fbpx
corona information

गृहपृष्ठ पाँच दिन झुलाघाट नाका खोलिने

पाँच दिन झुलाघाट नाका खोलिने

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो ।

यही मंसिर ८ गतेदेखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौं ।’ जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे । कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । उनले भने, ‘खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।’

जिल्लामा करीब एक हजार २०० भारतीय निवृत्तिभरणधारी रहेको बताइएको छ । नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने प्रशासनले जनाएको छ । निवृत्तिभरणधारीले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् । (रासस)

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु