fbpx
corona information

गृहपृष्ठ संखुवासभामा विप्लव समूहका कारण सुरक्षा चुनौती !

संखुवासभामा विप्लव समूहका कारण सुरक्षा चुनौती !

हतियार बरामद, गोली हानाहान र विष्फोटको घटना दोहोरिँदै

बरामद एसएलआर राइफल सार्वजनिक गर्दै तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी पवन गिरी (दायाँ) ।

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणस्थल भएका कारणले पनि संखुवासभा चर्चामा छ । विश्वकै पाँचौ अग्लो मकालु हिमाल, संसारकै होँचो अरुण उपत्यका, किमाथांका नाकाले पनि यस जिल्लाको परिचय दिन्छ । यसका साथै केही वर्षयता जिल्लामा हुने केही राजनीतिक घटना र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गतिविधिका कारण पनि संखुवासभा चासोको केन्द्रमा छ ।

विप्लव समूहले निर्माणाधीन अरुण तेस्रोको विभिन्न संरचनामा पटक-पटक आक्रमण गरिसकेको छ । २०७२ साल मंसिर २३ गते पुखुवास्थित पावरहाउस निर्माणस्थलमा आगजनी भयो । माघ २७ गते सोही स्थानमा बम विष्फोट भयो । २०७५ साल वैशाख १५ गते तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा विष्फोट भयो । माघ २४ गते पुखुवाको पावरहाउस निर्माणस्थलमा पुन: बम प्रहार भयो । उल्लेखित आगजनी र विष्फोटका घटनामध्ये केहीको विप्लव समूहले जिम्मेवारी नै लियो । २०७५ जेठ ७ मा विप्लव समूहले विज्ञप्ति निकालेर अरुण तेस्रोलाई ‘राष्ट्रघाती आयोजना’ भन्दै निर्माणकर्ता भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडलाई परियोजनाबाट हात झिक्न चेतावनी दिएको थियो ।

अरुण तेस्रोमा मात्र होइन । जिल्लामा सुरक्षाकर्मीसँगको भिडन्त र विष्फोटका अन्य घटनाहरुमा समेत विप्लव समूहको नाम जोडिने गरेको छ । गत बिहीबार पाँचखपन नगरपालिकाबाट सदरमुकाम खाँदबारी आउने सडकमा फेला परेको सिलिण्डर बमसमेत विप्लव समूहले नै राखेको प्रहरीको आशंका छ । मंसिर १ गते नियमित गस्तीका क्रममा चैनपुर नगरपालिका- ४, मैदाने पुगेको सुरक्षा फौजमाथि विप्लवका कार्यकर्ताहरुले आक्रमण नै गरे । गोली हानाहान भए पनि मानवीय क्षति भने भएन । त्यसअघि गत असार १६ गते शिलिचुङ गाउँपालिका- १ स्थित सिसुवाखोलाको हेयङ्ला भन्ने स्थानमा पनि प्रहरीको गस्ती टोलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । हेयङ्लामा २० मिनेटसम्म गोली हानाहान भएको थियो । विप्लव समूहको पूर्वी कमाण्डले ‘आफ्ना कार्यकर्तामाथि प्रहरीले हेलिकप्टरमार्फत घेरा हाली गोली चलाएको र तीन कार्यकर्ता बेपत्ता भएको’भन्दै विज्ञप्ति निकालेपछि प्रहरीमाथि आक्रमण गर्ने समूहको पहिचान भएको थियो । प्रहरीका अनुसार सिसुवाखोलामा गस्ती टोलीमाथि आधुनिक हतियार एसएलआर र एसएमजीद्वारा आक्रमण भएको थियो ।

सिसुवाखोला घटनाको तीन दिनपछि प्रहरी सोही क्षेत्रबाट राइफल, म्यागजिन र गोलीसहित विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसअघि पनि संखुवासभामा विभिन्न समयमा आधुनिक हतियारहरु बरामद भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनताका चुनावी अभियानका क्रममा साविक जलजला गाविस- ४, पोख्राङ पुगेका तत्कालीन एकीकृत नेकपा माओवादीका उम्मेदवार राजेन्द्रकुमार किरातीलाई लक्षित गरेर २०७० कात्तिक २३ गते गोली प्रहार भयो । तत्काल घटनास्थल पुगेको प्रहरीले सो स्थानबाट एकथान एसएलआर राइफल र ११ राउण्ड गोली बरामद गरेको थियो । त्यस समय वैद्य समूहबाट विप्लव समूह अलग भएको थिएन । आफूलक्षित गोली प्रहारमा वैद्य समूहको संलग्नता रहेको उम्मेदवार किरातीले आरोप लगाएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनताका चुनावी अभियानका क्रममा साविक जलजला गाविस- ४, पोख्राङ पुगेका तत्कालीन एकीकृत नेकपा माओवादीका उम्मेदवार राजेन्द्रकुमार किरातीलाई लक्षित गरेर २०७० कात्तिक २३ गते गोली प्रहार भयो । तत्काल घटनास्थल पुगेको प्रहरीले सो स्थानबाट एकथान एसएलआर राइफल र ११ राउण्ड गोली बरामद गरेको थियो ।

२०७० फागुनमा साविक स्याबुन गाविस- ५, ताक्मारेस्थित एक घरबाट प्रहरीले एकथान थ्रि नट थ्रि राइफल र सोको आठ राउण्ड गोलीसहितको म्यागजिन बरामद गर्‍यो । सुराकीको आधारमा बरामद सो राइफल सशस्त्र द्वन्द्वको समयमा समूहले बारा जिल्लाबाट लुटेको अनुसन्धानबाट खुलेको थियो ।

सशस्त्र द्वन्द्व समाप्त भइसके पनि यसरी पटक-पटक हातहतियार बरामद, गोली हानाहान र विष्फोटको घटनाहरु दोहोरिरहेकाले जिल्लामा विप्लव समूहका कारण सुरक्षा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । जबकि, छिमेकी जिल्लाहरूमा भने यस्ता घटनाहरू तुलनात्मक रूपले कमै मात्र भएका छन् ।

यस्ता घटनाहरुले सर्वसाधारणमा त्रास फैलिएको नेपाली कांग्रेसका जिल्ला सचिव डम्बर बस्नेत बताउँछन् । ‘दिनदहाडै बम, बारुद पड्किन थालेपछि गाउँघरमै हिँडडुल गर्नसमेत समस्या हुने अवस्था आएको छ,’ उनले भने, ‘संखुवासभाको यस्तो अवस्थाले राज्य छैन भन्ने आभाष दिन्छ । सरकार चलायमान र जनताको समस्याप्रति गम्भीर छैन भन्ने स्पष्ट हुन्छ ।’ जिल्लाको भौगोलिक अवस्थाका कारण पनि विद्रोही पक्षलाई सहज हुने भएकाले शान्ति सुरक्षा चुनौती बढी हुने उनको बुझाइ छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज मल्ल भने विप्लव समूहकै कारण शान्ति सुरक्षामा चुनौती थपिएको स्वीकार्दैनन् । भन्छन्, ‘गोली हानाहानका घटनाहरु अनपेक्षित हुन् । चुनौती होइन । उनीहरुले सुरक्षा निकायलाई अहिले नै चुनौती देलान् जस्तो मलाई लाग्दैन ।’ जिल्लामा विप्लव समूहको केही गतिविधि देखिए पनि त्यसलाई सुरक्षा निकायले चुनौतीका रुपमा नलिएको डीएसपी मल्लको भनाइ छ । ‘जिल्लाको शान्ति सुरक्षाको विषयमा बाँकी कुरा प्रमुख जिल्ला अधिकारीसँग बुझ्नुस्,’ न्युज कारोबारसँग कुरा गर्दै उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष हेमराज घिमिरेले भने विप्लव समूहकै कारण सर्वसाधारणमा त्रास फैलिएको आफूले महसुस नगरेको बताए । ‘केही घटनाहरुले विप्लव समूहको गतिविधि बढेको संकेत त गर्छ । तर जिल्लामा डर-त्रास नै बढेको वा मानिसहरु डराएको मैले पाएको छैन,’ उनले भने । विप्लव समूहको पुराना कार्यकर्ताहरु आत्मसमर्पण गर्दै अन्य पार्टीमा लागेका कारण पनि उनीहरुको संगठन तुलनात्मक रुपले कमजोर भइरहेको घिमिरेको बुझाइ छ ।

प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य पनि विप्लव समूहको गतिविधि बढेको भन्नेमा सहमत छैनन् । ‘सुरक्षाकर्मीको टोलीले उनीहरुको खोजी गर्दै जाँदा मुडभेठ भएको हो । त्यस समूहबाट जिल्लाको शान्ति सुरक्षामा त्यस्तो चुनौती छैन,’ मंसिर १ मा भएको चैनपुर घटनाको उदाहरण दिँदै उनले भने ।

सरकारको नीतिका कारणले पनि विप्लव समूह आक्रोशित भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्चका जिल्ला उपाध्यक्ष राजकुमार थक्लुङ बताउँछन् । ‘सरकार पेलेरै जाने नीतिमा छ । सरकार आफैँ आक्रामक छ । यसले पनि सरकार-विप्लव आमनेसामने भएका हुन् । जसका कारण संखुवासभामा र अन्य जिल्लामा पनि सुरक्षा चुनौती बढेको हो भन्ने हाम्रो बुझाइ छ,’ थक्लुङले भने । सरकार र विप्लव समूह दुवै पक्षले संयमता अपनाई वार्ताद्वारा समस्याको समाधान गर्न उनले सुझाव दिए ।

केही वर्ष अघिसम्म विप्लव समूहको जिल्ला सेक्रेटरी रहेका एक नेताले सशस्त्र द्वन्द्वकालदेखि नै संखुवासभामा माओवादीको संगठन बलियो रहेको बताए । उनका अनुसार माओवादीबाट छुट्टिएको वैद्य समूहको पनि जिल्लामा संगठन मजबुत थियो । त्यसपछि वैद्य समूहका अधिकांश कार्यकर्ता गएका कारण विप्लव समूह उत्तिकै बलियो रहेको उनको भनाइ छ । आफू सेक्रेटरी हुँदासम्म संगठित सदस्य, जिल्ला सदस्य र वर्गीय संगठनहरुका कारण संखुवासभामा विप्लव समूहको संगठन सन्तोषजनक रहेको उनले बताए । ‘अहिले त मलाई केही थाहा हुने कुरा भएन । त्यस बेला भने धनकुटा, तेह्रथुमको भन्दा यहाँको संगठन धेरै राम्रो थियो,’ उनले भने ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु