fbpx
corona information

गृहपृष्ठ जानकी मेडिकल कलेजका कर्मचारीले २८ दिनपछि तोडे अनसन

जानकी मेडिकल कलेजका कर्मचारीले २८ दिनपछि तोडे अनसन

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- १, रमदैयास्थित जानकी मेडिकल कलेजका दुई कर्मचारीले २८औं दिनमा आमरण अनसन तोडेका छन् । कलेजका कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साह विभिन्न माग राखी आमरण कलेज परिसरमै अनसनमा बसेका थिए ।

कलेज प्रशासन र कर्मचारीबीच तीन बुँदे सहमतिपश्चात दुवै जनालाई जुस खुवाएर अनसन तोडाइएको कर्मचारी हकहित संघर्ष समितिका संयोजक उमेश यादवले बताए । भदौ ३१ गते जिल्ला प्रहरी कार्यायमा भएको दुई बुँदे सम्झौता भएको मितिदेखि आन्दोलन अवधिभर कलेज प्रशासनले कर्मचारीमाथि गरिएका निलम्बनलगायत सम्पूर्ण कारबाही फिर्ता लिने र कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलनको कार्यक्रम शनिबारदेखि नै फिर्ता लिने सहमति भएको हो ।

यस्तै जानकी मेडिकल कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुवै पक्षबाट २/२ जना र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गतेभित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गर्ने सहमति भएको संयोजक यादवले जानकारी दिए ।

अनसन बसेका १२औं दिनमा यादव र साहको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा भर्ना गरिएको थियो । यद्यपि उनीहरु माग पुरा नहुञ्जेल अनसन जारी राख्ने अडानमा थिए । उनीहरुले केही कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता हुनुपर्ने, ६ वर्षदेखिको सञ्चय कोष र दसैंभत्ता लगायतको हरहिसाब हुनुपर्ने लगायतका माग राखेको थिए । असोजदेखि नै कर्मचारीहरु विभिन्न मागसहित जानकी मेडिकल शिक्षण अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प गरी आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु