गृहपृष्ठ सागको तयारी अनुगमन गर्न दक्षिण एसियास्तरीय टोली पोखरामा

सागको तयारी अनुगमन गर्न दक्षिण एसियास्तरीय टोली पोखरामा

यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारी तथा आयोजनाबारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र साग सेफ दि मिसनको टोली शनिबार पोखरा आइपुगेको छ ।

सागको अन्तिम तयारीका लागि काठमाडौँको बैठक र खेल स्थलको अनुगमन सकेर टोली आज पोखरा आइपुगेको हो । सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिक कमिटिका प्रतिनिधि तथा साग सेफ दि मिसनको टोलीले पोखरामा भइरहेको तयारीबारे जानकारी लिने र स्थलगत अनुगमनसमेत गर्नेछ ।

२३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ र साग तयारी पोखराका सदस्यहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । टोलीसँगै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य जिवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल पनि पोखरा आएका छन् ।

टोलीले शनिबार पोखरा रंगशालास्थित खेल स्थलहरुको अनुगमन गरेको छ । भोलि १३औँ साग समिति पोखरासँग संयुक्त बैठक बसी तयारीका बारेमा जानकारी लिने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिए ।

सागअन्तर्गत पोखरामा ९ खेल हुने तय भएको छ । यसमध्ये सागमा सहभागी हुने कुनै पनि राष्ट्रमा आधिकारिक खेल संस्था नहुँदा सबै राष्ट्रहरुले अन्तिम समयमा प्याराग्लाइडिङमा भने सहभागी नहुने जनाएका छन् ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु