गृहपृष्ठ कैलालीमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण
कैलालीमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण

कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न थालेको छ । सामुदायिक वन समितिले सोमबारदेखि ७५ वर्षमाथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गरेको हो । प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ ।
शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरिएको वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘७५ वर्षमाथिका ज्येष्ठ सदस्यको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले दाउरा वितरण गरेका हौँ,’ उनले भने ।
दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए । ‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो,’ उनले भने, ‘अब आगो तापेर बस्न पाइने भयो ।’ एक हजार ४०० उपभोक्ता रहेको सत्ती वन ३ सय हेक्टरमा फैलिएको छ । (रासस)
प्रकाशित समय ०८:१४ बजे