गृहपृष्ठ ‘पल्सर स्पोर्टस अवार्ड’ कार्यक्रम आज, १० विधामा अवार्ड प्रदान गरिने
‘पल्सर स्पोर्टस अवार्ड’ कार्यक्रम आज, १० विधामा अवार्ड प्रदान गरिने

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने ‘पल्सर स्पोर्टस अवार्ड’ कार्यक्रम आज आयोजना हुँदैछ । अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुने मञ्चले जनाएको छ ।
आयोजकका अनुसार सेमी-भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने भएको छ । अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।
ई-सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् ।
पल्सर स्पोर्ट्स अवार्डमा पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रकाशित समय १२:०७ बजे