fbpx
corona information

गृहपृष्ठ भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरभाने नेपालको तीन दिने भ्रमणका लागि कात्तिक १९ गते आउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरभानेलाई नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एक‑अर्को देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरभानेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरभानेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।

कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरभानेले अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले बताए । भ्रमणका क्रममा उनले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै जंगी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरभानेको भ्रमण दल चार सदस्यीय हुनेछ ।

नरभानेले तिनै हुन्, जसले नेपालले भारतबाट मिचिएको भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि विवादित अभिव्यक्ति दिएका  थिए । चीनलाई संकेत गर्दै उनले कसैले उचालेर नेपालले लिपुलेकबारे विवाद गरिरहेको टिप्पणी गरेका थिए ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु