गृहपृष्ठ गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत हेरेर भाेलिमात्र सपथ लिने बताएका छन् ।कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।
उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए ।
प्रकाशित समय : १६:१७ बजे