fbpx
corona information

गृहपृष्ठ विदेशबाट फर्केका नेपालीको विवरण संकलन गर्दै सरकार

विदेशबाट फर्केका नेपालीको विवरण संकलन गर्दै सरकार

Yatra_NewsKarobar

सरकारले लकडाउन खुला गरिएको तीन महिनापछि बल्ल विदेशबाट फर्किएका नेपालीबारेको तथ्यांक र अन्य विवरण संकलन थालेको छ । देशैभरिका स्थानीय तहहरूमार्फत सरकारले विदेशबाट फर्किएका नेपालीको तथ्यांक संकलन गर्न थालेको हो ।

मन्त्रिपरिषदले गत कात्तिक २७ गते रोजगारीको सम्भाव्यता अध्ययनका लागि भन्दै यस्ता नेपालीको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

कोभिड-१९ महामारीका कारण गत फागुन-चैतपछि नेपालसहित विश्वका अधिकांस देशहरूले यात्रा प्रतिबन्धदेखि आन्तरिक रूपमा लकडाउनलगायतका नीति अवलम्बन गरेपछि भारतदेखि विभिन्न श्रम गन्तव्य मुलुकहरूबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किए पनि त्यसको वास्तविक विवरण कतै छैन ।

अध्यागमन विभागको विवरणअनुसार २०७६ चैत १४ देखि असोज ३० गतेसम्म ३२ भन्दा अधिक देशबाट १ लाख १२ हजार ३८५ जना नेपाली स्वदेश फर्केका छन् । यसमा भारतबाट फर्केका नेपालीको संख्या जोडिएको छैन ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने यसअवधिमा  १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएको जनाएको छ ।

फागुनयतामात्रै भारतबाट करिब ६ लाख नेपाली स्वदेश फर्किएको गृहमन्त्रालयको अनुमान छ । भारतबाट नेपाल फर्केकामध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशबाट दसैंअगाडिदेखि नै फेरि रोजगारीका खोजीमा ठूलो संख्यामा भारत पस्न थालेका थिए ।

कोभिड-१९ कै कारणले स्वदेश फर्केका नेपालीबारे वास्तविक विवरण उपलब्ध नभएपछि सरकारले स्थानीय तहमार्फत तिनको विवरण संकलन गर्न लागेको हो ।

सरकारले कोभिड-१९ कारण भारतलगायतका मुलुकबाट रोजगारी गुमाएक र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगारसहित १८ देखि ५९ वर्षका बेरोजगार नेपालीको पनि तथ्यांक संकलन गर्न लागेको छ ।

सरकारले स्वदेश फर्केका व्यक्ति विदेशमा संलग्न भएको सीप वा तालिमदेखि कुन कारणले फर्केको भन्नेसम्मका विवरण संकलन गर्न लागेको छ ।यस्तै, १५ देखि १९ वर्षक बेरोजगारहरूको शैक्षिक योग्यतादेखि भएका सीप, दक्षता, तालिम र अपांगतासमेतको विवरण संकलन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

यद्यपि, चाडवाडका बेला पारेर १५ दिनभित्र विवरण संकलन गरेर पठाउनु भनिएकोले स्थानीय तहको सीमित जनशक्तिका कारण तोकिएको समयमा खोजेजस्तो तथ्यांक संकलन हुनसक्ने सम्भावना भने कमै देखिएको छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु