fbpx
corona information

गृहपृष्ठ सीसीटीभीले अपराध अनुसन्धानमा सहज

सीसीटीभीले अपराध अनुसन्धानमा सहज

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटअगाडि वीरेन्द्रनगर- १, बाँगेसिमलका तीन वर्षीय समिर नेपालीलाई एक मोटरसाइकलले ठक्कर दिएर चालक फरार भए । मोटरसाइकलको नम्बरसमेत पत्ता लाग्न सकेन । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । मोटरसाइकलको नम्बर पत्ता लाग्न नसके पनि उनीहरुको हुलिया भने सीसीटीभी (क्लोज सर्किट टेलिभिजन) क्यामेराले कैद गरेको थियो । सीसीटीभी फुटेजकै आधारमा घटनाको ४८ घण्टाभित्र जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालकको हुलियाका आधारमा मोटरसाइकल चालकसहित दुईजनालाई पक्राउ ग¥यो ।

वीरेन्द्रनगर- ५, चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले अनुन्धानका क्रममा यामाहा कम्पनीका एफजेट मोडलका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । ‘तिमध्ये १४ जना प्रहरीको सम्पर्कमा आए पनि लु. ६२ प ७००३ नम्बरको मोटरसाइकल चालक सम्पर्कमा आएनन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत इन्स्पेक्टर गोपाल रायमाझीले भने, ‘बालकलाई ठक्कर दिने मोटरसाइकललाई बुधबार नै प्रहरी कार्यालयमा चालक मगरका बुवाले बुझाएका थिए । अनुसन्धानका क्रममा त्यहीँ मोटरसाइकलले ठक्कर दिएको पुष्टि भयो ।’ उनले आँखा अस्पताल सुर्खेत र वीरेन्द्रनगर- १२ स्थित नेवारे पृतनानजिक निजी घरमा राखिएको सीसीटीभीको फुटेज हेरेपछि चालक पत्ता लागेको जानकारी दिए । चालकको हुलियाअनुसार प्रहरीको गेट अगाडिको सीसीटीभी फुटेजलाई हेरी सोही अनुसारको दिशा र स्पिड अनुसार आँखा अस्पतालको फुटेजमा हेर्दा नै शंका लागिसकेको रायमाझीले बताए ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका- २ बाँगेसिमलका जगतप्रसाद कँडेलको घर तोडफोड गर्ने एक व्यक्ति पनि सीसीटीभीले रेकर्ड गरेको छ । कात्तिक ३० गते साँझ कँडेलको घरबाट लुटपाट गर्ने ति व्यक्तिले एभरेष्ट बैंकको एटीएमबाट नगद ४० हजारसमेत निकालेको रेकर्ड सीसीटीभीले रेकर्ड गरेको हो । घरधनी कँडेलले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भिडियो फुटेजसहित उजुरी दर्ता गराएको इन्स्पेक्टर रायमाझीले जानकारी दिए । उनकाअनुसार घरमा रहेको दराज फोडेर नगद, सुन तथा एटीएम चोरी भएको भन्दै कँडेलले मुद्दा दर्ता गराएका हुन् ।

बजारका मुख्य चोकमा राखिएका सीसी क्यामेरा सवारी दुर्घटना तथा चोरीका घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरीका लागि सहयोगी सिद्ध भएको छ । ‘वीरेन्द्रगरका बजार क्षेत्रमा जोडिएका सीसीटीभीका कारण अनुसन्धानमा ठुलो सघाउ पुगेको छ । हुलिया थाहा भएसम्म अन्य प्रमाण फेला नपरे पनि अपराधी पक्राउ गर्न सफल भएका छौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले भने । बजार क्षेत्रमा भएकामध्ये बिग्रिएका सीसी क्यामेरा पनि मर्मत भए अझ सहज हुने उनले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा वडा नं. १ देखि १३ सम्म ८९ वटा सीसी क्यामेरा जडान गरेको छ । प्रदेश सरकारको शान्ति सुरक्षार्थ डिजिटल प्रविधि जडान कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकालाई मन्त्रालयले करिब ८० लाख रुपैयाँ पठाएको थियो ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडलले प्रदेश सरकारबाट आएको रकममा नगरले करिब बीस लाख रुपैयाँ थप गरी सीसीक्यामरा जडान गरेको जानकारी दिए । उनका अनुसार अप्टिकल फाइबर र क्यामेरासमेत नगरपालिकाले आफ्नै जडान गरेको हो । ‘अपराधिक घटना नियन्त्रणका साथै भविष्यमा वीरेन्द्रनगर नगरपालिकाबाट लिने सबै सेवा सुविधाहरु इन्टरनेटको सहायतामा लिन सकिने गरी अप्टिकल फाइबर जडान गरिएको हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको मुख्य बजार र चोक क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेरामध्ये ७९ वटा सञ्चालनमा छन् ।

सवारी दुर्घटनाबाट ४ वर्षमा १०३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत ४ वर्षमा सवारी दुर्घटनामा परी १ सय ३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ठुलो सवारी दुर्घटनामा परी १२, मझौला सवारी दुर्घटनामा परी १० र सानो सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । जसमध्ये २३ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा सबै खाले सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाए । ठुलो सवारी दुर्घटनामा परी १४, मझौला सवारी दुर्घटनामा परी ११ र सानो सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका थिए । जसमध्ये २९ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जम्मा ३७ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् र २९ जना सवारी चालक पक्राउ परेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ ।

४ वर्षमा १३० जना चोर पक्राउ

गत ४ वर्षमा चोरीका घटनामा संलग्न १ सय ३० जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १४ वटा चोरीका घटना दर्ता भएकोमा १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७५/७६ दर्ता भएका ४९ चोरीका घटना दर्ता भएकोमा उक्त घटनामा संलग्न ५९ जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा दर्ता भएका ३५ चोरीका घटनामा संलग्न ४२ जना र आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका १२ चोरीका घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार चोरी तथा सवारी दुर्घटनाका अधिकांश घटनामा सीसीटीभी फुटेजले सघाउ पुगेको छ । घटनामा संलग्न व्यक्तिलाई ठम्याउनसमेत बजार क्षेत्रका मुख्य चोकमा राखिएका सीसी क्यामेराका फुटेज हेर्ने गरिएका एसपी भट्टले बताए ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु