गृहपृष्ठ विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सलाई ऐतिहासिक सफलता

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सलाई ऐतिहासिक सफलता

prince dahal_badminton

विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा थिए ।

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा थिए । नेपालका जुनियर खेलाडी दाहालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । २०७६ साल चैतमा विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा थिए ।

२०७६ साल मंसिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ, पुस दोस्रो साता १४औँ तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका हुन् । दार्चुला सदरमुकाम खलंगा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासंघले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु