fbpx
corona information

गृहपृष्ठ कोरोनाले साँघुरियो भुवा पर्वको रौनक

कोरोनाले साँघुरियो भुवा पर्वको रौनक

प्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यसपटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ । एक साताभन्दा बढी समयसम्म सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका साथै कर्णाली प्रदेशमा मनाइने यो पर्वलाई कोरोना भाइरस संक्रमणका कारण घर-घरमा पुगेर भुवा नाच गर्न समस्या भएको छ ।

खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागतरुपमा मनाउँदै आएको भुवा पर्वलाई तराईका जिल्ला कञ्चनपुर र कैलालीमा समेत पहाडबाट बसाइँ सरी आएकाहरुले मनाउँदै आएका छन् ।कञ्चनपुरको महेन्द्रनगरस्थित संविधान चोकमा खप्तड समाज कञ्चनपुरले एकदिने भुवा पर्व मनाइरहेको छ । महेन्द्रनगरका देउडिया लक्ष्मण अधिकारीले कोरोनाका कारण भुवा पर्व एकै दिनमा टुंग्याउनु परिरहेको बताए ।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व पुसे औँसीदेखि सुरु हुने गरेको अधिकारीको भनाइ छ । ‘आजदेखि सुरु भएर आठौं दिनसम्म घरघरमा गएर देउडाको लयमा भुवा नाच हुँदै रमाइलो गरी मनाइन्थ्यो,’ उनले भने, ‘यो इष्टमित्र भेटघाटको अवसरमा पनि हो ।’ पञ्चेबाजाका साथमा खेलिने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने पनि गरिन्छ ।

यहाँको भीमदत्तनगरपालिका- १३ महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीले पनि भुवा पर्व मनाइरहेका छन् । सुदूरपश्चिमाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रक कार्यालयका अधिकृत तुलसी पण्डितले भुवा पर्वको विशेषतालाई युवा पुस्ताले पनि बुझ्न जरुरी रहेको बताए । ‘जो जहाँ भए पनि मिलेसम्म आफ्नो रीतिरिवाज परम्परा बिर्सिनु हुँदैन,’ उनले भने, ‘पहिलो यहाँका गाउँगाउँमा खेलिने यो पर्व पछिल्लो समय संयुक्त रुपमा पनि मनाइँदैछ ।’ सुदूरपश्चिममा भुवा पर्व पाका पुस्तामा लोकप्रिय छ । (रासस)

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु