fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

nepali cricket team_news karobar

ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । यसअघिका दुई खेलमा लगातार जित निकालेकाे नेपालको यो पहिलो हार हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १३२ रनमा अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए ।

तर इशान पाण्डेले रन गति बढाउन नसक्दा पारसमाथि दवाव थपियो । उनलाई मार्क अडायरले क्याचआउट गराए । आजको खेलमा कमब्याक गरेका इशान पाण्डेले रन बनाउन निकै संघर्ष गरे । ३० बलमा २२ रन बनाएर आउट भएका उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले २७ रनको साझेदारी गरे ।

आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनोद भण्डारी २ बलमा १ रन जोडेर रनआउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए

अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसीले अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपालले खेलकाे नतिजा आयरल्यान्डलाई सुम्पियो ।

प्रकाशित समय १४:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु