fbpx
Rashifal Ad

गृहपृष्ठ ‘मंसिर ५ भित्र सागलक्षित निर्माण कार्य सम्पन्न हुन्छ’

‘मंसिर ५ भित्र सागलक्षित निर्माण कार्य सम्पन्न हुन्छ’

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले आउँदो मंसिर ५ भित्र सागलक्षित सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसक्ने बताएका छन् । मंसिर १४ गतेदेखि नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि हाल निर्माणाधीन सम्पूर्ण भौतिक संरचनाको काम समयमै पूरा हुन उनले दावी गरे ।

पोखराको फुटबल स्टेडियममा प्याराफिट निर्माण अबको १५ दिनभित्र सम्पन्न हुने सदस्यसचिव सिलवालले बताए । ‘इन्टर लग सिस्टम’मा निर्माण हुने भएकाले सामान आएको एक हप्ताभित्र एकातर्फ प्याराफिट जडान भइसक्ने उनको भनाइ छ ।

‘२/३ खेलका बाहेक अन्य खेल पूर्वाधार लगभग तयार भएका छन् । काठमाडौँमा हिटिङ कुलिङ केही समस्या रहेको छ तर एक हप्तामा हामी त्यो पनि समाधान गर्छौ । दशरथ रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको फुटबल स्टेडियमको निर्माण पनि अन्तिम चरणमा पुगेको छ,’ उनले जानकारी दिए ।

सातै राष्ट्रका प्रतिनिधिहरुले कुनै सहयोग आवश्यक परे सहयोग गर्ने तत्परता देखाएको उनले जनाए । उनले भने, ‘यो सागबाट हामीले हाम्रो मित्रतालाई दरिलो पार्नुछ । नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न र नेपालको प्रतिष्ठालाई अझै उँचो पार्ने लक्ष्य राखेका छौँ ।’

सागमा प्याराग्लाइडिङ खेल हुने कि नहुने विषयमा टुंगो लागि नसकेको उनले बताए । ‘प्याराग्लाइडिङमा नेपालले दर्ता गरेको छ । भारतले सहभागिताको वचन दिएको छ । अनिवार्य रुपमा खेलाइने खेलमा ४ टिम र अन्यमा तीन टिम अनिवार्य हुनुपर्छ ।’

उनले प्याराग्लाइडिङलाई सागमा समावेश गराउनकै लागि सहभागी हुने राष्ट्रका खेलाडीलाई आवातजावत, खाने-बस्ने, प्रशिक्षण सहितको निशुल्क सुविधा उपलब्ध गराउने पत्र पठाइएको जानकारी दिए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले अब नेपालमा साग हुने कुरामा कुनै शंका नभएको बताउँदै यसमा सबै मिलेर सम्पन्न गर्न आग्रह गरे । नेपालको मौसम फरक प्रकारको भएकाले विभिन्न देशका खेलाडीहरु खेल तालिका भन्दा अघि नै प्रशिक्षणको लागि आउन खोजेको उनले बताए । नेपालबाटै सुरुवात भएको साग नेपालमा तेस्रो पटक आयोजना हुन लागेकाले यसको व्यवस्थापनका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए ।

सागअन्तर्गत पोखरामा ९ खेल हुने तय भएको छ । सागको तयारीका बारेमा साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोलीले अनुगमनसमेत गरिसकेको छ ।

प्रकाशित समय १९:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु