गृहपृष्ठ मुख्यमन्त्रीद्वारा सागको मोबाइल एप्स र वेबसाइट उद्घाटन

मुख्यमन्त्रीद्वारा सागको मोबाइल एप्स र वेबसाइट उद्घाटन

१३औँ सागअन्तर्गत पोखरामा हुने खेलहरुको जानकारी उपलब्ध गराउन तयार पारिएको मोबाइल एप्स र वेबसाइटको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मोबाइल एप्स र वेभसाइटको उद्घाटन गरे ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं १३औँ सागका स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेज बहादुर गुरुङका अनुसार सो मोबाइल एप्स र वेबसाइट जिरोवान टेक्नोलोजीेले तयार पारेको हो । मोबाइल एप्सबाट सागको विवरणसहित कुन खेल कहाँ हुँदैछ ? र कसरी जान सकिन्छ ? भन्ने जानकारी उपलब्ध हुने इञ्जिनियर सुर्य पौडेलले जानकारी दिए । उनका अनुसार यसका लागि गुगल प्लेस्टोरबाट साग २०१९ डट ओआरजी (sag2019.org) एप डाउनलोड गर्नु पर्दछ ।

मुख्यमन्त्री गुरुङले पोखरा रंगशालालगायत क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, ब्याडमिन्टन कभर्ड हल, बहुउद्देश्यीय कभर्ड हलका पनि अवलोकन गरेका छन् । सो क्रममा उनले गुणस्तरलाई पनि ध्यान दिँदै भौतिक संरचनाका कामहरु जतिसक्दो छिटो सक्न निर्माण कम्पनीहरुलाई आग्रह गरे । उनले सागलक्षित कुनै पनि भौतिक संरचना निर्माणमा असर नपर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सागलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्वद्ध खेल पदाधिकारीहरुसँग अनुरोध गरे । ‘तपाईंहरु यहाँ हुने सबै खेललाई सफलतापुर्वक सञ्चालन गर्न लाग्नुहोस् । अपुग रकम हामी व्यवस्था मिलाउँछौँ,’ उनले भने ।

तयारी कहाँ पुग्यो ?

फुटबल मैदानमा भारतबाट ल्याएको दुबो मरेपछि पुनः आज दुई ट्रक दुबो रोपिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इञ्जिनियर दीपक बरालले जानकारी दिए । हरेक खेलपश्चात केही दिनसम्म तत्काल मैदान मर्मत गरिने उनले बताए । अबको ५ दिनभित्र ८ देखि १० हजार सिट क्षमताको प्याराफिट तयार भइसक्ने उनको भनाइ छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड ३ दिनअघि फ्रान्सबाट पोखरा आइपुगेको हो । पोखरा फुटबल रंगशालाको काम भारतको ग्रेट स्पोट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले गरिरहेको छ । रंगशालाको हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपाने जानकारी दिए ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ सागका २७ खेलमध्ये कुस्ती जनकपुरमा, ८ खेल पोखरामा र बाँकी काठमाडौँमा हुने भएको छ । पोखरा हुने भनिएको प्याराग्लाइडिङ अन्तिम समयमा आएर नहुने भएको छ ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु