fbpx
corona information

गृहपृष्ठ सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको तयारी

सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सुर्खेत विमानस्थलको क्षमता बढाउन ३० बिगाह जग्गा अधिग्रहण गर्न सहमति दिइएको हो । यसका लागि गत असोजमा संघीय र प्रदेश सरकार तथा स्थानीय तहबीच सम्झौता भइसकेको छ । सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नति गरी आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठुला जहाज अवतरण गर्न मिल्ने स्तरमा काम हुने भएको हो । नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थलको विस्तारका लागि सम्झौता भएको हो ।

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य काम गर्ने योजना रहेको छ । सम्झौताअनुसार विमानस्थलको धावनमार्ग १५ सय मिटरसम्म विस्तार गरिनेछ । जग्गा अधिग्रहणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकारले व्यहोर्ने छ । बाँकी रकम केन्द्र सरकारले उपलब्ध गराउने छ ।

नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जग्गा अधिकरणका लागि संघीय सरकारले ५१ करोड रकम छुट्याएको भए पनि अन्य जानकारी भने नआएको बताए । उनका अनुसार गत असोज १५ गते संघीय सरकार र प्रदेश सरकारबीच विमानस्थल विस्तारका लागि सम्झौता भएको तर कताको र कुन जमिन अधिग्रहण गर्ने भन्ने विषयमा भने आधिकारिक जानकारी आएको छैन । ‘विमान स्थल विस्तार हुन्छ । त्यसको लागि जमिनसमेत अधिग्रहण गर्नुपर्ने हुन्छ । तर यसबारे विस्तृत र आधिकारिक जानकारी आएको छैन,’ उनले भने ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु