fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेशस्तरीय खेलकुद : मेडिकल सेवा नपाउँदा मैदानमै छटपटाए खेलाडी

प्रदेशस्तरीय खेलकुद : मेडिकल सेवा नपाउँदा मैदानमै छटपटाए खेलाडी

खुकुरी र टोपीको पहिचान अमेरिकामा बसेर हुँदैन : मुख्यमन्त्री गुरुङ

running-shield-pokhara-newskarobar (2)

पोखरामा मेडिकल बिना ११औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा खेलाडी लडेर रुँदा कराउँदा पनि कुनै मेडिकल सेवा भने पाउन सकेनन् ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार बिहान भएको एथ्लेटिक्सतर्फ १५ सय मिटर दौडमा सहभागी महिला खेलाडी लगातार तीन–चार जना लड्दा पनि उनीहरुले मेडिकलको कुनै सेवा पाएनन् । प्रतियोगिता स्थलमा मेडिकल टिम नहुँदा लडेका खेलाडीलाई उठाउन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङसहित अन्य अफिसियलले हात समातेर एथ्लेटिक्सबाहिर ल्याएका थिए ।

प्रतियोगिताको उद्घाटन गरी १५ सय मिटर दौडमा विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गर्न प्रतियोगिता स्थलमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत मेडिकल टिम नदेख्दा अचम्ममा परे । राखेप सदस्य गुरुङ ‘खै मेडिकल टिम’ भन्दै हतार–हतार एथ्लेटिक ट्रयाकमै लडेका खेलाडी उठाउन पुगेका थिए ।

केही खेलाडी आफ्नो खुट्टा फर्कियो भन्दै रुँदै कराउँदै थिए त केही पेट दुख्यो भन्दै मैदानमै थचक्क बसेका थिए । खेलाडीहरु भकाभक लड्न थालेपछि प्रतियोगिता अवलोकन गर्न पुगेका दर्शक र अफिसियलले उनीहरुलाई पानी छर्किंदै हातखुट्टा मालिस गरिदिएका थिए ।

आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ एकाएक खेलाडी लडेर मेडिकल टिमको खोजी हुन थालेपछि ‘मेडिकल टिम खै कता गएछन्’ भन्दै यताउति हेर्दै थिए । पोखरा हस्पिटल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को मेडिकल टोली रंगशालामा भए पनि उनीहरु एथ्लेटिक्स प्रतियोगिता भएको स्थानमा पुगेका थिएनन् । खेलाडीको नाममा आएको बजेटबाट खेलाडीले लड्दा पनि उपचार गर्न नपाउने हो भने खेल क्षेत्रको विकास कसरी हुन्छ भन्दै अफिसियलले गुनासो गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाका करिब ९ सयभन्दा बढी खेलाडी सहभागी हुने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा तेक्वान्दो, कराँते, उसु, कबड्डी, भलिबल र एथ्लेटिक्सतर्फको प्रतिस्पर्धा हुनेछ ।

प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने १०६ जना खेलाडी असार २८ गते राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि काठमाडौं प्रस्थान गर्नेछन् । उक्त छनौटसहितको प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट रहेको समितिले जनाएको छ ।

running-shield-pokhara-newskarobar (1)

मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउनुपर्ने बताए । उनले भने, ‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानीमात्र होइन, अब खेलकुदको राजधानी पनि हो, यसलाई अब हामीले खेलकुदको राजधानीको रुपमा विकास गनुपर्छ ।’ संस्थागत संरचनागत हिसाबले अगाडि बढेर निश्चित खेल पहिचान गरी त्यसको व्यवसायीकरण गर्न सरकार अग्रसर हुने उनले बताए । ‘खुकुरी र टोपीको पहिचान अमेरिकामा बसेर हुँदैन, नेपालमा बसेर खेल्नुपर्छ, नेपालमै बसेर परिश्रम गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशमा खेलकुदको एकेडेमी स्थापना गर्ने बताइन् । ‘हामी विद्यालय स्तरदेखि नै खेलको विकास गर्न विशेष कार्यक्रम अघि बढाउँदै छौं,’ उनले भनिन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य गुरुङले खेलकुद नबुझेको झोलेहरु खेलकुदमा हावी भएकाले खेलाडीको हितमा काम नभएको बताए ।

प्रकाशित समय २०:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु