fbpx
corona information

गृहपृष्ठ जब भलिबलमा राजनीति घुस्न थाल्यो, अनि माधव विरक्तिए

जब भलिबलमा राजनीति घुस्न थाल्यो, अनि माधव विरक्तिए

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुवेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो । कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै जिम्मेवारी र मर्यादामा रहेर पनि माधव भलिबलमा समर्पित रहे ।

चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको व्यवस्थित मैदान । भलिबलको सुइँको पाउनेवित्तिकै माधव हानिन्थे । विद्यालयमा पढ्दा नै माधवको मनमा भलिबलको ‘नशा’ बसिसकेको थियो । भलिबल खेल्न र खेलाउनका लागि खेतबारीका गह्रादेखि जिल्ला/जिल्लामा माधव पुग्नुपर्थ्यो र पुग्थे पनि । उनको भलिबल खेलको ‘श्री गणेश’ चाहिँ गाउँकै विद्यालय (सरस्वती मावि सुलुबुङ)मा कक्षा ६ मै पढ्दा भयो ।

विद्यालयमा माहोल नै भलिबलको भएपछि उनको मन तानिनु अनौठो भएन । कक्षा ६ मा सुरु गरेको भलिबल १० कक्षामा पुग्दा त माधव स्थानीयस्तरमा मात्र नभएर जिल्लाभर नै ‘अब्बल’ खेलाडीका रुपमा गनिन थालिसकेका थिए । गाउँका विद्यालय/विद्यालयमा हुने ‘भाले’ (कुखुराको भालेमा बाजी पर्ने खेल) प्रतियोगिताले माधवको मनमा अड्डा जमाउन थाल्यो ।

कक्षा १० सकेर माधवले विद्यालय त छाडे तर मनले भलिबल सिकेको विद्यालय छाडेन । उच्च शिक्षाका लागि सदरमुकाम पसेको दुई वर्ष माधवको मन उजाडियो । ग्रामीण भेगबाट आएकाले सदरमुकाममा भलिबलमा स्थान पाउन कठिन थियो । तर, मनको इच्छा कसले रोक्न सक्थ्यो र ! बिदाको समय गाउँ पुगेर पनि माधव भलिबलमा सामेल भएरै छाड्थे । ‘मैले विद्यालय तहमै पनि धेरैतिर भलिबल खेल्न पुग्थे’, माधव भन्छन्, ‘शनिबार/शुक्रबार आउँदै हुँदैन थियो । टिम बनाएर भाले खेल्न पुगिहालिन्थ्यो ।’

भलिबल मोहले पढाइ ‘बिर्सिएको’ त्यो पल

जबजब माधवको कक्षा बढ्दै गयो । तबतब, भलिबलको मोह पनि उचालिँदै गयो । स्नातक अध्ययनका लागि सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस माधव भर्ना त भए तर पढाइमा खासै ध्यानै गएन । क्याम्पसको पढाइले भन्दा प्रांगणको भलिबलले तानेपछि पढाइ कसरी उभो लाग्थ्यो र !

जेनेतन माधवले स्नातक तह पार त लगाए तर राम्रो नम्बर भने आएन । ‘खालि भलिबल भनेर कुदिन्थ्यो । कहिल्यै कक्षा बसे पो पढ्नु,’ माधवले हाँस्दै भने, ‘मनमा पढ्न ध्यान भए पो राम्रो अंक आउँथ्यो ।’ भलिबलले माधवको स्नातकोत्तर गर्ने योजनै चौपट भयो । तर, उनले क्याम्पस अध्ययनकै समयमा अन्तरक्याम्पसदेखि अन्तरजिल्लासम्मका प्रतियोगिताको कप्तानी सम्हाले । यतिमात्र होइन, माधव गाउँ÷गाउँमा भलिबलको प्रचार गर्दै हिँडे । खेल भन्नेवित्तिकै फुटबल बुझ्ने अधिकांश गाउँका विद्यालयमा माधवकै अगुवाइमा भलिबल संघ बन्यो । भलिबलमा लत बसेपछि माधवले रेफ्री कोर्ष गरे । त्यसपछि त माधव भलिबल खेल्न मात्र होइन, खेलाउने सम्म भए । क्षेत्रीय भलिबल रेफ्री भएपछि माधवले राष्ट्रिय रेफ्रीको अध्ययन गर्ने योजना बनाए । तर, त्यो योजना भने विफल सावित भयो । जिल्लामा पढाइ नहुने भएपछि घरायसी समस्याले बाहिर जान रोक्यो ।

भलिबलमा भविष्य नदेखेपछि

दुई दशक भलिबलमा गुजार्दा पनि माधवले भविष्य देखेनन् । गाउँघरमा भएका प्रतियोगितामा अलिअलि पैसा पाए पनि जीविकोपार्जन हुने छनक देखिएन । सरकारीस्तरबाट भलिबलमा प्रवद्र्धनका कार्यक्रम नहुँदा माधवले क्षेत्रै परिवर्तन गर्नुपर्ने देखे । तत्काल के गर्ने भन्ने योजना बनेन र बन्ने कुरा पनि भएन ।

यसै विषयलाई लिएर माधव घर(सुलुबुङ) पुगे । पारिवारिक सल्लाहअनुसार माधवले घरमै बसेर चियाबारीको काम गर्नुपर्ने भयो । अब माधव घरमै रहेर चिया प्रशोधनमा व्यस्त हुन थाले । आर्थिकसमस्या भएपछि माधवले त्यो काम समाए । तर, उनको मन मानेन ।

चिया प्रशोधन मात्र नभई डेरी खोल्दा पनि उनलाई ‘के नपुगेजस्तो’ लाग्यो । भलिबल भनेपछि मरिहत्ते गर्ने माधवलाई जुन काम गर्नुपर्‍यो त्यो गाह्रो भयो । तर, पनि बाध्यतावस गर्नुप¥यो । दुईवर्ष गाउँमा समय गुजार्दा माधवलाई नयाँ काम गर्नुपर्छ भन्ने ‘हुटहुटी’ चल्न थाल्यो । इलामे पहिचान बोकेका वस्तु गाउँमा नबिकेको देख्दा माधवलाई चित्त बुझेन । गाउँमा फल्ने अकबरे बजार नपाएर कुहिएको र दूध नबिकेको देख्दा माधवको मनै खिन्न भयो ।

यत्तिकैमा माधव सदरमुकाममा पसल खोल्ने निर्णयमा पुगे । गाउँमा उत्पादन भएको चिया, गाउँकै छुर्पी र खुर्सानी बेच्न उनी सदरमुकाम सरेँ । सदरमुकाम सरेर माधवले चिया र छुर्पी मात्र बेचेनन् । सदरमुकाम छेउछाउकै किसानबाट दूध किनेर नगरवासीलाई दूध र दही बेच्न थाले ।

सदरमुकाममा एकातिर दूध नबिकेर हैरान किसान र अर्कातिर दूध किन्नबाट बञ्चित ग्राहकका लागि ‘पुल’ बने माधव । अहिले माधवले ५०÷६० किसानबाट दूध किनेर बजार क्षेत्रका ५० बढी परिवारलाई दूध र दही बेच्छन् । कमाउनकै लागि त सजिलो काम गर्दा हुन्थ्यो तर ‘नयाँ’ कामका लागि माधवले यो काममा हात हालेका हुन् ।

भलिबलमा राजनीति घुसेपछि दुखेको मन

जब माधव सदरमुकाममा पसल खोल्ने तरखर गर्दै थिए । त्यसबेला जिल्लामा भलिबलको सरागर्मी बढिरहेको थियो । व्यवसायमा बढी र भलिबलमा कम समय दिँदै जाँदा पनि माधवको भलिबलको छवि भने धुमिल भएको थिएन । तर, अधिवेशनको पूर्वसन्ध्यामा भलिबलमाथि राजनीति घुस्न थाल्योे । ‘मभन्दा जुनियर व्यक्ति पदमा आकांक्षी भएपछि पदीय जिम्मेवारीमा बस्ने मनै भएन,’ माधवले विगत सम्झिए, ‘त्यसपछि पदीयमोह नै त्यागिदिएँ ।’ यो घटनापछि माधवलाई विरक्त लाग्न थाल्यो ।

भलिबल नै त्यागेर व्यवसायमै लाग्न पनि माधवले खोजे । तर, मन किन मान्थ्यो र ! अधिवेशन नभई तदर्थ समिति बनेपछि भने माधवले केही राहतको महसुस गरे । त्यसपछि दुई कार्यकाल तदर्थ समितिको सचिवमा रहेर माधवले पदीय जिम्मेवारी निभाए । तर, यति धेरै उत्सुक र अब्बल माधव अहिले भने भलिबलको कुनै पदमा अटाएका छैनन् । ‘निष्पक्ष रूपमा अधिवेशन भयो भने जुनै पदमा पनि बस्छु,’ माधव भन्छन्, ‘राजनीतिकरण चाहिँ मान्दिनँ ।’

इलाम चिनाउने चाहना

सुुरुवातमै इलामे पहिचान (चिया, अकबरे, छुर्पी) बेचेका उनलाई देशका सहर-सहरमा यस्ता वस्तु बेच्न मन छ । अहिले पसलबाट काठमाडौं, चितवन र पोखरीमा माधवले यी सामग्री पठाउँछन् । उनको व्यवसाय (इलाम सदरमुकामस्थित माइपोखरी अर्गानिक एग्रिकल्चर सप्लार्यस)बाटै इलाम चिनाउने योजना पूरा भएको छैन । उनलाई इलाममा उत्पादन भएको घ्यु खारेर देशका कुना कुनामा लगेर चखाउन मन छ ।

‘हाम्रा अर्गानिक प्रोडक्ट कसैले चिन्दैन । देशमै पनि इलामको चिया भनेर दाना (सीटीसी) चिया बेच्छन्,’ माधव भन्छन्, ‘म देशका हरेक सहरहरुमा यस्ता वस्तुको प्रवद्र्धन गर्न खोज्दै छु । सायद, सक्छु होला ।’

‘राष्ट्रिय खेल हेपिएको मेरो देश’

माधवलाई ‘राष्ट्रिय खेल भलिबल हो’भन्दा चित्तै बुझ्दैन । बजेट, कार्यक्रम नभई घोषणा गरिएको राष्ट्रिय खेलले नहुने बुझाइ छ माधवको । भलिबलप्रति चासो नगएको देख्दा आफूलाई विरक्त लागेको माधव बताउँछन् । माधवले भन्ने, ‘यो कुरा नबुझेसम्म भलिबलको विकास कहिलै हुँदैन ।’

(किरण पौड्याल/रासस)

प्रकाशित समय १४:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु