप्त गर्छन् । ग्राहकको सुविधाका लागि बैंकले पर्याप्त लगानी गरेको देखिन्छ । यति मात्र नभई, लगानीकर्ताले बैंकको मोबाइल एपमार्फत पनि सेयर कारोबारको सुविधा उपयोग गर्न सक्नेछन् । कारोबारका लागि कम्प्युटर नै खोल्नुपर्छ भन्ने छैन । एउटै पासवर्डले दुवैलाई काम गर्नेछ ।

सेयर कारोबार सुरु गर्नुअघि महेश बैंकको कारोबार खाताका बारेमा केही जानकारी लिन्छन् । कारोबार खाताभित्र बैंकले धेरै सुविधायुक्त विकल्प राखेको छ । जस्तैः बैंक खाताबाट कारोबार खातामा पैसा सार्ने, पोर्टफोलियो, पोर्टफोलियोको प्रतिफलको अवस्था, कारोबार, सेयर छनोट गर्न स्टक स्क्रिनर, सेयर कारोबार आदेश आदि । सीमित समयका कारण महेश सेयर कारोबारलाई अधिकतम रुपमा अटोमेटेड बनाउन चाहन्छन् । यसको अर्थ, उनलाई बारम्बार खाता लग इन गरिरहनु नपरोस्, बारम्बार सूचनाका लागि विभिन्न वेबसाइट चहार्नु नपरोस् भन्ने हो ।

सीमित समयका कारण महेश सेयर कारोबारलाई अधिकतम रुपमा अटोमेटेड बनाउन चाहन्छन् ।

बैंकको अनलाइन कारोबार खाताबाटै वर्षभरिको कारोबारको विवरण हेर्न सकिन्छ । नाफामा भएका कारोबार र घाटामा भएका कारोबारको अलग–अलग विवरण, कुल नाफा वा नोक्सान, कुल तथा कम्पनीपिच्छे तिरेको कमिसन, प्राप्त भएको कुल नगद लाभांश, पोर्टफोलियोमा विभिन्न क्षेत्र जस्तो बैंक, बिमा, जलविद्युत, लघुवित्तको लगानी अनुपात आदि सबै बैंकको कारोबार खाताबाट देख्न सकिन्छ । यसका लागि अलग्गै फाइल तयार गर्नु पर्दैन ।

सेयर कारोबारका लागि महेशले कम्पनी छनोटको आफ्नै मापदण्ड बनाएका छन् । उनी स्थापना भएको कम्तीमा १० वर्ष पुगेकोे कम्पनीमा मात्र लगानी गर्न चाहन्छन् । कम्तीमा पाँच वर्षदेखि औसतमा २० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्नेछ । बजार पुँजीकरण कम्तीमा १० अर्ब भएको, इक्विटीमा प्रतिफल कम्तीमा १५ प्रतिशत भएको, आम्दानी वार्षिक औसतमा कम्तीमा १५ प्रतिशतले बढेको, औसतमा सेयर कारोबार दैनिक २० हजार कित्ता भएको, २०० बाट ७०० सम्मको सेयर मूल्य भएको, मूल्य आम्दानी अनुपात बढीमा १५ गुणा भएको कम्पनी उनको रोजाइमा पर्छन् ।

बैंकले यी सम्पूर्ण सूचना आफ्नो प्रणालीमा अपडेट गरेको छ । लगानीकर्ताले सूचनाका लागि प्रत्येक कम्पनीको वेबसाइटमा गइरहनु पर्दैन । यिनै मापदण्डलाई कारोबार खातामा रहेको स्टक स्क्रिनरमा राखेर महेशले कम्पनी छनोट गर्छन् । पटक पटक कम्पनी छनोटका आधारहरु स्त्रिनरमा हाल्न उनीसँग समय छैन । त्यसैले यो मापदण्डलाई सेभ गरेर राखेका छन् । समय समयमा रिफ्रेस गर्नका लागि उनले अटो सिफ्रेस भन्ने विकल्प छानेका छन् । यसले गर्दा हरेक दिन स्क्रिनर आफैं रिफ्रेस हुन्छ । राखिएको मापदण्डबमोजिम नयाँ कम्पनी देखा पर्ने र मापदण्डमा नपर्ने हट्ने गरेका हुन्छन् । कुनै कम्पनी मापदण्डबाट बाहिरिए महेशको इमेलमा स्वतः जानकारी आउनेछ । मापदण्डबाट बाहिरिएका कम्पनी बेच्ने उनको लगानी योजना छ ।

सेयर कारोबारका लागि महेशले बचत खाताबाट कारोबार खातामा पैसा सार्छन् । त्यसका लागि पैसा सार्ने विकल्पमा गएर ‘बचतबाट कारोबार खातामा’ भन्ने विकल्प छनोट गर्छन् । धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाअनुसार खातामा पैसा नभई सेयर किन्न सकिँदैन । कारोबार खातामा पैसा नभई खरिद गर्न चाहे वा पैसाले पुग्नेभन्दा बढीको सेयर संख्याको खरिद आदेश सिस्टमले लिँदैन । कारोबार खाताबाट पनि एउटा खल्तीको पैसा अर्को खल्तीमा सारेझैं सजिलै बचत खातामा पैसा सार्न सकिन्छ । त्यसका लागि बैंकलाई सोधिरहनु पर्दैन ।

छानेका कम्पनीको सूचनाका लागि हरेक दिन वेबसाइट चहार्ने समय पनि महेशसँग छैन । सजिलोका लागि उनले सूचना सब्स्क्राइव गरेका छन् । बैंकले कम्पनीका सूचना सिस्टममा राख्नासाथ महेशको इमेलमा पनि सूचनासहितको जानकारी स्वतः जानेछ ।

यस्तै कतिपय कम्पनीको मूल्य घटेपछि उनी किन्न चाहन्छन् तर यसका लागि उनीसँग हरेक दिन मूल्य कहाँ पुग्यो भनेर हेर्न चाहँदैनन् । त्यसका लागि कारोबार खाताबाटै कम्पनीको मूल्य घटेर चाहेको मूल्यमा झरे इमेलमा जानकारी पाउने गरी सेटिङ मिलाएका छन् । जस्तैः अहिले ४५० रुपैयाँमा कारोबार भएको एनआइसी एसिया ४१५ वा त्योभन्दा तल आए किन्ने उनको योजना छ । त्यसका लागि उनले ४१५ मा झरे तत्काल इमेलमा सूचना जानेगरी सेटिङ मिलाएका छन् । चाहेका सबै कम्पनीको मूल्यको सूचना यसरी नै प्राप्त गर्ने गरी अनलाइन कारोबारको प्रणालीबाटै उनले व्यवस्था मिलाएका छन् ।

चाहेका सबै कम्पनीको मूल्यको सूचना यसरी नै प्राप्त गर्ने गरी अनलाइन कारोबारको प्रणालीबाटै उनले व्यवस्था मिलाएका छन् ।

सेयर कारोबारका लागि बैंकले उनको अनलाइन कारोबार प्रणालीमा धेरै प्रकारले किनबेचको आदेश दिनसक्ने व्यवस्था गरेको छ । जसमा तत्कालको बजार मूल्यमा किन्न वा बेच्न सकिने बजार आदेश (मार्केट अर्डर), घटेर यतिमा आए किन्छु वा बढेर यतिमा पुगे बेच्छु भन्ने सीमा आदेशबाहेक अन्य केही आदेश दिन वा राख्न सकिनेछ । जुन आदेशको प्रयोगलाई लगानी रणनीतिमा निकै महत्वपूर्ण मानिन्छ । उदाहरणका लागि महेशसँग कारोबार खातामा ५० हजार रुपैयाँमात्र छ । त्यो पैसाले उनले चाहेको कित्ताका लागि दुईवटा कम्पनीको सेयर किन्न एकैपटक सामान्य सीमा आदेश राख्न सकिँदैन । एउटा कम्पनीको आदेश राखेर अर्को कम्पनीको पनि आदेश राख्न खोज्दा सिस्टमले पैसा नपुग्ने संकेत गर्छ । तर, यसको सजिलोका लागि बैंकले रणनीतिक आदेशको सुविधाको विकास गरेको छ । जुन आदेशमा त्यति नै पैसामा दुइटा कम्पनीको आदेश एकैपटक राख्न सकिन्छ । जहाँ एउटा किनिए अर्को आदेश स्वतः रद्द हुन्छ ।

जस्तो कि ऊ सानिमाको ३१० वा एनआइसीको ३१५ मा किन्न चाहन्छ । यसका लागि जुन कम्पनीको सेयर मूल्य पहिला चाहेको मूल्यमा झर्छ सोही किनिने र अर्को आदेश स्वतः रद्द हुने गरी रणनीतिक आदेश राख्न सकिन्छ । यस्तै एउटा बिक्री गरेर अर्को किन्न चाहनेका लागि बैंकले लगानीकर्तालाई अर्को प्रकारको आदेशको सुविधा पनि दिएको छ । कतिपय कारोबारीलाई यो सेयर बिक्री भएपछि अर्को किन्छु भन्ने हुन्छ ।

उदाहरणका लागि सानिमाको सेयर ३२५ मा बिक्री भएपछि हिमालयन बैंकको सेयर ५०० रुपैयाँमा किन्छु भन्ने हुन्छ । तर, बारम्बार मोबाइल वा कम्प्युटर हेरिरहने समय हुँदैन । यसका लागि एउटा आदेश कार्यान्वयन भएपछि मात्र अर्को कार्यान्वयन हुने रणनीतिक आदेश राख्नसक्ने व्यवस्था गरेको छ । सानिमाको ३२५ मा बिक्री भएपछि हिमालयनको ५०० मा किन्ने भन्ने आदेश एकैपटक राख्न सकिन्छ ।

यसको अर्थ सानिमाको बिक्री भएपछि मात्र हिमालयन किनिन्छ । यस्ता रणनीतिक आदेशको सुविधाले महेश र महेश जस्ता बारम्बार सेयर बजार चिहाउन समय नभएका लगानीकर्तालाई सजिलो भएको छ । बैंकले ब्रोकर लाइसेन्स पाएसँगै उपलब्ध गराएका यी सुविधाले लगानीकर्तालाई स्मार्ट बनाएको छ । (कल्पनामा आधारित ।)

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

नेप्सेको संकीर्णता र मुकदर्शक नियामक

प्रकाशित समय ११:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु