fbpx
corona information

गृहपृष्ठ गिट्टी-बालुवा बेचेर छाक टार्ने वादी समुदाय ढुक्कसँग निदाउन सक्दैनन्

गिट्टी-बालुवा बेचेर छाक टार्ने वादी समुदाय ढुक्कसँग निदाउन सक्दैनन्

खोला किनारमा वादी बस्ती ।

वीरेन्द्रनगर नगरपालिका- ११, झुप्राखोलास्थित वादी बस्तीका राजु वादीले गिट्टी बालुवा बेचेर परिवार पाल्दै आएका छन् । उनको मुख्य पेशा भनेकै खोलाबाट गिट्टी बालुवा निकालेर बेच्ने र बिहान बेलुकाको छाक टार्ने हो । खोलाको बालुवा गिट्टी बेचेर परिवारलाई खान त पुगेको छ । तर उनलाई रातभर निन्द्रा भने लाग्दैन ।

‘गरी खाने अरु उपाय नभएर बालुवा बेचेर खानु परेको छ । तर यही बालुवा खन्दा-खन्दा बाढी आउँछ कि भनेर वर्षायाममा रातभर निन्द्रा लाग्दैन,’ उनले भने । घरछेउमै भएको खोलाबाट जिविकोपार्जन गर्नुपर्दा जोखिममा परेको उनले बताए । राज्यले बस्तीमा रहेका करिब एकसय पचासभन्दा बढी घरपरिवारलाई व्यवस्थापन गर्न नसक्दा ठुलो धन-जनको क्षति व्यहोर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

राजुका अनुसार बस्तीमा रहेका सबै घरपरिवार नै खोलाको बालुवा र गिट्टीमा निर्भर छन् । सरकारले बस्ती व्यवस्थापन गर्न सकेको खण्डमा आफूहरु जोखिमबाट मुक्त हुने उनले बताए । २०७१ सालमा आएको बाढीका कारण पुरै बस्ती प्रभावित भएको र धेरै घर तथा सामगी्र क्षति भएको उनले बताए । समयमै सूचना पाएका कारण बस्तीका कसैको पनि ज्यान भने नगएको उनले सुनाए ।

बस्तीकै ३८ वर्षीय पार्वती वादीको परिवारसमेत झुप्राखोलाकै गिट्टी-बालुवामा निर्भर छ । बस्तीका सबै परिवारको आम्दानीको स्रोत झुप्राखोला नै भएको उनले बताइन् । ‘बालुवा खन्दा-खन्दा बस्तीभन्दा खोलाको सतह धेरै तल पुगिसकेको छ । अब त बस्ती नै भासिने डर छ,’ उनले भनिन्, ‘तर जोखिम भए पनि जाने ठाउँ कतै छैन ।’ सरकारले खोलाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उनले माग गरिन् । पानी, विद्युत तथा स्वास्थ्य शिक्षा लगायतका आधारभूत आवश्यकताबाट बञ्चित वादी बस्ती बाढीको समेत उच्च जोखिममा रहेको उनले बताइन् । वीरेन्द्रनगर नगरपालिकाले आफूहरुलाई व्यवस्थापन पनि नगर्ने र परम्परागत रुपमा आफूहरुले तान्दै आएको बालुवामा टेन्डर गर्न लागेको उनले गुनासो गरिन् ।

स्थानीय हिक्मत वादीले समेत सरकारले आफ्नो बस्तीलाई कुनै पनि क्षेत्रमा नागरिकका हैसियतले नहेरेको गुनासो गरे । ‘जोखिममा बसेको अवस्थामा सुुरक्षित स्थानमा सार्नसमेत चासो दिइएको छैन । नत बस्तीमा तटबन्धन तथा तारजालीको नै व्यवस्थापन भएको छ,’ उनले भने । स्थानीय सरकारले २०३३ सालदेखि झुप्राखोलामा बस्ती बसी बालुवा बेचेर खाने समुदायको मुख बन्द गर्न खोजेको उनले आरोप लगाउ । ‘टेन्डर गर्दा बाहिरबाट ठेकेदार आएर सबै बालुवा लैजान्छ । नत हामी सुरक्षासहित बस्न सक्छौं, नत हाम्रो बिहान बेलुकीको छाक टर्छ,’ उनले भने । जिविकोपार्जन गर्ने अन्य उपाय नभएका कारण आफूहरुले आफ्नै बसोबास स्थललाई जोखिममा पारेको उनले स्वीकाररे ।

 झुप्राखोला र भेरीको दोभानमा रहेको शान्तिनगरमा करिब एकसय पचास घरपरिवार बस्दै आएको वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु वादीले बताए । उनका अनुसार उक्त बस्तीमा वादी समुदायको बाहुल्यता छ । स्थानीयहरुले आफूसमक्ष जनप्रतिधिको हैसियतले तारजाली तथा बस्ती स्थानान्तरणको माग राख्दै आए पनि पूरा हुन नसकेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले तत्काल तारजाली तथा बस्ती स्थानान्तरणको लागि कुनै योजना नरहेको बताइन् । ‘खोलामा जथाभावी बालुवा तथा गिट्टी निकाल्न पाइँदैन । हामीले वातावरणीय प्रभाव मूल्यांकन गरी रिपोर्ट तयार गरेका छौं । सोही प्रक्रिया पूरा गरी बालुवा निकाल्न दिएका छौं, उनले भनिन् । उनका अनुसार बस्तीलाई जोखिम नहुने गरी कति मिटर खन्ने र बस्तीबाट कति टाढाबाट बालुवा गिट्टी निकाल्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने हुन्छ । तर झुप्राखोला क्षेत्रका स्थानीयहरुले बसोबासको आधारमा बालुवा निकाल्न पाउनुपर्छ भनेको भए पनि त्यसो गर्न नपाइने उनले बताइन् ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु