fbpx
corona information

गृहपृष्ठ कोरानाबाट मृत्यु भएकी महिलाको शव गाडेको कब्रिस्तान सिल

कोरानाबाट मृत्यु भएकी महिलाको शव गाडेको कब्रिस्तान सिल

धनगढी १४ कार्तिक कोरोनाभाइरसको संक्रमणको कारण मृत्यु भएकी महिलाको शव गाडिएको कब्रिस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका १ मा रहेको कब्रिस्तान सिल गरिएको हो । बिहीबार बिहान नेपाली सेनाले कोरोनाका कारण मृत्यु भएकी मुस्लिम महिलाको शव कब्रिस्तानमै व्यवस्थापन गरेको थियो । त्यसपछि स्थानीय आन्दोलनरत थिए ।

धनगढी उपमहानगरपालिका २ की कोरोना संक्रमित मुस्लिम महिलाको उपचारका क्रममा मृत्यु भएपछि धनगढी १ को कब्रिस्तानमा शव व्यवस्थापन गरिएको थियो । बस्तीबीचमै रहेको कब्रिस्तानमा शव व्यवस्थापन गरिएको भन्दै बिहीबारबाटै आन्दोलनरत स्थानीयहरुले कब्रिस्तान सिल गरिएपछि आन्दोलन स्थगित गरेका छन् । शुक्रबार वडा नम्बर १ ले स्थानीयको मागलाई सम्बोधन गर्दै कब्रिस्तान अर्को व्यवस्था नहोउन्जेलसम्मका लागि सिल गरिएको सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूबीच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागि कब्रिस्तान सिल गरिएको वडा अध्यक्ष सन्तोस मुडभरीले बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत बस्तीबीचमै शव व्यवस्थापन गरेको स्थानीयको आरोप थियो । अब सो स्थानमा शव व्यवस्थापन गर्न नदिने उनीहरुको अडान छ । प्रशासनकै गलत निर्णयका कारण सिल गर्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै स्थानीय अमृत बिसीले अब कब्रिस्तान नखोल्ने अडान लिए ।

मानव बस्तीसँगै रहेको कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्थानको गेटमा ताला लगाएका थिए । बस्तीबीचमा बनाइएको कब्रिस्तानलाई अन्यत्रै सार्नुपर्ने स्थानीय हरी बिसीले माग गरेका छन् ।

कब्रिस्तानमा तालाबन्दीसँगै सिल गरिएपछि मृत्यु भएका एक मुस्लिम समुुदायको व्यक्तिको अन्तिम संस्कारमा समस्या भएको छ । आज बिहान मृगौला फेल भएर मृत्यु भएकी धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शव व्यवस्थापनमा समस्या भएको परिवारजनले दुखेसो पोखेका छन् । उनीहरुले कब्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु