fbpx
corona information

गृहपृष्ठ प्रधानमन्त्री ओलीको संखुवासभा भ्रमण : किमाथांका, च्याम्ताङ र फ्याक्सिन्दामा कार्यक्रम

प्रधानमन्त्री ओलीको संखुवासभा भ्रमण : किमाथांका, च्याम्ताङ र फ्याक्सिन्दामा कार्यक्रम

किमाथांकामा प्रधानमन्त्री ओली । (तस्बिर सौजन्य : फिञ्जो भोटे)

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित किमाथांका नाका पुगेका छन् । प्रधानमन्त्री ओली केही बेरअघि हेलिकप्टरमार्फत भोटखोला गाउँपालिका- १ स्थित किमाथांका नाका पुगेका हुन् । संखुवासभामा रहँदा प्रधानमन्त्री विभिन्न तीन स्थानमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

उनले किमाथांकामा रहँदा सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण र अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने तथा किमाथांका भएर हुनसक्ने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे पनि जानकारी लिने बताइएको छ । यसका साथै प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को किमाथांकामा निर्माणाधीन भवनको समेत अवलोकन गर्नेछन् ।

किमाथांकाको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली भोटखोला- २, च्याम्ताङमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भोटखोला- २ का अध्यक्ष छिरिङ छेदर भोटेका अनुसार च्याम्ताङमा पनि प्रधानमन्त्रीको स्वागतमा कार्यक्रम आयोजना गरिएको छ । च्याम्ताङमा प्रधानमन्त्री ओलीले निर्माणाधीन उत्तर-दक्षिण (कोशी) सडकको अनुगमन गर्नेछन् ।

प्रधानमन्त्री ओली अरूण तेस्रो जलविद्युत आयोजनाको बाँधस्थल फ्याक्सिन्दाको कार्यक्रममा पनि सहभागी हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । उनले त्यहाँ अरूण तेस्रो आयोजनालगायत त्यस क्षेत्रका विकास निर्माणका बारे पनि  जानकारी लिनेछन् । कार्यालयका अनुसार फ्याक्सिन्दाको कार्यक्रमपछि प्रधानमन्त्री ओली सिधै काठमाडौं फर्कनेछन् ।

किमाथांकामा स्थानीय विद्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइँदै । (तस्बिर साैजन्य : फिञ्जो भोटे)

प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत पनि सहभागी छन् । त्यसैगरी, संखुवासभाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि टोलीमा छन् ।

२०७२ सालको भारतीय नाकाबन्दीताका नेपालले किमाथांका सहितका चीनसँगको नाका खुलाउने निर्णय गरेको थियो । त्यसयता चर्चामा रहेको किमाथांकामा बहालवाला प्रधानमन्त्रीको भ्रमणपछि बाँकी कामले तीव्रता पाउने अपेक्षासहित स्थानीय स्तरमा उत्साह थपिएको छ ।

प्रकाशित समय १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु