गृहपृष्ठ आईसीसी यू–१९ विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित
आईसीसी यू–१९ विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित

नेपालले आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको छ ।
नेपालले १३ ओभरमा २ विकेटको क्षतिमै ९५ रनको सामान्य लक्ष्य पूरा गरेको हो । ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रनमा अविजित रहे । कप्तान रोहित कुमार पौडेले छक्का प्रहार गर्दै खेल जिताएका थिए । पवन सरार्फले १९ रनको योगदान गरे । आशिफ शेखले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । मलेसियाका लागि अफीक सयाकीर र स्युक्री मडेलीले समान १ विकेट लिए ।
त्यसअघि क्वालालाम्पुरमा टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । मलेसियाका इज्जत ड्यानियल फिक्रीले ३७ रनको योगदान गर्नुबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । नियलले ३ चौका र १ छक्का प्रहार गरेका थिए । मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्नै सकेनन् ।
मलेसियालाई कम स्कोरमै रोक्न पवन सरार्फले ८.५ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा २ मेडन राख्दै ३, कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट लिए ।
अब नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमानमध्ये एकसँग हारेमा मात्र नेपालले विश्वकपमा स्थान सुरक्षित गर्नेछ । नेपालले आफ्नो चौथो खेलमा मंंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ११:२९ बजे