गृहपृष्ठ जन जागृति क्लब खप्तड गोल्डकपको क्वाटरफाइनलमा

जन जागृति क्लब खप्तड गोल्डकपको क्वाटरफाइनलमा

जन जागृतिको जितमा विवेक चौधरीको ह्याट्रिक

नवजागृति युवा क्लब ‘नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप’को क्वाटरफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आईतबार भएको तेस्रो खेलमा फराकिलो जित हात पार्दै अन्तिम आठमा पुगेको हो ।

सुदूरपश्चिम- ११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा जन जागृतिले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।

जन जागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे । यस्तै एक गोल सागर चौधरीको नाममा रह्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नव जागृतिले दोस्रो हाफमा भने लगातार गोल गर्‍यो । खेलको ५२औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवार अगाडि बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे । खेलको ५९औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए ।

खेलको ७२औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पूरा गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाएको पेनाल्टीलाई विवेकले जाली चुमाए ।

जन जागृतिका खेलाडीहरू ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । खेलको ३५औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्ता असिम गुरुङ गोल गर्न चुके । उसको प्रहार जन जागृतिका गोलरक्षक दिलमनि चौधरीले बचाएका थिए ।

प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जन जागृतिका विवेक चौधरी खेलको ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । अब सेमीफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टारले पहिलो चरणमा बाई पाएको छ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाईज रुपन्देही र सुनौलो संगम बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम- ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु