fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ धरान फुटबल क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा

धरान फुटबल क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा

belbari gold cup newskarobar

धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा सुरु तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ४–३ गोल अन्तरले पराजित गर्दै धरान अन्तिम चारमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा धरानका वर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरे । मनिष गुरुङको प्रहार पोलमा लागेर फर्कियो । आयोजकका साइमन राई, विक्रम लिम्बू र अनुज मगरको प्रहारले मात्रै पोस्टको दिशा पायो ।

सुनिल खड्काको प्रहार धरानका गोलरक्षक लक्की कार्कीले रोकिदिए । मिलन राईको प्रहार पोलमा लागेर फर्किनु आयोजकको दुर्भाग्य बन्यो । खेलमा आयोजकको तुलनामा धरानको प्रदर्शन उत्कृष्ट रहयो । दुवै टिमको फिनिसिङ फितलो हुँदा निर्धारित समयमा नतिजा निस्कन नसक्दा खेलको निर्णय लिन टाइब्रेकरसम्म पर्खनु परेको हो ।

खेलको १५औं मिनेटमा तीर्थ बस्नेतको प्रहार आयोजकका गोलरक्षक छिरिङ तामाङले विफल पारिदिए । २२औं मिनेटमा सुनिल खड्काको प्रहारलाई धरानका गोलरक्षक लक्की कार्कीले उत्कृट ढंगबाट बचाउ गरे । २८औं मिनेटमा धरानकै वर्तमान राईको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४६औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

४७औं मिनेटमा तीर्थ बस्नेतको सशक्त प्रहारलाई आयोजकका गोलरक्षक तामाङले विफल पारिदिए । ५५औं मिनेटमा उमेश राईको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि धरानले निर्धारित समयमा गोल गर्न सकेन । ६०औं मिनेटमा सुनिल खड्काले गरेको प्रहारलाई धरानका गोलरक्षक कार्कीले बचाउने क्रममा रिबाउन्ड भएपछि विकेश सुब्बाले गरेको अर्को प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा आयोजकले अन्तिम चारमा स्थान पक्का गर्ने अवसर गुमायो ।

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक लक्की कार्की घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा सुरु प्रतियोगिता असोज १० गतेसम्म सञ्चालन हुनेछ । आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरे । प्रथम हुने टिमले पाँच लाख र द्वितीय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । आइतबार झापा–११ र एपीएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय २०:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु