fbpx
corona information

गृहपृष्ठ रघुगंगा गाउँपालिकाका तीन वडामा सडक निर्माण सुरु

रघुगंगा गाउँपालिकाका तीन वडामा सडक निर्माण सुरु

फाइल तस्बिर ।

म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण सुरु भएको छ ।जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोड्न आयोजना सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए । ‘अजिंगर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड ५० लाख रूपैयाँ र गण्डकी प्रदेश सरकारले ५० लाख रूपैयाँ विनियोजन गरेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ ।’ जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ ।’

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको गौरवको आयोजना हो । मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए । गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए ।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ । दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए ।

‘अजिङ्गर भिरमा करिब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगङ्गा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिनेछन्,’ उनले भने, ‘भिरमा करिब १५० मिटर ट्र्याक खोलिसकिएको छ ।’ गत आर्थिक वर्ष प्रदेश सरकार र सङ्घीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु