fbpx
corona information

गृहपृष्ठ जामुनवारी सामुदायिक वनमा नेतृत्व लिन रस्साकस्सी, सिटौला र रानामा को बलियो ?

जामुनवारी सामुदायिक वनमा नेतृत्व लिन रस्साकस्सी, सिटौला र रानामा को बलियो ?

झापाको कनकाई नगरपालिका १ र २ मा पर्ने जामुनवारी सामुदायिक वन उपभोक्ता समूहमा यतिखेर बेग्लै माहोल छ । समूहका ८४१ घरले यतिखेर राष्ट्रिय राजनीति नै बिर्सेका छन् भन्दा पनि खासै फरक पर्दैन । उनीहरूलाई नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झगडामा खासै चासो छैन, जति चासो एक सातापछि हुने निर्वाचनको छ ।

मंसिर १३ गतेको निर्वाचनले समूहको अध्यक्षसहित तीन वर्षका लागि नयाँ टिम चयन गर्छ या पुरानै नेतृत्व दोहोर्‍याउँछ, त्यो हेर्न बाँकी छ । तर, समूहका सदस्यहरू महिना दिन अघिदेखि नै दुई पक्षमा विभक्त भएर हार‑जितको अंकगणित मिलाइरहेका छन् ।

२०५२ सालमा स्थापना भएको यो सामुदायिक वनले हालसम्म चार जनाको मात्र नेतृत्व देखेको छ । वनका संस्थापक अध्यक्ष केदार गिरि हुन् । दोस्रो कार्यकालका लागि रुद्र बोहोरा निर्वाचित भए । त्यसपछिका पाँच कार्यकाल गरेर १५ वर्ष परशुराम गिरिले सम्भवतः निर्विरोध जामुनवारी सामुदायिक वनको नेतृत्व गरे । आठौँ अध्यक्ष खेमराज सिटौला कार्यकाल दोहोर्‍याउने अठोटसहित चुनावी मैदानमा छन् ।

तर, सिटौलालाई त्यति सजिलो नहुने देखिएको छ । ‘जामुनवारी सामुदायिक वनको नेतृत्व अब युवाले गर्नुपर्छ’ भन्दै विनोद रानामगरले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनलाई कार्यकाल दोहोर्‍याउन समस्या सोचेजति सजिलो नहुने भएको हो ।

सामुदायिक वनको कर्षण

जामुनवारी सामुदायिक वन सबैको आकर्षणको केन्द्र बन्नुका पछाडि केही कारण छन् । सामुदायिक वनअन्तर्गत रहेको जामुनखाडी सिमसार क्षेत्र प्रदेश १ कै लागि आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । ४३४ हेक्टरमा फैलिएको जामुनबारी सामुदायिक वनअन्तर्गत ४० हेक्टरमा सिमसार क्षेत्र विस्तारित छ । सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइयो । अहिले यही सिमसार क्षेत्र वनको आम्दानीको मुख्य अंश बनेको छ ।

सिमसार क्षेत्र अवलोकन‑भ्रमण गर्न, चिडियाघरका लोपोन्मुख वन्यजन्तु हेर्न, चार बिघामा फैलिएको पोखरीमा बोटिङ र स्टिमर सयर गर्न, बाल उद्यानमा रमाउन दैनिक दुई लाखभन्दा बढी पर्यटक आउन थालेपछि सिमसार पूर्वको मुख्य पर्यटकीय गन्तव्यको रूपमा उदाएको हो । सिमसार क्षेत्र भ्रमणका लागि आन्तरिकमात्र नभएर भारतको पश्चिम बंगाल, बिहार, दार्जेलिङलगायतका ठाउँबाट पनि पर्यटक आउने गरेको अध्यक्ष सिटौला बताउँछन् । वन पैदावरदेखि पर्यटन शुल्कसमेतबाट वनले गत आर्थिक वर्षमा करिब तीन करोड रूपैयाँ आर्जन गरेको थियो ।

सामुदायिक वन क्षेत्रभित्रको सिमसार क्षेत्रमा पर्यटकको ताँती देखेपछि प्रदेश १ सरकारले खुला प्राणी उद्यान केन्द्र निर्माणका लागि एक करोड बजेट नै विनियोजन गरेको छ । उत्कृष्ट कार्यसम्पादनका आधारमा यो वनले पटक‑पटक राष्ट्रिय पुरस्कार पनि पाएको छ ।

किन दोहोरिन चाहन्छन् सिटौला ?

सिटौला दोहोरिन चाहनुका केही कारण छन् । पहिलो कारण विगतमा सुरु गरेका कामलाई टुंगोमा पुर्‍याउनु । ‘पहिलो तीन वर्षे कार्यकालमा जे‑जति काम सुरु गरेको छु, ती कामलाई योजनाबद्ध ढंगले टुंगोमा पुर्‍याउनु मेरो दायित्व हो,’ उनले भने, ‘अबको एक कार्यकाल नेतृत्व गर्न पाएँ भने धेरै नतिजामूलक काम हुनेछन् ।’

खुला प्राणी उद्यान निर्माणका लागि घर‑टहरा निर्माण, सिमसार क्षेत्र प्रवेश गर्ने दुईवटा आकर्षक गेट निर्माण, व्यवस्थित पार्किङ स्थल निर्माण, बाल उद्यान निर्माण सहितका काम उनको कार्यकालका उपलब्धि हुन् । ‘३५ हजार वर्ग फिटमा इन्टरलकिङ ब्लक बिछ्याइएको छ, सेल्फी स्पोट बनाएका छौँ, चित्तललाई खुला ठाउँमा स्थानान्तरण गर्न १० बिघा जग्गा छुट्याएर काम सुरु भएको छ,’ उनी भन्छन्, ‘चिडियाघरलाई व्यवस्थित बनाउँदै लगिएको छ, पोखरीमा १२ जना क्षमताको स्टिमर ल्याएका छौँ, सिमसार क्षेत्रको विकास र विस्तारका काम सुरु भएको छ ।’

अध्यक्ष सिटौला सामुदायिक विकासतर्फ पनि आफ्नो कार्यकालमा धेरै काम भएको दाबी गर्छन् । जामुनखाडी‑धनुषकोटी दुई किमी पर्यटनमार्ग कालोपत्रे, जुके कल्भर्टदेखि नगरपालिकाको पुरानो कार्यालयसम्मको सडक कालोपत्रे, जामुनवारी ड्रेन निर्माणलगायत सडकतर्फ एक करोड रुपैयाँभन्दा बढीको काम भएको उनको भनाइ छ । ‘यी सबै कामहरू मेरो जित सुनिश्चित गर्ने आधार हुन्, उपभोक्ताले नजिकबाट हेरिरहनुभएको छ, मूल्यांकन गर्नुभएको छ,’ उनले सगर्व भने, ‘शतप्रतिशत मैले जित्छु ।’

भावी योजना के‑के छन् त ? न्युज कारोबारको प्रश्नमा उनले भने, ‘अबको कार्यकाल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बनाउनमा केन्द्रित हुनेछ ।’ जामुनखाडी नेपालकै उत्कृष्ट १०० पर्यटकीय स्थलमा सूचीकृत भएकाले यसको दिगो विकास, पर्यापर्यटन र वन व्यवस्थापनका लागि योजनाबद्ध ढंगले काम अघि बढाउने उनले बताए । ‘सिमसार क्षेत्र, जैविक विविधता तथा वनस्पतिको संरक्षणका साथै यो संस्थालाई समुदायको हितमा जोडेर लैजाने मेरो योजना छ,’ अध्यक्ष सिटौलाले भने ।

विनोद राना भन्छन्‑ काम हुँदै भएन ?

अध्यक्षका अर्का प्रत्यासी युवा राना भिन्न ढंगले मतदाता फकाउँदै छन् । उनी तीन वर्षे योजनाबद्ध विकासको खाकासहित उपभोक्ताको घरदैलोमा पुगिरहेका छन् । ‘जामुनवारी सामुदायिक वनले अत्यन्तै ठूलो सम्भावना बोकेको छ तर आजसम्म त्यसको १०‑१५ प्रतिशतभन्दा बढी सदुपयोग हुन सकेको छैन,’ उनी भन्छन्, ‘मेरो नेतृत्वको टिमले दीर्घकालीन गुरुयोजना बनाएर वन र सिमसार क्षेत्रको प्रवर्धन गर्नेछ ।’

यो क्षेत्रको भाग्य र भविष्य निर्धारण गर्ने जामुनवारी सामुदायिक वन हेर्दाहेर्दै ओरालो लाग्दै गएको उनको टिप्पणी छ । विगतका नेतृत्वले जति‑जे गरे, त्यसभन्दा माथि वर्तमान नेतृत्वले केही गर्नै नसकेको आरोप उनले लगाए । ‘हामी यो सामुदायिक वनलाई नेपालकै प्रतिष्ठित संस्थाको रुपमा पुनःस्थापित गर्ने उद्देश्यसहित नेतृत्व लिन अघि सरेका हौँ,’ रानाले भने, ‘हामी भिजन र मिसनसहित अघि बढ्छौँ र समूहका उपभोक्तालाई वन, वन पैदावर र वन सम्पदा कति अमूल्य निधि हुन् र यसले मानिसको जीवनस्तर उकास्न कसरी भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरेर देखाउँछौँ ।’

सामुदायिक वनमा अहिले केही काम भए पनि चित्त बुझाउने ठाउँ नभएको उनको तर्क छ । ‘कुनै पनि नेतृत्वसँग योजना छैन, तदारुकता छैन, खर्च गर्ने क्षमता छैन भने केही हुँदैन, यसले हामीलाई झन् पछाडि लैजान्छ,’ उनी भन्छन् । अध्यक्षका प्रत्यासी राना ‘आम उपभोक्ताको चाहना, समृद्ध र समुन्नत जामुनबारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसारको परिकल्पना’ नारासहित घरदैलोमा व्यस्त छन् ।

रानाका पाँच प्रतिबद्धता

१. अहिलेको कमजोर व्यवस्थापनलाई सुदृढ गर्दै संस्थालाई संस्थागत रुपमा सञ्चालन गर्ने । वर्षभरिका कामको क्यालेन्डर बनाउने, समितिका सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने र कर्मचारी व्यवस्थापनमा ध्यान दिने,

२. वन, वन पैदावर, वन्यजन्तुसहित प्राकृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट योजना बनाएर काम गर्ने,

३. वन तथा सिमसार क्षेत्र समुदायको विकासको आधार हो । सिमसार क्षेत्रको विकास र प्रवर्धनका लागि विज्ञहरूसमेतको सहभागितामा स्पष्ट र दीर्घकालीन गुरुयोजना बनाएर कार्यान्वयन गर्ने,

४. जामुनवारी सामुदायिक वन कनकाई नगरपालिका १ र २ का ८४१ घरधुरीको साझा संस्था हो र यसबाट प्राप्त हुने सेवा सुविधामा कुनै भेदभाव हुँदैन भन्ने प्रत्याभूति दिलाउने र

५. वन कार्ययोजनामा उल्लेख भएअनुसार गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, आत्मनिर्भरता र स्वरोजगारका लागि सीपमूलक तालिम तथा व्यावसायिक सबलीकरणका लागि आर्थिक सहयोगसम्मका योजना बनाएर कार्यान्वयन गर्ने ।

को बलियो ?

चुनाव नजिकिँदै जाँदा उपभोक्ता पनि दुई खेमामा विभक्त भएका छन् । कतिपयले ऊर्जाशील युवा नेतृत्व अबको आवश्यकता भन्दै रानालाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् भने कतिपय अबको एक कार्यकाल सिटौलालाई काम गर्न दिनुपर्ने बताउँदै आएका छन् । विकास निर्माणका गतिविधिलाई बाहिरै बसेर पनि नजिकबाट नियाल्ने र गलत कामको टिप्पणी र खबरदारी गरिरहने रानालाई सामुदायिक वनको जिम्मेवारी दिनुपर्नेमा अधिकांश सहमत देखिएको नाम नबताउने सर्तमा जुके कल्भर्टका एक उपभोक्ताले बताए । अध्यक्षका प्रत्यासी रानाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित समय २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु